• १२ असार २०८१, बुधबार

हिलाम्मे सडकले यात्रुलाई सास्ती

blog

सडक सुधार नहुँदा यात्रुलाई सास्ती । तस्बिर – प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा

सल्यान, भदौ १२ गते । दार्मा गाउँपालिका-२ का हेमन्त शर्मा सल्यान खलंगा आउन पैदल चार घण्टा हिँडेर थारमारे आउनुभयो । पश्चिम रुकुम चौरजहारी दार्मा हुँदै राप्ती राजमार्गको थारमारे आउने सडक वर्षा सुरु भएपछि अवरुद्ध भएको छ । दार्मा-६ का इन्द्रबहादुर केसीले सडक अवरुद्ध हुँदा सास्ती भएको बताउनुभएको छ । 

दार्मा गाउँपालिका मुकाम फारुलाचौर मौलोहाले सडकको स्तरवृद्धिको लागि एक करोड रुपियाँ बजेट विनियोजन भए पनि ठेकेदारको लापर्वाहीले काम हुन सकेको छैन । दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले पालिकासम्म बाहै्रमास यातायात सञ्चालन गर्न प्रयास गरे पनि योजना पार्न सफल भए पनि ठेकेदारको लापर्वाहीले सडकमा सुधार नभएको बताउनुभयो ।

थारमारे– बडागाउँ–रागेचौर–चौरजहारी सडकखण्ड अन्तर्गत बडागाउँदेखि रागेचौरसम्मको करिब १० किलोमिटर सडक मर्मत नहुँदा स्थानीयलाई सास्ती भइरहेको छ । 

सडकको मर्मत नहुँदा विशेषगरी गर्भवती एवं बिरामीहरूलाई अस्पतालसम्म लैजान समस्या हुने गरेको स्थानीय बताउँछन् । बडागाउँदेखि रागेचौरसम्मको सडक बिग्रँदा विशेषगरी कुमाख गाउँपालिकाका स्थानीय बढी मात्रामा प्रभावित बनेका छन् । 

स्थानीय सञ्जीब लामिछानेले सडकको दुरावस्थाकै कारण बिरामीलाई अस्पताल लैजान वा गर्भवती महिलालाई सुत्केरी गराउन अस्पतालसम्म लैजान पनि स्ट्रेचरमै बोक्नु परेको बताउनुभयो । 

उहाँका अनुसार कुमाख गाउँपालिकाबाट चौरजहारीस्थित मिसन अस्पताल नजिक पर्ने भए पनि माथिल्लो भेगका अधिकांश जिल्ला अस्पताल सल्यान जानुपर्छ । 

यसरी जिल्ला अस्पताल जानका लागि बडागाउँदेखि रागेचौरसम्मको उक्त सडक हुँदै आउजाउ गर्नुपर्ने हुन्छ ।

कुमाख गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकीले हिलाम्मे भएको सडक क्षेत्रमा नियमित गाडी सञ्चालनका लागि अबको केही दिनभित्र मर्मत कार्य गर्ने र खाल्डाखुल्डी पुर्ने बताउनुभयो । 

पूर्वाधार विकास कार्यालय सल्यानले जिल्लाका १० वटै पालिकामुकाम जोड्ने सडकको सुधार गरी बाह्रैमास सडक सञ्चालन गर्न काम सुरु गरेको जनाएको छ । कार्यालयका प्रमुख विनोद पुनले जिल्लाका विभिन्न पाँच वटा सडकको स्तरवृद्धि गर्ने काम भइरहेको वताउनुभयो ।