• २० वैशाख २०८१, बिहिबार

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन

बाघ हेर्न तथा जंगल सफारीमा बाँके राष्ट्रिय निकुञ्ज चर्चित

blog

बाँके निकुञ्जमा हात्ती सफारी गर्दै पर्यटक । तस्बिर – सिराज खान । नेपालगञ्ज

नेपालगञ्ज, भदौ १२ गते । बाघ अवलोकन तथा जंगल सफारीका लागि चर्चित बन्दै गएको देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जले आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गरेको छ । 

पर्यटक आकर्षित गर्ने उदेश्यका साथ निकुञ्जमा पर्यटनको सम्भावनालाई चिनाउन प्रचारप्रसार र प्रकृतिमा आधारित पर्यापर्यटन प्रवद्र्धनमा जोड दिन अभियान थालिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताउनुभयो । 

उहाँले नेपालको कान्छो निकुञ्जको रुपमा चिनिने बाँके राष्ट्रिय निकुञ्जले छोटो अवधिमै संरक्षणमा फड्को मार्दै पर्यटन प्रवर्धनका लागि अगाडि बढेको बताउनुभयो । 

वन्यजन्तु र मानवबीच हुने द्वन्द्वलाई निकुञ्जका साथै सुरक्षाकर्मी, संरक्षणकर्मी र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले सहकार्यबाट न्यूनीकरण गर्दै आएका छन् ।

निकुञ्जमा पूर्वाधार तयार गरिएपछि पर्यटनका लागि आकर्षणको केन्द्र बन्न थालेको छ । बाघ संरक्षणको मुख्य उद्देश्य रहेको बाँके निकुञ्जमा बाघको संख्या बर्सेनि बढ्दै गएको छ । 

सरोकारवाला निकायबीचको समन्वय र सहकार्यबाट बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक आकर्षित गर्न पर्यटन विकास गर्न लागिएको निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिकी संस्थापक अध्यक्ष सावित्रा पुनले बताउनुभयो । 

बाँके निकुञ्ज नेपालका एक सय गन्तव्यमा ५७औँ स्थानमा पर्दछ । विसं २०६७ मा बाघ संरक्षणका लागि स्थापना गरिएको सो निकुञ्जमा २०१३ मा गणना गर्दा चार बाघ थिए भने २०२२ को गणनामा त्यो संख्या बढेर २५ पुगेको निकुञ्जले जनाएको छ ।

जैविक विविधताको संरक्षण, बाघ र बाघको आहारा प्रजातिको संरक्षण, मध्यवर्ती क्षेत्रका प्राकृतिक स्रोतको नियमन र व्यवस्थापन तथा पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यअनुरुप काम भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले जानकारी दिनुभयो ।

करिब ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके निकुञ्जमा स्तनधारी र चरा प्रजाति पाइन्छ । मुख्यतः बाघको बासस्थानका लागि उपयुक्त मानिएको निकुञ्जमा चौका प्रजाति पनि एक विशेषताका रुपमा देखिएको निकुञ्जले जनाएको छ । 

निकुञ्जको मध्यवर्ती क्षेत्रमा जिप, हात्ती सफारी, जङ्गल भ्रमण, बाघ र चरा अवलोकन, क्याम्पिङ, हाइकिङ, होमस्टे, ¥याफ्टिङलगायतका प्याकेजले पर्यटक आकर्षित गर्ने कार्य गरिरहेको छ । 


Author
सिराज खान

उहाँ नेपालगञ्जबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।