• १३ साउन २०८१, आइतबार

नेपालगञ्ज उपमहानगरमा पनि सडकपेटी खाली गराउन शुरु

blog

ट्राफिक प्रहरीको सहयोगमा सडकपेटी खाली गराउने अभियान शुरु । तस्विर – सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, भदौ १२ गते । काठमाण्डौ महानगरपालिकाले अवैध संरचना भत्काउन थाले लगत्तै नेपालगञ्ज उपमहानगरपालिकाले कार्बाही थालेको छ । 

नगरका विभिन्न ठाउँमा सडक तथा सडकपेटी अतिक्रमण गरेर व्यवसाय गर्ने तथा अन्य विभिन्न तरिकाले गरिएका अतिक्रमण उपमहानगरपालिकाले ट्राफिक प्रहरीको सहयोगमा खाली गराउन शुरु गरेको हाे । 

सहरका सबै सडकपेटी खाली गराउने अभियान शुरु गरिएको जनाउँदै नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्टले सबै फुटपाथ खाली गराइने बताउनुभयो । 

उहाँले फुटपाथ अतिक्रमण गरेर व्यापार व्यवसाय गर्ने, सडकमै साइकल र ठेलामा सामान बेच्ने, सडक र सडकपेटीमा जथाभावी पार्किंग गर्ने कामलाई पूर्ण रुपमा बन्द गराइने बताउनुभयो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहको कमाण्डमा उपमहानगरको प्रहरी प्रमुख सूर्यबहादुर बोगटीको टोलीले पहिलो दिन बीपी चोकदेखि तरकारी मण्डीसम्मको फुटपाथ खाली गराएको छ । 

उपमहानगरपालिका अगाडिको क्षेत्र, विपी चोक, इदगाहरोड, त्रिभुवनचोक, त्रिभुवनचोक उत्तर तर्फको सदरलाइन, त्रिभुवन चोकको पूर्व लाइन हुँदै तरकारी मण्डीसम्मको सडकपेटी खाली गराइएको बाँकेका ट्राफिक प्रहरी प्रमुख शाहले बताउनुभयो । 

उहाँले सो क्रममा बाटोमा जथाभावी पार्किंग गरिएका केही मोटरसाइकल र रिक्सा समेत नियन्त्रणमा लिइएको बताउनुभयो । 

फुटपाथ खाली गर्न माइकिङ गरेर सबैलाई जानकारी गराइरहको जनाउँदै नेपालगञ्जका मेयर विष्टले अटेरी गरेमा सामान कब्जा गरिने र थप कारवाही समेत गरिने बताउनुभयो । 

सडकपेटी अतिक्रमण बन्द गर्ने नीतिलाई प्रभावकारी बनाउने रणनीतिका साथ उपमहानगरपालिका अगाडि बढेको मेयर विष्टको भनाइ छ । सो विषयमा नेपालगञ्ज उद्योग बाणिज्य सङ्घसँग आइतबार बैठक गरेर सबै व्यवसायी एवम् व्यापारीहरुलाई जानकारी गराउन र तत्काल फुटपाथ खाली गर्न आग्रह गरिएको उपमहानगरपालिकाले जनाएको छ । 

उता, ट्राफिक प्रहरीले नेपालगञ्जको ट्राफिक व्यवस्थापनका लागि पनि सडकपेटी खाली गराउनु अपरिहार्य भएको जनाउँदै यो कार्यलाई तीव्रताका साथ अगाडि बढाउँदै झनै सशक्त रुपमा लैजाने जनाएको छ ।