• १३ साउन २०८१, आइतबार

तामाङलाई विश्वकै उच्चस्थानमा आयोजित गल्फ उपाधि

blog

विश्वकै अग्लो स्थानमा आयोजित प्रथम गल्फ प्रतियोगिताको उपाधि विजेता खेलाडी । तस्बिर : गोरखापत्र

अमृतप्रसाद पौडेल

म्याग्दी, भदौ ११ गते । विश्वकै अग्लो स्थानमा आयोजित प्रथम गल्फ प्रतियोगिताको उपाधि श्याम तामाङले जित्नुभएको छ । हिमालपारीको जिल्ला मुस्ताङको लोमन्थाङ गाउँपालिकाको लो–थाङ स्थित विश्वकै अग्लो स्थानमा रहेको गल्फ कोर्समा शनिबार भएको पहिलो प्रतियोगितामा तामाङले २२ अङ्क जोड्दै पहिलो हुनुभएको हो । 

‘द ग्लेनलिवेट टप अफ द वर्ल्ड गल्फ क्लासिक’ नाम दिइएको चार हजार ६४५ मिटरको उचाइमा आयोजना भएको गल्फ प्रतियोगितामा २० अङ्कसहित बलराम थापा दोस्रो हुनुभयो । 

३६ जना गल्फरको सहभागिता रहेको प्रतियोगितामा १४ अङ्कसहित रवैन्दर सैनीले वेस्ट ग्रोस र १४ अङ्क बनाउन सफल शुस्मा सिंह महिलातर्फ च्याम्पियन बन्नुभयो । प्रतियोगिताको ८१ वर्षीया खेलाडी डा.रिता थापाले उद्घाटन गर्नुभएको थियो । विश्वकै अग्लो स्थानमा भएको यस प्रतियोगिताको समाचार सङ्कलनका लागि अमेरिकाबाट प्रकाशन हुने गल्फ डाइजेष्ट म्यागजिनका सम्पादक ओलिभर पनि सहभागी हुनुहुन्थ्यो । 

यस प्रतियोगितालाई विश्वकै उच्च स्थानमा भएको खेलका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा राख्न प्रस्ताव गरिने आयोजकले जनाएको छ । हाल ३ हजार ९७० मिटर उचाइमा रहेको पूर्वी सिक्मिमको कुपपमा रहेको याक गल्फ कोर्सलाई सबैभन्दा उचाइमा रहेको गल्फ कोर्सको रुपमा लिइन्छ ।