• १७ जेठ २०८१, बिहिबार

थारू अटवारी पर्व आइतबार मनाइँदै

blog

दिवाकर पोख्रेल

देउखुरी, भदौ ११ गते । थारू समुदायको व्रत बस्ने अटवारी पर्व तराईका थारू बहुल जिल्लामा आइतबार मनाइँदैछ । विशेषगरी थारू पुरुषले ब्रत बस्ने यस पर्व तराईको पश्चिम कञ्चनपुरदेखि पूर्व झापासम्म मनाइने गरिन्छ । यद्यपि पूर्वका थारूले ‘रैव’ भनेर यसलाई मनाउँछन् ।

थारू समुदायको बाहुल्यता रहेको स्थान र विशेषगरी दाङ, बाँके, बद्धिया, कैलाली, कञ्चनपुर, सुर्खेत जिल्लामा बर्का अटवारी मनाइन्छ । थारु आयोगले थारु समुदायको यस वर्षको अटवारी पर्व भदौ १२ गते  आइतबार परेको विज्ञप्ति मार्फत जानकारी गराएको छ । अटवारी पर्वकालागि आज शनिबार राती दर खाने गरिन्छ । कुखुराको भाले बास्नुअघि दर खाइसक्नुपर्ने थारू अगुवाहरु बताउँछन् ।   

थारू आयोगले जारी गरेको विज्ञप्तिपछि सरकारी निकाय र थारु सम्बद्ध संघ संस्थाले पनि १२ गते आइतबार नै अटवारी भएको भन्दै स्थानीय विदा समेत दिएका छन् । थारू संस्कृतिका जानकार तथा थारु कल्याणकारिणी सभा क्षेत्र १ देउखुरीका सचिव वालगोविन्द चौधरीले थारु आयोग र अन्य जिल्लामा देखिएको एकरुपताका कारण दवावमा १२ गतलाई अटवारी मानिए पनि १९ गतेको आइतबारलाई पनि सानो पर्वको रुपमा मनाइने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हाम्रो देउखुरीमा फरक हिसाबले तिजपछिको पहिलो आइतबार भनेर मान्दैआएका हौं, अटवारी पर्वको मिति एकरुपता विषयमा थारू समुदायमा अन्यौल देखिन्छ, एकरुपतामा ध्यान दिनुपर्छ ।’ यस विषयमा थारु संस्कृतिका बारेमा खोज अनुसन्धान गरिहनुभएका उदयराज आलेले पर्वहरु ठाउँ विशेषअनुसार फरक दिन र हिसावले मनाउने गरिएको बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ ‘अन्य स्थानमा आइतबार मात्रै अर्थात तीजपछीकै पहिलो आइतबार मनाउने गरेको पाइन्छ, अटवारी पर्वमा एकरुपता ल्याउने प्रयास भने थारु समुदाय र सम्बद्ध संस्थामा क्रियाशीलता देखिन्छ, जुन राम्रो पक्ष हो ।’  

थारु संस्कृतिबारेमा अध्ययन गरेका थारु साहित्यकार छविलाल कोपिलाले तिजपछिको पहिलो आइतबार अट्वारी हो भन्ने दावा गलत भएको बताउनुभयो । उहाँका अनुसार भदौ महिनाको पहिलो आइतबारदेखि दशैंसम्म, भदौ महिनाको पहिलो आइतबारदेखि औंसीको पहिलो आइतबारसम्म, कुशे औंसीको पहिलो आइतबारदेखि दशैंसम्मको ५ आइतबार र कुशे औंसीको पहिलो आइतबार मात्र व्रत बस्ने यी चार थरिका व्रतालुको साझा दिन कुशे औंसीको पहिलो आइतबारको अटवारी भएकोले यसलाई ‘बर्का अटवारी’ भनिएको हो ।  

अर्का थारू अगुवाका अनुसार कृष्णजन्माष्टमी पछिको दोस्रो आइतबार नै अटवारी मनाइन्छ । आइतबार पर्ने पर्व भएकाले यस पर्वको नाम अटवारी रहन गएको थारू बुद्धिजिवीहरुको भनाइ छ ।