• १२ साउन २०८१, शनिबार

आगामी निर्वाचनमा बहुमत ल्याउने सङ्कल्पसाथ लाग्छौं : नेता भट्टराई

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १० गते । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने सङ्कल्पका साथ एमाले अघि बढ्ने बताउनुभएको छ । सचिव भट्टराईले चालू केन्द्रीय कमिटी बैठकले सो निर्वाचनमा बहुमत ल्याउने सङ्कल्पसहितको सन्देश दिने दाबी गर्नुभयो । 

पार्टी केन्द्रीय कमिटी बैठक अघि पत्रकारसँग संक्षिप्त कुरा गर्नुहुँदै भट्टराईले सो दाबी गर्नुभयो । मुलुकको आन्तरिक तथा बाह्य दुवै कारणले एमाले नेतृत्वको सरकारको खोजी भइरहेको भन्दै सोही आवश्यक्ता पूरा हुनेगरी आफ्नो पार्टीले केन्द्रीय कमिटीमार्फत चुनावी रणनीति तय गर्ने उहाँले स्पष्ट पार्नुभयो । 

सत्तारुढ गठबन्धन सरकारका कारण मुलुक सङ्कटमा परेको आरोप लगाउँदै सचिव भट्टराईले त्यसबाट मुलुकलाई पार लगाउन आगामी निर्वाचनपछि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज गठबन्धनका कारणले मुलुक सङ्कटमा छ । हाम्रो बैदेशिक सम्बन्धहरु बिग्रेका छन् । अमेरिकासँग, भारतसँग, चीनसँग हाम्रो सम्बन्ध बिग्रेको छ ।” 

नेपालको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका निम्ति एउटा बलियो राष्ट्रिय सामर्थ्य भएको शक्ति आवश्यक रहेको उहाँले बताउनुभयो । देशको आवश्यकताले एमालेको नेतृत्व खोजिरहेको उहाँको भनाइ छ । बहुमत ल्याउने सङ्कल्पका साथ एमालेले काम गरिरहेको नेता भट्टराईले बताउनुभयो । केन्द्रीय कमिटी बैठकले त्यो सन्देश दिने उहाँको दाबी छ ।

सचिव भट्टराईले आगामी निर्वाचनमा अन्तर्घात नहुने गरी पार्टीको सिंगो पङ्क्तिलाई परिचालन गर्न पनि केन्द्रीय कमिटी बैठकले आवश्यक निर्देशन दिने बताउनुभयो । पार्टीको उम्मेदवार चयनमा स्थानीय तह निर्वाचनमा भएका कमीकमजोरीलाई पनि आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा दोहोरिन नदिने उहाँको भनाइ छ । संवैधानिक व्यवस्थाअनुसार चुनावमा दलहरुबीच प्रतिस्पर्धा हुने भएकाले आफ्नो दल आफ्नै सामर्थ्यमा उभिएर निर्वाचनमा जाने उहाँले बताउनुभयो । 

सचिव भट्टराईले स्थानीय तह निर्वाचनमा भएको नकारात्मक सन्देशहरुबाट सिकेर आगामी निर्वाचनमा आफ्नो पार्टीले सम्पूर्ण शक्ति परिचालन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमालेको मुख्य प्राथमिकता गठबन्धन होइन । चुनावी तालमेल पनि होइन । आफ्नो तागतमा आफ्नो सामर्थ्यमा जनताको बीचमा जान्छ ।’

गत निर्वाचनमा पार्टीभित्र कहीँकहीँ उम्मेदवार छनौट नमिलेको, पारदर्शिता नभएको, पार्टीभित्र अन्तर्घात भएको, मतहरु अदलबदल गरेको घटनाहरु भए पनि अबको निर्वाचनमा पार्टी सचेत भएर लाग्ने उहाँको भनाइ छ । सचिव भट्टराईले आगामी निर्वाचनमा आफ्नो पार्टीले इमान्दार र जित्न सक्ने नेताहरुलाई उम्मेदवार बनाउने मापदण्ड तय गरेको पनि उहाँको भनाइ छ ।