• २० वैशाख २०८१, बिहिबार

जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन अध्यक्ष ओलीको निर्देशन

blog

काठमाडौं, भदौ १० गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिनुभएको छ ।

शुक्रबार ललितपुरको च्यासलमा अवस्थित पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले निर्वाचनमा जनमत एमालको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिनुभएको हो ।

अध्यक्ष ओलीले जनता अलमलमा पर्नसक्ने भन्दै उनीहरुलाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी पार्टीका नेता, कार्यकर्ताको काँधमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘जनतालाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी हाम्रो काँधमा छ । जनमत एमालेको पक्षमा, देशको पक्षमा, लोकतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने, त्यस जनमतको त्यसैगरी रक्षा गर्ने, त्यस जनमतलाई कसैले गलत ढङ्गले दुष्प्रभावित गर्लान त्यसका निम्ति ध्यान दिने । त्यसका निम्ति विभिन्न प्रकारका तरिका र उपायहरु अवलम्बन गर्ने । त्यतातर्फ हामीले ध्यान दिनु जरुरी छ ।’’

उहाँले जनमत एमालेको पक्षमा पार्ने र सो जनमतको रक्षा गर्नका लागि आवश्यक तरिका र उपायहरु अवलम्बन गर्न निर्देशन दिनुभयो ।

अध्यक्ष ओलीले निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउनका लागि प्रभावकारी भूमिका खेल्न पनि आग्रह गर्नुभयो । निष्पक्ष निर्वाचन गराउनका लागि सरकारलाई दबाब दिनुपर्ने र सम्बन्धित निकायलाई बेठिक काम गर्न रोक्नुपर्ने पनि उहाँले बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘‘यस निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा, भयरहित परिस्थितिमा, भयरहित वातावरणमा हामीले सम्पन्न गर्नुपर्नेछ । यस निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउन हामीले प्रभावकारी भूमिका खेल्नुपर्दछ । यसका निम्ति हाम्रो सरकारसँग वार्ता, कुराकानी र दवाव र त्यसै गरेर राज्यका निर्वाचनसँग सम्बन्धित विभिन्न अङ्ग र निकायहरुसँग हामीले संवाद पनि गर्नुपर्दछ । बेठीक कुरा गर्नबाट उनीहरुलाई रोक्नु पनि पर्दछ ।’’

केन्द्रिय कमिटी बैठकमा नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरुले शपथग्रहण गरेका छन् । बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने, सचिवालयका निर्णय अनुमोदन गर्ने, उम्मेदवारको छनोटको मापदण्ड तय गर्ने कार्यसूची छन् ।

त्यस्तै, स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदन, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र पार्टीका आयोगहरुका प्रतिवेदन पेस गर्नेलगायतका कार्यसूची रहेको एमालेले जनाएको छ ।