• १५ चैत २०८०, बिहिबार

ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम सम्पन्न

blog

काठमाडौं, भदौ ९ गते । ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम बिहीबार सकिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस बागबजार र कान्तिपुर डेण्डल कलेज तथा हस्पिटल धापासीको संयुक्त आयोजनामा साउन २२ गतेदेखि शुरु भएको ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम आज सकिएको हो ।

कार्यक्रममा नगरप्रमुख वालेन्द्र साहले ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरी एक्लैले नसक्ने र यसमा सरोकारवाला सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । प्रमुख साहले ट्राफिक स्वयंसेवक भएर काम गर्ने सबैलाई धन्यवाद दिनुभयो । 

ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रमअन्तर्गत पद्मकन्या बहुमुखी क्याम्पसमा अध्ययनरत एक सय बढी विद्यार्थीहरुले ट्राफिक स्वयंसेवक भई साउन २२ गतेदेखि भदौ ८ गतेसम्म ट्राफिक प्रहरीसँग सडकमा खटेर काम गरेका थिए ।

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख मीरा चौधरीले सबै नागरिक बिना बर्दीका प्रहरी रहेकाले अगामी दिनमा पनि क्याम्पसको सामाजिक एवम् कार्य विभागको साथ र सहयोगको अपेक्षा रहेको बताउनुभयो । यसैगरी, क्याम्पसका सामाजिक एवम् कार्य विभाग प्रमुख सुप्रिता राईले सबैमा आभार व्यक्त गर्नुभएको थियो ।

ट्राफिक स्वयंसेवक भई खटिएका विद्यार्थीहरुले सडकमा नो–हर्न अभियानअन्तर्गत सार्वजनिक तथा निजी सवारी साधनमा स्टिकर टाँस्ने, पैदल यात्रीलाई जेब्राक्रसिङ तथा आकाशे पुल प्रयोग गराउने, चालकलाई ट्राफिक लाइटको पालना गर्न आग्रह गर्नेलगायतका काम गरेका थिए ।

कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख चौधरी, महानगर प्रमुख साह, पद्मकन्या क्याम्पसका प्राध्यापक, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, पत्रकार तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।