• १४ वैशाख २०८१, शुक्रबार

सरकारले चाहेमा चाँडै निजामती सेवा ऐन बन्नसक्छ : अध्यक्ष तिमल्सिना

blog

विराटनगर, भदौ ८ गते। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले चाहेमा चाँडै निजामती सेवा ऐन बन्ने बताउनुभएको छ।  बुधबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो। 

उहाँले निजामती सेवा ऐन चाँडै बनाउनुपर्ने कुरा अधिकांश प्रदेशमा धेरै नै उठिरहेको भन्दै सरकारले अहिले नै निजामती सेवा ऐन विधेयक राष्ट्रिय सभामा ल्याए नयाँ निर्वाचित प्रतिनिधि सभाको हिउँदे अधिवेशनबाट पास भएर ऐन बन्नसक्ने बताउनुभयो। 

उहाँले सरकारले अहिले विधेयक पेस नगरेको खण्डमा भने अहिलेसम्मको मिहेनत शुन्यमा परिणत हुने बताउनु भयो। उहाँले कतिपय विधेय मन्त्रालयपिच्छे परिमार्जित हुँदै जाँदा कुरुप बनिरहेको बताउनु भयो। 

अध्यक्ष तिमिल्सिनाले मुल मर्म एकातिर बनाइ भएको विधेयकलाई झनै बंग्याएर पठाउने समस्या नेपालमा विद्यमान रहेको पनि बताउनुभयो। उहाँले निजामती सेवा ऐनका लागि विधेयक यही राष्ट्रिय सभा रहँदा ल्याउनुपर्ने कुरा प्रधानमन्त्री, कानुनमन्त्री र संघीय मामिलामन्त्रीलाई भनिसकेकोले यही राष्ट्रिय सभामा विधेयक पेस हुनेमा आशावादी रहेको बताउनुभयो। 

अध्यक्ष तिमिल्सिनाले कर्मचारीतन्त्रले कसरी सेवा प्रवाहबाट देशलाई माथि उठाउने भन्ने बारेमा सोच्न जरुरी रहेको बताउनुभयो। उहाँले कर्मचारी कुनैपनि दलको नेताहरुसँग चाप्लुसी गर्न छोडेर जनतामा सहज सेवा विस्तार र व्यवस्थापनमा लाग्न आवश्यक रहेको बताउनु भयो।