• १३ असोज २०८१, आइतबार

सत्ता गठबन्धन बैठक

भदौ ९ गतेसम्ममा सिट बाँडफाँटको टुंगो लगाउने कसरत

blog

काठमाडौं, भदौ ७ गते । सत्ता गठबन्धनभित्र आगामी निर्वाचनका लागि भदौ ९ गतेसम्म सिट बाँडफाँटको टुंगो लगाउने कसरत भएको छ। कार्यदलका सदस्य एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गठबन्धनको बैठक सकारात्मक रुपले अघि बढेको बताउनुभयो।

उहाँले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि चाँडै निष्कर्षमा पुग्ने बताउनुहुँदै सिट बाँडफाँटमा समस्या छ कि भन्ने आशंका छिट्टै दुर हुने भनाइ राख्नुभयो।

मन्त्री कार्कीले भन्नुभयो, “संयोजक कृष्णप्रसाद सिटौला अस्वस्थ हुनुभएको छ। कतिपय कुरा संयोजकले ब्रिफ गर्नुपर्ने हुन्छ। कार्यदल र नेतृत्वबीच सहमतिको नजिक हामी पुगेका छौं । धेरै किसिमको मोडालिटीबारे छलफल गरेका छौं।”

आगामी निर्वाचन तालिका प्रकाशित भइसकेकाले पनि बैठक जतिसक्दो चाँडो निष्कर्षमा पुग्ने उहाँको भनाइ छ। “नेताहरुले एक्ला, एक्लै पनि कुरा गर्नुहुनेछ। जुन सहज ढंगले सिट बाँडफाँटको समस्या समाधान गर्छौ”, उहाँले भन्नुभएको छ।


बैठकपछि पत्रकारसँग कुरा गर्नुहुँदै कार्यदलका सदस्य एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की । 

सत्ता साझेदार दल राष्ट्रिय जनमोर्चाका नेता एवम् सिट बाँडफाँट कार्यदलका सदस्य हिमलाल पुरीले बालुवाटारमा बसेको गठबन्धनको बैठकमा आगामी चुनावमा सिट कसरी विभाजन गर्ने भन्नेबारे एक, दुई दिनभित्रै टुंगो लाग्ने जानकारी दिनुभएको हो। 

बैठकपछि सञ्चारकर्मीसँग नेता पुरीले भन्नुभयो, “आज निष्कर्षमा पुग्न सकिएन, छलफल जारी छ। बैठक भोलि पुनः अपराह्न ५ बजे बस्नेछ। भदौ ९ गतेभित्र टुंग्याउने प्रयत्न गर्छौं।” उहाँले कुन दललाई कति सिट भन्ने बारेमा समग्ररुपमा विभिन्न आधारबारे छलफल भएको उल्लेख गर्नुभयो। “यो दललाई यति नै सिट भन्ने होइन, आधारकै विषयमा छलफल भइरहेको छ। आधार एउटा मात्रै छैन। प्रत्यक्ष निर्वाचन, समानुपातिक र स्थानीय तहको निर्वाचनको आधार र पहिला कहाँ कसको राम्रो स्थान छ, त्यसमा पनि आधार बनाइएको उहाँको भनाइ छ। 

यी विभिन्न आधारलाई विकल्पको रुपमा छलफल भइरहेको र सिट बाँड्दा मात्रै नभई कहाँ, कसलाई दिदाँ जित्ने सम्भावना हुन्छ भनेर सोलोढोलो विजय हासिल गर्ने विकल्पमा पनि छलफल भएको उहाँले बताउनुभयो। 

कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला अस्वस्थ हुनुभएका कारण पनि आजको बैठकमा थोरै समस्या भएको उहाँले बताउनुभयो। 

उहाँले भन्नुभयो, “वाद, विवाद मिलेर छलफल हुन्छ, हामी त्यसरी नै छलफल गरिरहेका छौं। मुख्यत प्रतिनिधिसभा विभाजन गर्नुपर्छ, प्रदेशसभा पनि विभाजन गर्नुछ। प्रतिनिधिसभा विभाजन गरेपछि प्रदेशसभालाई पनि सजिलो हुन्छ।”, त्यसैले बैठक अहिले प्रतिनिधिसभातर्फ केन्द्रीत भएको उहाँको भनाइ छ। 

सत्ता गठबन्धनको बैठक बुधबार दिउँसो ५ बजे पुनः बस्नेछ।


बैठकपछि पत्रकारसँग कुरा गर्नुहुँदै कार्यदलका सदस्य हिमलाल पुरी ।