• १५ वैशाख २०८१, शनिबार

सञ्चार मन्त्रालयको आ.व. २०७८/०७९ को प्रमुख उपलब्धिहरु

एक वर्षमा सात अर्ब ६० करोड बढी राजस्व सङ्कलन

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालय र सम्वद्ध निकायहरुबाट आर्थिक वर्ष २०७८/०७९ मा सम्पादन भएका प्रमुख उपलब्धि सार्वजनिक गर्नुहुँदै । तस्बिर : सुजन गुरुङ

काठमाडौं, भदौ ७ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अघिल्लो आर्थिक वर्ष २०७८/०७९मा सात अर्ब ६० करोड रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको जनाएको छ ।

मङ्गलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालय र सम्बद्ध निकायहरुबाट आर्थिक वर्ष २०७८/०७९ मा सम्पादन भएका प्रमुख उपलब्धि सार्वजनिक गर्नुहुँदै मन्त्रालय र अन्तर्गतका निकायहरुबाट कुल राजस्व सात अर्ब ६० करोड ७२ लाख ५३ हजार रुपियाँ सङ्कलन भएको बताउनुभएको हो ।

मन्त्री कार्कीले भन्नुभयो, ‘‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सम्बद्ध निकायहरुको आर्थिक वर्ष २०७८/०७९ मा कुल विनियोजित बजेट सात अर्ब ५६ करोड ३७ लाख रुपियाँमध्ये चालुतर्फ पाँच अर्ब ५९ करोड ७६ लाख रुपियाँ विनियोजन भएकोमा ८५.३ प्रतिशत खर्च भएको छ । त्यस्तै, पुँजीगततर्फ एक अर्ब ९६ करोड ५१ लाख रुपियाँ विनियोजन भएकोमा ६७.२५ प्रतिशत खर्चगरी जम्मा ८०.६१ प्रतिशत खर्च भएको छ ।’’

उहाँले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको खुद नाफा आठ अर्ब ३८ करोड रुपियाँ रहेको पनि उल्लेख गर्नुभयो । आ.व. २०७८/०७९ मा कुल बजेटको ८०.६१ प्रतिशत खर्च भएको पनि जानकारी उहाँले दिनुभयो ।

सञ्चार मन्त्री कार्कीले भन्नुभयो, ‘‘मन्त्रालय र अन्तर्गतका निकायहरुबाट आर्थिक वर्ष २०७८/०७९ मा कुल राजश्व सात अर्ब ६० करोड ७२ लाख ५३ हजार सङ्कलन भएको छ । यसै मन्त्रालय समेतको सहजीकरणका कारण नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको खुद नाफा आठ अर्ब ३८ करोड रुपियाँ प्रारम्भिक तथ्याङ्क रहेको छ । उक्त नाफा अघिल्लो वर्षको तुलनामा एक अर्ब २६ करोड बढी हो ।’’

यसैगरी, मन्त्री कार्कीले सूचना तथा प्रशारण विभागबाट प्रदान गरिने कार्यहरु पूर्णरुपमा अनलाइनमार्फत प्रवाह हुने व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो । उहाँले नागरिक एपको स्तरोन्नति गर्दै ४५ सेवालाई यस एपमा आबद्ध गरिएको बताउनुभयो ।

त्यस्तै, चलचित्र क्षेत्रलाई गतिशील बनाउन सिनेमा, स्टोरी बैंक, सातै प्रदेशमा छायाँकन स्थल र विकासलगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ ।

त्यस्तै, आर्थिक वर्षमा वरिष्ठ चलचित्र कलाकारहरुको सम्मानका लागि चलचित्रकर्मी परिचयपत्र तथा बीमा कार्यक्रम शुरु गरिएको छ । सुरक्षण मुद्रणका लागि आवश्यक उपकरणसहितको मेसिन खरिद गरी जडान गरिएको र यसै आर्थिक वर्षबाट मुद्रण कार्य प्रारम्भ हुनेछ ।

मन्त्री कार्कीले ७३५ स्थानीय तहमा फोरजी सेवा विस्तार भएको र हालसम्म १२ हजार २२४ कि.मि. अप्टिकल फाइबर विस्तार गरिएको जानकारी दिनुभयो । उहाँले कुल जनसङ्ख्याको ९१ प्रतिशतमा रेडियो नेपालको पहुँच र ७२ प्रतिशतमा टेलिभिजनको पहुँच पुगेको बताउनुभयो ।

आमसञ्चारका प्रमुख उपलब्धिहरु

सञ्चार मन्त्री कार्कीले आमसञ्चारका प्रमुख उपलब्धिहरुमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३१ जिल्लामा गोरखापत्रको पहुँच सहज, नियमित र छिटोछरितो भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘विसं. २०७८ फागुन ७ गतेदेखि गोरखापत्रको पश्चिम क्षेत्र कोहलपुर संस्करणको छपाइ आरम्भ गरी लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ३१ जिल्लासम्मको पहुँच सहज, नियमित र छिटोछरितो बनाइएको छ ।’’

उहाँले गोरखापत्र र दि राइजिङ नेपाल दैनिकका साम्रगीहरुलाई डिजिटलमा रुपान्तरण गरी गोरखापत्र अनलाइन डट कम र राइजिङ नेपाल डेली डट कममार्फत २०७९ वैशाख १ गतेबाट नयाँ स्वरुपमा प्रकाशन शुरुवात गरिएको जानकारी दिनुभयो ।

सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सेवाहरु पूर्णरुपमा अनलाइनमार्फत प्रवाह हुने व्यवस्था गरिएको छ भने आमसञ्चार नीति २०७३ को प्रभावकारिता अध्ययन प्रतिवेदन तयार भएको छ ।
नेपाल टेलिभिजनबाट प्रसारण हुने समावेशी कार्यक्रममा तामाङ, गुरुङ र उर्दु गरी तीन भाषा थप गरी नौ भाषामा कार्यक्रम उत्पादन र प्रसारण भइरहेको साथै गोरखापत्र संस्थानले विभिन्न ३८ भाषामा सामग्री प्रकाशन गरिरहेको सञ्चारमन्त्री कार्कीले बताउनुभयो ।

त्यस्तै, छापामाध्यमबाट वितरण र प्रकाशन हुने लोककल्याणकारी विज्ञापनको रकम अब जिल्ला हुलाक कार्यालयबाट भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ । 

यसैगरी, राष्ट्रपतिबाट राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान २०७८ र कोभिड महामारीका कारण स्थगित भएका राष्ट्रिय पत्रकारिता र वरिष्ठ पत्रकार सम्मान २०७६ र २०७७ प्रदान गरिएको मन्त्रालयको प्रमुख उपलब्धिमा उल्लेख छ ।