• ७ वैशाख २०८१, शुक्रबार

गोरखापत्र संस्थानको ऐतिहासिक तस्बिर प्रदर्शनीमा

blog

गोरखापत्रको ऐतिहासिक फोटो प्रदर्शनीको अवलोकन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, वैशाख २५ गते । गोरखापत्र संस्थानमा वि. सं. २०३० देखि २०६० सम्मका ऐतिहासिक फोटो प्रदर्शनका लागि राखिएका छन् । गोरखापत्र प्रकाशनको १२३ औँ वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६१ वर्ष प्रवेशको विशेष अवसरमा वैशाख २४ बाट यो प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनीमा काठमाडौंको धर्मपथस्थित गोरखापत्र संस्थानमा दशरथ रङ्गशाला दुर्घटनादेखि भारतले लगाएको नाकाबन्दीसम्मका ऐतिहासिक फोटोहरू प्रदर्शनका लागि राखिएका छन् ।

फोटोग्राफी विभागका प्रमुख रामप्रसाद हुमागाईँले उक्त प्रदर्शनी १५ दिनसम्म चल्ने जानकारी दिनुभयो । उहाँले आइतबार राष्ट्रिय सभा गृहबाट प्रदर्शनी सुरु भएको जानकारी दिनुभयो ।

फोटो प्रदर्शनीको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालगायतका विशिष्ट व्यक्तित्वले अवलोकन गर्नुभएको छ । आज सोमबारबाट संस्थानमा राखिएको फोटो प्रदर्शनीमा साहित्यकार डा. बेन्जु शर्माले अवलोकन गर्नुभएको छ ।

प्रमुख हुमागाईँले फोटोग्राफी विभागमा कार्यरत फोटो पत्रकार सागर बस्नेत, सुजन गुरुङ, विकास द्वारे, कविन अधिकारी, केशवराज खनाल, कविता थापा र टङ्कबहादुर दानीलगायतको सहयोगमा गोरखापत्र प्रकाशनको १२३ वर्ष पुगेको अवसरमा पुराना तस्बिरको प्रदर्शन गर्न सफल भएको बताउनुभयो ।

उहाँले धेरै मिहिनेत पछि हिजोको प्रदर्शनीमा आमदर्शक तथा पाहुनाले निकै अभिरुचि राखेर फोटो प्रदर्शनी हेर्नुभएको बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मालगायत अतिथिबाट फोटो प्रदर्शनीको अभिरुचिपूर्वक अवलोकन भएबाट हाम्रो मिहिनेत सफल भएको बताउनुभयो ।

गोरखापत्रका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी तथा महाप्रबन्धक लालबहादुर ऐरीको निर्देशनअनुसार यो प्रदर्शनीलाई गोरखापत्र संस्थानको नयाँ भवनको तेस्रो तल्लामा राखिएका हो । प्रदर्शनीमा वि.सं. २०३० देखि २०६० सम्मका ऐतिहासिक फोटो प्रदर्शनीका लागि राखिएका छन् । प्रदर्शनका लागि राखिएका फोटोहरू गोपाल चित्रकार, विन्दुराज सिंह सुवाल, रामेश्वर कायस्थ, भीम गुरुङ, भरत देउराली, रमेश केसी, शेखर चौलागाईं, राजेन्द्र चित्रकार र नातिकाजी महर्जनले खिच्नुभएको थियो ।

प्रदर्शनमा जापान सरकारले पक्की पुल निर्माण गर्नुअघि अनामनगरबाट नयाँ बानेश्वरको थापागाउँ जोड्ने जीर्ण काठेपुल, २०५५ सालमा एसएलसीका परीक्षाफल गोरखापत्रमा प्रकाशित भएपछि परीक्षाफल हेर्न धर्मपथस्थित संस्थानको भवन वरपर जम्मा भएको भीडका तस्बिर राखिएका छन् ।


यस्तै, धरानमा २०४५ सालमा गएको भूकम्पबाट क्षतिग्रस्त भवन, २०३३ सालतिर राजधानीमा हिँड्दै गरे हिप्पी, २०४८ सालको वैशाखमा आयोजित निर्वाचनमा मतदान गर्दै स्थानीय गणेशमान सिंह तथा मङ्गलादेवी सिंहको फोटो राखिएका छन् ।

यसैगरी, २०४७ सालको बडादशैंको अवसरमा नेपाली कांग्रेसका नेता गणेशमान सिंहको निवासमा आयोजित चियापानमा सहभागीहरु, २०१५ सालमा भएको आम निर्वाचनमा मतदान गर्दै सर्वसाधारणबाट टेलिभिजनबाट कपी गरिएको तस्बिर पनि छन् ।

२०५१ साल साउनमा तत्कालीन जनमोर्चा नेता डा. बाबुराम भट्टराई, पम्फा भुषाल, परी थापालगायतले नयाँ सडकमा निकालेको र्‍याली र २०५० सालमा चितवनको दासढुङ्गा दुर्घटनामा कम्युनिस्ट नेता मदन भण्डारीको निधनपछि उहाँका धर्मपत्नी तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग उहाँकै निवासमा अन्तर्वार्ता लिँदै गोरखापत्रका पूर्व प्रधान सम्पादक तथा संस्थानका पूर्व महाप्रबन्धक सीताराम अग्रहरि तथा दि राइजिङ्ग नेपालमा प्रकाश रिमालको फोटो पनि प्रदर्शनीमा राखिएका छन् ।

त्यस्तै, २०५१ साल साउन महिनामा छ बाम घटकद्वारा खुलामञ्चमा आयोजित आमसभालाई सम्बोधन गर्नुहुँदै पूर्व प्रधानमन्त्री तथा नेता मनमोहन अधिकारी, २०३३ सालतिर राष्ट्रिय विकास कार्यक्रम एनडीएस कार्यक्रमका लागि छनौट भएको युवाका तस्बिर राखिएको छ ।


यसैगरी, विसं. २०३९ साल चैत महिनामा कोटेश्वर सल्लाघारी सडकखण्डमा भैंसी डोर्‍याएर गन्तव्यतर्फ लगिँदै, २०३० देखि २०३३ को बीचमा भद्रकाली क्षेत्रमा दुर्घटना भएको ट्रक नियाल्दै यात्रु । त्यस समयमा यात्रु बोक्नका लागि ल्याएका ट्रक प्रयोगमा आउने गर्थे ।

नेपाली कला क्षेत्रका हस्ती लैनसिंह बाङ्गदेल, २०४५ सालमा असोज महिनामा राजधानीमा आयोजित चित्रकला प्रदर्शनी अवलोकन गर्नुहुँदै, २०३३ सालतिर असनमा तोरीको तेल खरिदका लागि लाइन लगेका उपभोक्ता, बालाजु २२ धारामा स्नान गर्दै सर्वसाधारण छन् ।

२०३३ सालतिर हनुमानढोका क्षेत्रमा तरकारी बोकेर हिँड्दैगरेका एक किसान, २०४७ साल आसोजतिर विष्णुमती नदीमा माछा मार्दै स्थानीय, २०४२ सालमा रामराजा प्रसाद सिंहको नेतृत्वमा तत्कालीन व्यवस्थाविरुद्ध राजधानीको अन्नपूर्ण होटलमा भएको बम विस्फोटमा क्षतिका तस्बिर पनि रहेका छन् ।
२०४२ सालमा रामसाजाप्रसाद सिंहको नेतृत्वमा तत्कालीन व्यवस्थाविरुद्ध सिंहदरबारस्थित तत्कालीन राष्ट्रिय पञ्चायत भवन भएको बम विस्फोटको अनुगमन गर्दै तत्कालीन प्रम मरिचमान सिंहको तस्बिर पनि समावेश छ ।


२०४२ सालमा नेपाल भ्रमणमा आउनु भएका बेलायतकी महारानी एलिजावेथ द्वितीयलाई भक्तपुरको तौमडी क्षेत्रमा भ्रमण गराउँदै तत्कालीन राजा वीरेन्द्र, २०३८ सालमा बुटबललगायतका क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिका तस्बिरप्रति अवलोकनकर्ताको आकर्षण बढेको छ । २०३४ सालमा उपप्रधानमन्त्रीको रुपमा नेपाल भ्रमणमा आउनुभएका चीनका पूर्व राष्ट्रपति देङ्ग सिआव पिङ्गलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दैगरेका तस्बिरहरु प्रदर्शनीमा छन् ।

यसैगरी, २०५३ सालमा नेपाल भ्रमणमा आउनु भएका चीनका राष्ट्रपतिलाई राष्ट्रिय सभागृहमा नागरिक अभिनन्दनपछि विदाइ गर्नुहुँदै तत्कालीन नगर प्रमुख पीएल सिंह तथा उपप्रमुख नविन्द्रराज जोशी (दायाँ), २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा असिना पानी र हावाहुरी चलेपछि भएको भागदौडमा अफन्त गुमाएकाहरु चिन्तित अवस्थामा रहेकाहरूको तस्बिर पनि राखिएको छ । 


सो दुर्घटनामा ९३ जनाको ज्यान गएका थियो र सो दुर्घटनालगत्तै तत्कालीन खेलकुदमन्त्री केशरबहादुर विष्टले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुभएको थियो । २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा असिना पानी र हावाहुरी चलेपछि भएको भागदौडमा घाइते भएकाको उद्धार गरिँदै ।

सो दुर्घटनामा ९३ जनाको ज्यान गएका थियो र सो दुर्घटना लगत्तै तत्कालीन खेलकुदमन्त्री केशरबहादुर विष्टले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुभएको थियो ।

पूर्व युवराज दीपेन्द्र ब्रतबन्धपछि देशान्तरका लागि निस्कँदै, २०५२ सालमा शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको मन्त्रिमण्डलका सदस्यका सम्मानमा उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्वागत कार्यक्रमममा सहभागी हुँदै नेताहरुका तस्बिर हेर्नलायक छन् ।


२०३३ साततिर खिचिएको धरहरा क्षेत्रको तस्बिर, २०४५ सालमा गएको भूकम्पमा परी धरानमा उपचार गराई रहेका विरामीको अवस्था बुझदै तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह, २०४५ सालको भूकम्पनमा क्षतिग्रस्त धरानको क्षतिग्रस्त घर, २०३३ सालतिर पोखराको फेवातालमा पालिएका बकुल्लालाई चारा हाल्दै गरेका तस्बिर पनि छन् । 

२०३९ सालमा भएकोे स्थानीय निर्वाचनमा मतदान गरिँदै, बंगलादेशको ढाकामा भएको पहिलो दक्षिण एशियाली सहयोग संगठन सार्कको शिखर सम्मेलनको दृश्य र २०४२ सालमा गोरखापत्र तथा दि राइजिङ्ग नेपाल किन्दै स्थानीयको फोटो प्रदर्शनमा हेर्न पाइन्छ ।

गोरखापत्रको सतवार्षिक समारोहमा सहभागी हुँदै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, २०४६ सालको जनआन्दोलनपछि गठित अन्तरिम सरकारका प्रधानमन्त्रीका रुपमा मन्त्रिपरिषद्का अन्य सदस्यलाई शपथ ग्रहण गराउँनु हुँदै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, २०४६ सालको जनआन्दोलनपछि गठित अन्तरिम सरकारका मन्त्रीहरु पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुँदै गरेका तस्बिर पनि छन् । 


२०३७ सालको जनमत संग्रहमा मतदान गर्दै स्थानीय, २०४७ साततिर नयाँ सडकमा अम्बा व्यापार गर्दै, २०४६ सालमा खुलामञ्चमा राखिएका व्यापारिक स्टलहरु, २०४० सालम खुमलटारमा राखिएका उन्नतजातका गाई, तत्कालीन राजा वीरेन्द्रको शुभराज्याभिषेक समारोह र तत्कालीन राजा वीरेन्द्रको शुभराज्याभिषेकपछि हात्तीमा सवार वीरेन्द्र तथा ऐश्वर्य प्रदर्शनीमा राखिएका छन् ।