• १५ असार २०८१, शनिबार

भूमिहीन बादी परिवारले पाए लालपुर्जा

blog

भूमिहीनलाई लालपूर्जा वितरण गर्नुहुँदै मन्त्री शशी श्रेष्ठ, आयोगका अध्यक्ष केशब निरौला । तस्विर – एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सेना

टीकापुर (कैलाली), भदौ ७ गते । कैलालीको लम्कीचुहा नगरपालिका -३ बल्चौरका १२४ भूमिहीन बादी परिवारले घरबासको लालपुर्जा प्राप्त गरेका छन् । पूर्वपश्चिम राजमार्गको दक्षिण र रानी जमरा कुलरिया सिँचाइको मूल नहरको उत्तरमा बसोबास गरिरहेका १७७ बादी परिवारमध्ये १२४ परिवारको हातमा मङ्गलबार लालपुर्जा पुगेको छ । छ परिवारका घरमूली बाहिर भएकाले पछि हस्तान्तरण गरिनेछ । लालपुर्जा पाउनेहरुले दश धुरदेखि एक कठ्ठासम्म पाएका छन् ।

बादी समुदायका परिवारलाई लालपुर्जा वितरण गर्न नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ कैलाली पुग्नुभएको छ । ‘पूर्वमा मुसहर र पश्चिममा बादी समुदायका प्रतिनिधिसँग प्रतिबद्धता जनाएअनुसार आफैँ उपस्थित भएकी छु,’ मन्त्री श्रेष्ठले मंगलबार बल्चौरमा आयोजित कार्यक्रममा भन्नुभयो, ‘संविधानमा लिपिबद्ध भएको भूमिहीनलाई घरबास र आवास दिने व्यवस्था अनुसार पिँधमा रहेको मुसहर, बादी चमार, डोमलगायतका समुदायलाई प्राथमिकतामा राखेर जग्गा वितरणको काम भइरहेको छ ।’

मन्त्री श्रेष्ठले २०२१ सालमा भूमिसुधार लागू भएको बेला नाप्न छुटेका गाउँब्लकका जग्गादेखि यस अघिका आयोगले लालपुर्जा दिएका तर जग्गा नपाएकासम्मलाई यसपटकको अधिकार सम्पन्न आयोगबाट जग्गा नापी गरी आउँदो एक वर्षमा पाँच लाख र दोस्रो वर्ष नेपालभरका सबै भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई लालपुर्जा दिएर नेपालबाटै भूमिहीनको समस्या समाधान गरिने बताउनुभयो ।

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशबवनिरौलाले समाजमा पछि परेको भूमिहीन बादी समुदायले घरबासको लालपुर्जा पाउनु समुदायले आत्मसम्मानका रुपमा लिनुपर्ने बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकारका भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री विनीता चौधरीले सबै नागरिकलाई जग्गाको स्वामित्व हुनुपर्छ भन्ने मान्यताअनुसार लालपूर्जा पाउनु बादी समुदायको सङ्घर्षको उपलब्धि पनि भएको बताउँदै अघिल्लो आयोग खारेज भएपछि भूमिहीनले जग्गा पाउँदैनन् कि भन्ने भ्रम अब सकिएको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका पूर्व सदस्य कमलाकुमारी ओलीले यसअघिका आयोगले काम शुरु गरे पनि लालपुर्जा दिन नपाएको र नयाँ आयोगले सबै भूमिहीनलाई समयमै लालपुर्जा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो । 

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य हरि ज्ञवालीले युगौँदेखि उत्पीडनमा परेको समुदायले लालपुर्जा पाउनु गणतान्त्रिक संविधान र सरकारको उपलब्धि भएको बताउनुभयो । 

कार्यक्रममा राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का, सुदूरपश्चिम प्रदेश सभा सदस्य रतन थापा र उमादेवी बादी, नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टलगायतले भूमिहीनलाई लालपुर्जा वितरण गर्ने काम छिटो गर्नुपर्ने सुझाव दिनुभएको छ । 

भूमि आयोगका कैलाली अध्यक्ष यज्ञराज उपाध्यायले लम्किचुहामा -१० हजार कित्ता जग्गा नापी भइसकेको, जिल्लाका पाँच पालिकामा लालपुर्जा वितरण गर्ने तयारी भैरहेको र आयोगमा कैलालीका सवा लाख व्यक्तिका निवेदन परेको जानकारी दिनुभयो । लालपुर्जा पाएका बादी समुदाय खुशी भएका र छिट्टै बाँकी रहेकाले पनि पनि पाउँने आशा रहेको रमा बादीले बताउनुभयो ।