• १० असार २०८१, सोमबार

काठमाडौंमा नेपाल बन्दको आंशिक प्रभाव

blog

बन्दकाे दिनमा राजधानीमा देखिएका यातायातहरू। तस्विर– विकास द्वारे (गाेरखापत्र)

गोरखापत्र अनलाइन

काठमाडौँ, भदौ ७ गते । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित चार वटा पार्टीहरुले गरेको नेपाल बन्दको प्रभाव आशिंकरूपमा परेको छ । मंगलबार नेपाल बन्दको घोषणा गरेको भए पनि काठमाडौं उपत्यका र देशभर न्यून प्रभाव परेको हो । सवारी साधनहरु काठमाडौं उपत्यकामा यतिबेला सञ्चालनमा आइरहेका छन् ।

मंगलबार बिहान भने केही कम सवारीसाधन मात्रै सञ्चालनमा आएका थिए । बन्दको घोषणापछि बिहानदेखि प्रमुख चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

सरकारसँग वि.सं. २०७७ फागुन २० गते भएको तीन बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग गर्दै ती पार्टीहरुले देशव्यापी बन्द आह्वान गरेको थियो । 

नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन् । 


पार्टीले अमेरिकासँग गरिएको एमसीसी सम्झौता खारेज हुनुपर्ने, महङ्गी नियन्त्रण गर्नुपर्ने लगायत माग राखेर बन्दको घोषणा गरेको हो । काठमाडौँ उपत्यकामा बन्दको प्रभाव खासै नदेखिए पनि देशका अन्य विभिन्न भूभागमा भने सवारीसाधन तोडफोड र शंकास्पद वस्तु फेला परेको बताइएको छ ।