• ३ पुस २०८१, बुधबार

लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ताको पहल लिन अध्यक्ष ओलीको आग्रह

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ ६ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीको पक्षमा पहल लिन सरकारसँग आग्रह गर्नुभएको छ । सोमबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले सो आग्रह गर्नुभएको हो । 

नेपालले १४६ वर्षदेखि भोगचलन गर्दै ६० वर्ष अघि हाम्रो हातबाट खोसिएको सो भूमि हाम्रो भए पनि सरकारले फिर्ताको ठोस पहल लिन नसकेको उहाँले बताउनुभयो । सत्तारुढ गठबन्धन दलका नेताहरु त्यसबारे चुइक्कसम्म बोल्न नसकेको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, “देश बनाउने काममा केन्द्रित भएर लाग्न हामीले आग्रह गरिरहेका छौं, तर सरकारले ध्यान दिएको छैन, यो सरकारले ध्यान नदिए अब आउने सरकारले ध्यान दिन्छ ।” देशलाई नाकाबन्दीमा पर्न नदिन आफू नेतृत्वको सरकारले यसअघि उत्तरतिरको नाका खोल्ने काम गरेको उहाँले बताउनुभयो । “१४६ वर्षदेखि हामीले भोगचलन गरेको जमिन ६० वर्ष अगाडि हाम्रो हातबाट खोसेर अरुले लगेको रहेछ । त्यो जमिन फिर्ता ल्याउन कसैले आवाज उठाएन । नेकपा एमाले बोल्यो, हामी बोल्यौं । हामी नेतृत्वको सरकारले नक्सा जारी गर्‍यौं । संविधानमा त्यसलाई समेट्यौं र भारत सरकारलाई पत्राचार गर्‍यौं ।”

“हामी अरुको जमिनमा दावी गरिरहेका छैनौं । आफ्नो जमिन फिर्ता मागिराखेका छौं” अध्यक्ष ओलीले प्रश्न गर्नुभयो, “सरकार लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भूमि होकि होइन ?”  मुलुक बचाउन भए पनि आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउन आवश्यक भएको उहाँले दावी गर्नुभयो । कार्यक्रममा विभिन्न दल परित्याग गरी एमालेमा प्रवेश गर्ने नेता कार्यकर्तालाई अध्यक्ष ओलीले स्वागत गर्नुभएको थियो ।