• ६ साउन २०८१, आइतबार

संरक्षणको पर्खाइमा अतिरिक्त हुलाक कार्यालय

blog

मोरङको रतुवामाई–१० सातमेडीस्थित अतिरिक्त हुलाक कार्यालयको भवन । तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला  
उर्लाबारी, भदौ ४ गते ।
कुनै समय अत्यावश्यक सेवा दिने मोरङको रतुवामाई –१० सातमेडीको अतिरिक्त हुलाक कार्यालय यतिबेला संरक्षण पर्खिरहेको छ । 

विसं. २०३५ सालमा स्थापना भएको अतिरिक्त हुलाकमा चिट्ठीपत्र आदान–प्रदान हुन छोडेपछि कार्यालय सुधारमा कसैको ध्यान पुगेको छैन । स्थापनापछिका तीन दशकसम्म भीडभाड हुने हुलाकलाई उपियाँले मरेको पशुलाई छोडे झैं बेवास्था गरेका छन् ।

उर्लाबारी–आमबारी–सिंजुवा सडकको सातमेडीमा रहेको हुलाक कार्यालय यतिबेला जीर्ण अवस्थामा छ । साथै सडक विस्तार गर्ने क्रममा पूर्वतर्फको भाग भत्काइएपछि कार्यालय झन हेरिनसक्नु भएको छ । जस्तापाताले टालटुल गरेर सञ्चालन भइरहेको हुलाक कार्यालय सडक उकास गरिएपछि सामान्य पानी पर्दा डुब्ने अवस्थामा छ ।

स्थानीय हरिप्रसाद अधिकारीले दान दिनुभएको एक कठ्ठा जग्गामा चनदा उठाएर सातमेडी हुलाक कार्यालय निर्माण गरिएको थियो । सातामा तीन पटक आइतबार, मङ्गलबार र बिहीबार हुलाकमा मानिसको भीड लाग्थ्यो । तर, अहिले कुन आइतबार कुन मङ्गलबार स्थानीय बासिन्दालाई कुनै चासो छैन ।

पत्र आउने र जाने दिन विशेष दिन हुन्थ्यो । गाउँघरमा दुःखसुखका समाचार त्यही दिन भित्रिने गर्‍यो । तर, अहिले समय बदलिएको छ ।

विसं. २०४१ सालदेखि सोही कार्यालयमा काम गर्दै आउनुभएका भीमप्रसाद घिमिरे भन्नुहुन्छ, ‘‘अहिले हाम्रो कुनै मूल्य छैन । पहिले गाउँघरमा सबैको माया पाइन्थ्यो । कसैका छोरा पल्टन गएका छन् भने त अझ राम्रो मान गर्थे । अलिपछि विदेश जाने चलन सुरुभयो । त्यतिबेला पनि हुलाकको महत्त्व घटेको थिएन । मानिसहरू पत्र रजिष्टर्ड गर्न कार्यालय आउँथे । टिकट बिक्री महिनामा २० हजार रुपियाँसम्मको हुन्थ्यो ।’’

करिब ३८ वर्ष अघि ९० रुपियाँ मासिक तलबबाट जागिर सुरु गर्नुभएका घिमिरे अहिले दैनिक २ घण्टा कटाउन नै समस्या हुने गरेको अनुभव सुनाउनु हुन्छ । उहाँले भन्नुभयो, ‘‘व्यक्तिगत पत्र आउँदै आउँदैनन् । सरकारी कार्यालयहरूले विभिन्न मुद्दा मामिलाका क्रममा हाजिर हुन आउने सुचना मात्रै हुलाकले बोकिरहेको छ । टिकट बिक्री समेत ह्वात्तै घटेको छ ।’’

हुलाक प्रतिनिधि, पत्र वितरक र डाक बहाक गरी तीन जना कार्यरत हुलाक कार्यालय निर्माणका लागि पहल नभएको होइन । घिमिरेले पटक–पटक हुलाक निर्देशनालय विराटनगर र स्थानीय तहलाई जानकारी गराउने गरेको बताउनुहुन्छ ।

स्थानीय तहले कार्यक्षेत्र नभएको जवाफ दिँदै आएको छ भने हुलाक निर्देशनालयले जग्गामा सीमाना विवाद भएकाले नयाँ भवन निर्माण गर्न नसकिएको बताउने गरेको उहाँ सुनाउनुहुन्छ ।

रतुवामाई नगरपालिका–१० का वडाध्यक्ष आशिष कार्कीले भन्नुभयो, ‘‘हाम्रो क्षेत्र भित्र पर्दैन, भवन निर्माण गर्न वडाले सहयोग गर्छ तर हुलाकका आफ्नै समस्या छन् । कानुनी समस्या समाधान नभएसम्म स्थानीय सरकारले केही गर्न सक्दैन ।’’

हुलाक निर्देशनालय विराटनगरका लेखापाल शङ्कर बस्नेतले जग्गादाताले हुलाकलाई दिएको जग्गा सडकमा नपर्ने भनेपछि हुलाक कार्यालय अलमलमा परेको बताउनुभयो । हाल कार्यालय रहेको जमीन हुलाकको होइन, भन्ने दाताहरूको भनाइ छ । बाटोले नछोएको ठाउँमा हुलाक कार्यालय बनाउने कुरा भएन । जग्गादाताको निधन भएपछि समस्या झन बढेको बताउनुहुन्छ, लेखापाल बस्नेत ।

‘‘पानी पर्दा कार्यालय डुब्छ, त्यसैले कार्यालय ९ नम्बर वडा कार्यालयमा सार्ने छफफल पनि भयो । तर, सार्न सकेका छनौं ।’’ उहाँले भन्नुभयो ।

सञ्चारका लागि नयाँ नयाँ प्रविधि भित्रिएपछि सातमेडी अतिरिक्त हुलाक मात्र थला परेको होइन । जिल्लाका ५१ वटा अतिरिक्त र १६ वटा इलाका हुलाकको अवस्था पनि उस्तै छ  । यद्यपि, ति हुलाक कार्यालयहरू भने व्यवस्थित छन् ।