• १२ साउन २०८१, शनिबार

कीर्तिमानी आरोही सानु शेर्पालाई अभिनन्दन

blog

अग्ला १४ वटा हिमाललाई दोहोर्याएर आरोहण गरी विश्वकीर्तिमान बनाउनु हुने सानु शेर्पालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अभिनन्दन गरिदै । तस्विरः गोरखापत्र अनलाइन

काठमाडौं, भदौ ४ गते । विश्वका आठ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाललाई दाेश्राे पटक आरोहण गरी विश्वकीर्तिमान बनाउन सफल हुनुभएका आरोही सानु शेर्पालाई नागरिक अभिनन्दन गरिएको छ । पाकिस्तानको आठ हजार ३५ मिटर अग्लो गसेर्ब्रुम –२ हिमालको आरोहण गरी शनिबार स्वदेश फर्कनुभएका शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठलगायतले अभिनन्दन गरी काठमाडौं उपत्यका परिक्रमा गराइएको छ । 

संखुवासभाका आरोही तथा गाइड सानु शेर्पाले विश्वमा रहेका आठ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाललाई दोहोर्याएर आरोहण गर्ने विश्वकै एक मात्र आरोही बन्नुभएको छ । उहाँले साउन ५ गते बिहीबार बिहान पाकिस्तानको आठ हजार ३५ मिटर अग्लो गसेर्ब्रुम –२ हिमालको आरोहण गरेसँगै अग्ला हिमाल दोहोर्याएर आरोहण गर्नुभएको हो । उहाँलाई नेपाल पर्वतारोहण संघ, शेर्पा पर्यटन व्यवसायी संघ, शेर्पा किदुक संखुवासभालगायत पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाले नगरको परिक्रमा गराएर अभिनन्दन गरेका हुन् । 

१४ अग्ला हिमालको एक पटक आरोहण गर्ने उहाँ सहित छ जना नेपाली आरोही हुनुहुन्छ तर उहाँले सबै हिमाललाई दुई पटक आरोहण गर्नुभई विश्वकै एक्ला कीर्तिमानी आरोहीको रुपमा नाम राख्न सफल हुनुभयो । 

सङ्खुवासभाको मकालु गाउँपालिका –१ स्थायी घर भएका ४७ वर्षीय सानु शेर्पा केही वर्षयता विश्वकै १४ अग्ला हिमाललाई दोहोर्याएर चढ्ने अभियानमा जुट्नु भएको थियो । यो सपना उहाँले पूरा गर्नुभएको छ । यसै वर्षमात्र उहाँले मकालु र कञ्चनजङ्घा हिमालको पनि दोहोर्‍याएर आरोहण गर्नुभएको थियो । 

सन् २००५ मा काठमाडौँ आएर ट्रेकिङ भरियाको रूपमा काम गर्ने मौका पाउनुभएका सानुले पहिलो पटक सन् २००६ मा आठ हजार मिटर भन्दा अग्लो हिमाल छ्यो यूको आरोहण गर्नुभएको थियो । त्यसपछि प्रत्येक वर्ष उहाँको जीवन हिमालमै बित्यो । 

आठ हजार मिटर अग्ला हिमाल नेपालमै १४ वटा गरी विश्वभर २० वटा रहे पनि नेपालका आठ वटालाई मात्र इन्टरनेशनल क्लाइम्बिङ एण्ड माउन्टेनेरिङ फेडेरेसनले मान्यता दिएको छ । तर नेपाल सरकारको तथ्याङ्कमा भने १४ वटा नै कामय गरिएको छ । देश तथा विदेशी कम्पनीमात्र नभएर उहाँले विशेष गरी पायोनियर एड्भेन्चर ट्रेकमा रहेर उहाँ आरोहण गर्दै आउनुभएको छ । 

शालिन र शान्त स्वभावको सानु शेर्पा आफूले विश्वमै पहिलो कीर्तिमान राख्न सफल भए पनि चर्चा बटुल्ने प्रयास भने पटक्कै गर्नुभएन । उहाँ भन्नुहुन्छ, मिडियाबाजी गरेर हुने केही होइन, आफ्नो क्षमता र दक्षताको सम्मान आफूले पाउनेमा म विश्वस्त छु । कीर्तिमानका लागि वास्तविक आरोही भन्दा पनि चर्चामात्र बटुल्ने नवआगन्तुक आरोहीहरुले हिमाललाई बदनाम गर्ने गरेको भन्दै यस्ता गतिविधिलाई राज्यले नियन्त्रण गर्नुपर्ने उहाँले सुझाव छ ।

विश्वजगतले पर्वतीय पर्यटन र साहसिक पर्यटन प्रवद्धर्नमा उहाँले दिनुभएकाे याेगदानलाई नेपालले सम्मानसहित प्रयोग गर्न आवश्यक रहेकाे नेपाल पर्यटन बोर्डका सदस्य ङवाङङिमा शेर्पाले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ''हिमालसँग सन् १९५३ देखि मानव सम्बन्ध जोडिएपछिकाे ठूलो उपलब्ध सानु शेर्पाकाे याेगदान हाे र यो विदेशी आरोहीले तोड्ने सम्भावना पनि न्यून छ ।''

आठ हजार मिटरभन्दा अग्ला हिमालहरू उहाँले ३५ पटक आरोहण गरिसक्नुभएको छ । यी मध्ये सगरमाथामा सात पटक आरोहण गर्नुभएकाे छ । अन्य कीर्तिमानी आरोहीहरुमा २६ औं पटक सगरमाथाको आरोहण गर्ने कामीरिता शेर्पा, महिलामा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने महिलामा संखुवासभाका लाक्पा शेर्पालगायत छन् । 

उहाँले अग्ला हिमाल आरोहण गरेको वर्षः

अग्ला  हिमाल               आरोहण गरेको वर्ष :

अन्नपूर्ण                        २०१६, २०२१

ब्रोड पीक                     २०१४, २०१७

चोयू                           २००६, २००८

धौलागिरि                   २०१९, २०२१

सगरमाथा                   २००७, २००८, २००९, २०१२, २०१३, २०१६, २०१७

गोसेर्व्रुम २                  २०१९, २०२२

गोसेर्व्रुम १                  २०१३, २०१९

केटु                           २०१२, २०२१

कञ्चनजंग                  २०१४, २०२२

ल्होत्से                       २००८, २०२१

मकालु                        २०१९, २०२२

मनस्लु                        २०१०, २०११, २०१६

नागा पर्वत                    २०१७, २०१८, २०२२

सिंसापाङ्मा                     २००६, २०११

Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।