• १२ साउन २०८१, शनिबार

तत्कालीन चिनियाँ समाजको कथा

blog

करिब आठ वर्षअघि बेलायतको एक प्रसिद्ध सञ्चार माध्यम टेलिग्राफले १० सर्वोत्कृष्ट एसियाली उपन्यासको सूची प्रकाशित गरेको थियो । उक्त सूचीमा भारतबारे लेखिएका पाँच वटा उपन्यास थिए । तीमध्ये चार वटाका लेखक भारतीय थिए । तीन वटा उपन्यासका लेखक जापानी थिए । उक्त सूचीमा चिनियाँ लेखकले लेखेको एउटै मात्र उपन्यास परेको थियो । तर त्यो उपन्यास उक्त सूचीको प्रथम स्थानमा रहेको थियो । उक्त उपन्यासको नाम ‘रातो महलको सपना’ थियो । रातो महलको सपना चिनियाँ भाषामा ‘होङ्–लउ–मङ्’ करिब २५० वर्ष पहिले चिनियाँ हान् भाषामा लेखिएको एक प्रसिद्ध उपन्यास हो । 

यो उपन्यास नेपाली भाषामा पूर्ण अनुवाद गर्ने हो भने करिब दुई हजार पृष्ठ हुन्छ । यो उपन्यास तत्कालीन चिनियाँ समाजका चार कुलीन भारदार परिवारको उत्थान र पतनलाई पृष्ठभूमि बनाई लेखिएको छ । उपन्यासमा नायक नायिकाको प्रेमकथाका साथै अरू धेरै घटना पनि समावेश गरिएको हुँदा यसलाई कतिपय विद्वान्हरूले तत्कालीन चिनियाँ समाजको विश्वकोष पनि भन्ने गरेका छन् । 

चिनियाँ साहित्यको इतिहास दुई हजार वर्षभन्दा लामो भए पनि विशुद्ध मनोरञ्जनका लागि लेखिने कथा र उपन्यासका विधाहरू खास गरी थाङ् राजवंश (ई. ६१८–९०७) देखि मात्र विकास भएको पाइन्छ । चिनियाँ साहित्यको इतिहासमा मीङ् राजवंश (ई. १३६८–१६४४) र छीङ् राजवंशको (ई. १६३६–१९१२) समयमा मात्र कथा, उपन्यास साहित्य पूर्ण मात्रामा विकसित अवस्थामा पुगेको थियो । यी दुई राजवंशको समयमा लेखिएका हजारौँ कथा र उपन्यासमध्ये चार वटा उपन्यास विशेष उल्लेखनीय मानिन्छ । त्यसमा ‘रातो महलको सपना’ चार उपन्यास मध्ये एक हो । 

यसका लेखक छाओ स्य्वेछीन् (ई. १७१५–१७६३) हुन् । उनी राजपरिवारसँग निकट एक धनी र शक्तिशाली परिवारमा जन्मिएका थिए । बाल्यकाल धनी परिवारमा बिते पनि युवावस्थामा उनले आर्थिक विपन्नताको सामना गर्नु प¥यो । उपन्यासको प्रारम्भमा एक ठाउँमा ‘यी विवश र निरश दिनहरूमा पुराना दिनहरू सम्झिँदै, एक्लोपनाको समयमा मेरा निच्छल भावनाहरूलाई व्यक्त गर्ने प्रयास गरी यो रचना गरेँ’ भनी लेखिएको हुँदा केही विद्वान्ले उक्त उपन्यास लेखकको आत्मकथामा आधारित हुन सक्ने बताएका छन् । उपन्यासमा भएका ४४० भन्दा बढी पात्रहरू मध्ये पाँच दर्जनभन्दा बढी पात्रहरूको आन्तरिक विरोधाभास नहुने गरी सूक्ष्म चरित्रचित्रण गरिएको छ । यसबाट लेखकले आफूले भोगेका, अनुभव गरेका कुरालाई नै उपन्यासमा कलात्मक रूपमा उतारेका हुन् भन्ने भनाइलाई अरू बल मिल्दछ । उपन्यासको रचना भएर मुद्रित रूपमा प्रकाशन हुनअघि नै हातले लेखेर सारेर धेरै प्रति बनाई त्यसको बिक्री वितरणबाट प्रचार भइसकेको थियो । त्यसबेलादेखि अहिलेसम्म यस उपन्यासको आकर्षणमा कुनै कमी आएको छैन । यस उपन्यासको अध्ययन अनुसन्धान गर्ने एउटा छुट्टै विषय नै बनेको छ, जसलाई चिनियाँ भाषामा ‘होङ्–स्य्वे’ भनिन्‍छ ।

चीनको अन्तिम छीङ् राजवंशकालमा चीनले बाह्य विश्वबाट छुट्टिएर अलग्ग रहने नीति अपनाएको हुँदा अरू देशहरूसँग चीनको सम्पर्क कम हुन गयो जसले गर्दा यस महान् उपन्यासको विदेशमा जति प्रचारप्रसार हुनुपर्ने थियो, त्यति हुन सकेन । तथापि युरोपेली विद्वान्हरूको प्रयासबाट सय वर्षभन्दा अघि नै यस उपन्यासको अङ्ग्रेजी र फ्रान्सेली भाषामा सङ्क्षिप्त अनुवाद भएको थियो । 

जनवादी गणतन्त्र चीनको स्थापनापछि चीनको बाह्य विश्वसँग सम्पर्क बढ्दै गयो । यसपछि चिनियाँ साहित्य संस्कृतिलाई विदेशमा प्रचारप्रसार गर्नका लागि चिनियाँ साहित्य विदेशी भाषाहरूमा अनुवाद गर्न थालियो । अहिले विश्वका १३ भन्दा बढी भाषाहरूमा ५० भन्दा बढी पटक यस उपन्यास अनुवाद भइसकेको छ । 

नेपाली भाषामा भने यसको पूर्ण रूपमा अनुवाद नभए पनि हालै नेपालस्थित चीन सांस्कृतिक केन्द्रले यस उपन्यासको कथासार नेपाली भाषामा प्रकाशन गरेको छ । यस केन्द्रको फेसबुकमा नेपाली भाषामा लेखिएको करिब ५० पृष्ठको उक्त कथासार तथा उपन्याससम्बन्धी करिब दश वटा जानकारीमूलक लेखहरू पनि प्रकाशित गरिएको छ । यस उपन्यासमा चित्रित गरिएका विभिन्न घटनालाई आधार मानेर दर्जनौँ चलचित्र निर्माण भएका छन् । उपन्यासलाई समेटेर धेरै खण्ड भएका टेलिशृङ्खलाहरू चार पटक निर्माण गरिसकिएको छ । तीमध्ये चीनको सीसीटिभीले सन् १९८७ मा ३६ खण्ड भएको सबैभन्दा लोकप्रिय टेलिशृङ्खलालाई निर्माण गरेको थियो । यही टेलिशृङ्खलालाई अरनिको समाजले नेपालीमा अनुवाद एवं स्वराङ्कन गरी प्रसारण गर्ने प्रयास सुरु गरेको छ । उपन्यासबाट साहित्यिक मनोरञ्जन प्राप्त हुने मात्र होइन, करिब तीन सय वर्ष पहिलेको चिनियाँ समाज र संस्कृतिबारे पनि नेपाली साहित्यकार र बौद्धिक व्यक्तिहरूले धेरै ज्ञान प्राप्त गर्ने सुअवसर प्राप्त गर्न सक्ने छन् ।