• ६ साउन २०८१, आइतबार

गोसाइँकुण्ड यात्रा

blog

पर्यटकीय तथा धार्मिक महत्त्व बोकेको रसुवास्थित गोसाइँकुण्डलाई शिवकुण्ड पनि भन्ने गरिन्छ । समुद्री सतहबाट चार हजार ३८० मिटरको उचाइमा अवस्थित यो कुण्डमा दशहरा र जैनपूर्णिमा मेला लाग्छ । जैनपूर्णिमाका दिन भने श्रद्धालुहरूको यहाँ भीड लाग्छ । 

यस क्षेत्रमा १०८ वटा कुण्ड रहेका छन् । यीमध्ये भैरवकुण्ड, सरस्वतीकुण्ड, पार्वतीकुण्ड, सूर्यकुण्ड आदि प्रमुख हुन् । यहाँको प्राकृतिक वातावरणले गोसाइँकुण्डको यात्रालाई अझ मनोरम बनाउँछ । यात्राका क्रममा तामाङ संस्कृतिसँग पनि जम्काभेट हुन्छ । 


समुद्र मन्थनबाट उत्पन्न कालकुट विषको डाह शान्त पार्न हिमालय खण्डमा आई भगवान् शिवले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा गङ्गाजल (त्रिशूल धारा) उत्पत्ति भयो । यसपछि कुण्डमा शयन गरी चिसो पानीले भगवान् शिवले विषको डाह शान्त  पार्नु भयो । यसरी त्रिशूल धाराको पानी गोसाइँ महादेवलाई सिञ्चन गर्न निस्किएको भन्ने किंवदन्ती छ । गोसाइँकुण्डमा शिवको आकृति जस्तो गेरु रङको चट्टान देखिन्छ । गोसाइँकुण्डका वरिपरि नौ कुण्ड छन् भने त्योभन्दा माथि पश्चिमपट्टि पाँच कुण्ड छन् । त्रिशूली नदीको उद्गम स्थल त्रिशूल धारा, १०८ वटा कुण्ड, तामाङ संस्कार र संस्कृति, अमरसिंह गुफा, विभिन्न गुम्बा, विभिन्न वन्यजन्तु, चराचुरुङ्गी तथा जडीबुटी आदि यस क्षेत्रका आकर्षण हुन् ।  

काठमाडौँबाट मोटरमा धुन्चे हुँदै धुन्चेबाट पैदल यात्रा गरेर गोसाइँकुण्ड पुग्न सकिन्छ । यस्तै सिन्धुपाल्चोकको मेलम्चीबाट कुटुमसाङ ठाडेपाटीको पैदल यात्रा पनि मनोरम हुन्छ । सुन्दरीजलदेखि गोसाइँकुण्डसम्मको पदयात्रा धार्मिक हिसाबले राम्रो मानिन्छ । नुवाकोटको घ्याङफेदी तालु कसेरी हुँदै पनि गोसाइँकुण्ड यात्रा गर्न सकिन्छ । मालाभन्ज्याङ, सागरकुण्ड र राउचुलीको पदयात्रा गरेर पनि गोसाइँकुण्ड पुग्न सकिन्छ ।   


शब्द/तस्बिर :सुजन गुरुङ