• ६ साउन २०८१, आइतबार

महिला उद्यमीका उत्पादन प्रवर्धनमा जोड

blog

ललितपुर, भदौ ४ गते  । ललितपुरको सानेपामा सुरु भएको छैटाैँ महिला उद्यमी व्यापार मेलामा राष्ट्रिय र अन्तर्राष्ट्रिय उत्पादन एकै थलोमा राखिएको छ । 

महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यका साथ सुरु गरिएको मेलामा एकै स्थानमा सबै सामान खरिद गर्न पाउने हुँदा अवलोकन गर्ने ग्राहकको आकर्षण बढ्दै गएको छ । महिला उद्यमी महासङ्घको आयोजनामा सुरु भएको मेलामा सात प्रदेशका ३० जिल्लामा महिला उद्यमीले उत्पादन गरेका सामान राखिएको छ । 

महासङ्घकी अध्यक्ष निरु रायमाझी खत्रीले महिला उद्यमीले उत्पादन गरेका सामानको प्रवर्धन र बजारीकरण गर्न मेला आयोजना गरिएको जानकारी दिनुभयो । देशैभरबाट उत्पादन गरेर ल्याएका सामान र अन्तर्राष्ट्रिय सामान एकै ठाउँमा भएकाले पनि मेलामा ग्राहकको आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो । “दुई दिनमै हामीले धेरै राम्रो प्रतिक्रिया पाएका छौँ, धेरै जनाले स्टल माग गरे पनि ठाउँ कम भएकाले सबैलाई समेट्न सकेनौँ,” उहाँले भन्नुभयो ।

महिलालाई व्यवसाय विकासका साथै अनलाइन बजारीकरणमा प्रोत्साहन गर्दै अन्तर्राष्ट्रिय बजारसम्म स्थानीय उत्पादन प्रवर्धन गर्न मेलाले सहयोग गर्ने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो । ग्राहकले एकै थलोबाट सबै प्रकारका सामान खरिद गर्न सक्ने र ग्रामीण क्षेत्रका महिला उद्यमीको उद्यमशीलताको पहिचान र हौसला बढाउन मेलाले सहयोग पुग्ने अपेक्षा गरिएको छ । महासङ्घको सञ्जालबाहिरका महिला उद्यमीको समेत सहभागिता छ । मेलामा सहभागी हुन विराटनगरबाट आउनुभएकी प्रमिला गौतमले सामान खरिद गर्ने ग्राहक बढ्दै गएको जानकारी दिनुभयो । “अहिलेसम्मको व्यापार राम्रो छ । हातले नै बनाइएको सामान भएकाले मूल्य अलिक बढी भए पनि गुणस्तरीय भएकाले ग्राहकले मन पराएका छन्,” गौतमले भन्नुभयो । 

यस्तै तेह्रथुमबाट आउनभएको रमिता थापाले ढाका कपडाको स्टल राख्नुभएको छ । आफ्नो स्टलमा भएका ढाकाको सारी, सल, टप्सलगायतका कपडाको बिक्री राम्रो रहेको उहाँले जानकारी दिनुभयो । यस्तै हिमाली कृषि उद्योग जुुम्लाले अर्गानिक उत्पादन खाद्यान्न, गेडागुडी, स्याउ बिक्रीमा राखेको छ । उद्योगका सञ्चालक शिवलाल रावतले अर्गानिक जुम्लाको स्याउ बढी बिक्री भएको जानकारी दिनुभयो । मार्सी, जेठोबूढो र अनदीको चामललगायत सिमी, फापर ग्राहकको रोजाइमा परेको उहाँले जानकारी दिनुभयो । समयसमयमा हुने यस्ता मेलाले बजार प्रवर्धन गर्न मद्दत पुगेको उहाँले बताउनुभयो । कृषि उत्पादन, हस्तकलाका उत्पादन, व्यापार तथा सेवा, चाडपर्व विशेष स्टल, खानेकुरा स्टल, अन्तर्राष्ट्रिय महिला उद्यमीद्वारा उत्पादित सामान गरेर मेलामा १०९ वटा स्टल राखिएका छन् । मेलामा दुई करोड रुपियाँको कारोबार हुने अनुमान गरिएको छ । 

मेलामा विभिन्न जिल्लाका महिला उद्यमीले उत्पादन गरेका रैथाने वस्तु राखिएको छ । प्रदर्शनीमा तामाका भाँडा, राडीपाखी, अलैँचीको पातको ढक्की, कफी, जुटका सामान, ऊनका सामान राखिएको छ । यस्तै प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुना सामान, हाते कागजबाट उत्पादन भएका सामान, जैविक खाद्यपदार्थ, स्वदेश तथा विदेशका खानाका परिकार, कृषिजन्य उत्पादन, पुष्प सामग्री, जडीबुटी, गरगहना, सजावटका सामानका साथै विभिन्न सेवा प्रदायक संस्थाका स्टल प्रदर्शनीमा राखिएका छन् ।