• ६ साउन २०८१, आइतबार

सडकले घरबास उठायो

blog

रामेछाप समाचारदाता

रामेछाप, भदौ ४ गते । स्थानीयवासीको सुविधाका लागि खनिएको सडकले रामेछापको मन्थली नगरपालिका–८, चिसापानीकी ६५ वर्षीया जानुका अछामीको परिवारको घरबास उठाएको छ। घरमुनिबाट मनलाग्दी रूपमा सडक खनेका कारण अछामीको पक्की घर बस्नै नहुने गरी भासिएको छ। 

जीवनभरको कमाइ र छोराछोरीको सहयोगमा रहरले गाउँमा बनाएको चारकोठे पक्की घर भासिएपछि अहिले अछामी परिवारको दिनमा भोक र रातमा निद्रा भएको छ। “छोराले गाउँमा घर नबनाऊँ भन्दाभन्दै हामी बूढाबूढीको करले घर बनाइयो, घर बनाउँदा झन्डै ५० लाख रुपियाँ खर्च भइसकेको छ, घर भासिएको भन्दै छोरोले नातिनातिनी र बुहारीलाई लिएर काठमाडौँ गएपछि हामी एक्लो भएका छौँ,” अछामीले रुँदै भन्नुभयो। 

घर जोखिममा परेको भन्दै ठेकेदारका प्रतिनिधिले घरमा नबस्नु भनेपछि अहिले मचानमा बूढाबूढी बसिरहेको र आफूहरूलाई क्षतिपूर्ति दिलाउने कुरामा भने ठेकेदार तथा सरोकारवाला निकाय मौन रहेको उहाँको गुनासो छ। अछामीजस्तै मन्थली नगरपालिका–८, चिसापानीकै ४० वर्षीया पार्वती श्रेष्ठको घर पनि सडककै कारण जोखिममा परेको छ। घरमाथिबाट नालासमेत नबनाई जथाभावी खनिएको सडकबाट बग्ने भलबाढीले श्रेष्ठको गोठ धेरै पटक पुरिसकेको छ भने घरमा समेत पटक–पटक भलबाढी पसिसकेको छ। 

“माथिदेखि सडकमा आउने भलबाढी धेरै पटक घरगोठमा पसिसकेको छ, दिउँसोको समयमा भलबाढी आउँदा त छिमेकीको सहयोगमा कटाउन सफल पनि भएका छौँ तर राति पानी परेका बेलामा चिन्ताले निद्रा हराउँछ,” श्रेष्ठले भन्नुभयो। सडक निर्माण गर्ने ठेकेदारलाई सडकमा नाला बनाउन धेरै पटक अनुरोध गर्दासमेत वास्ता नगरेको श्रेष्ठको गुनासो छ। 

लामो समयदेखि लथालिङ्ग छोडिएको मन्थली–चिसापानी–पुरानागाउँ सडकका कारण अछामी र श्रेष्ठ जस्तै मन्थली नगरपालिका–८, चिसापानीका धेरै समस्यामा छन्। विगत सात महिनादेखि सडक निर्माणको काम अलपत्र छाडेका कारण सडकको भल व्यक्तिको घर र खेतमा पसेर क्षति गरेको छ। सडक विस्तार गरिएको जखनीटारदेखि चिसापानीसम्मको भाग पनि बाढीले बगाएर खण्डहर बनेको, अधिकांश ठाउँमा नाला पुरिएको र ठाउँ–ठाउँमा पहिरो गएको छ।

मन्थली नगरपालिका–८ को जखनीटारदेखि मन्थली नगरपालिका–९, पुरानागाउँसम्मको ७ दशमलव ३६ किलोमिटर सडकको नाला तथा ग्याबिनसहित बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत कालोपत्रे गर्ने ठेक्का कान्छाराम कन्स्ट्रक्सनले पाएको थियो। गत पुस २५ गते निर्माण सम्पन्न गर्ने गरी कम्पनीले २०७७ साल असार २६ गते १७ करोड ८८ लाख ६१ हजार ८८० रुपियाँमा ठेक्का लिएको कम्पनीले हालसम्म जखनीटारदेखि चिसापानीको ठूलो पँधेरोसम्म सडक विस्तार र नाला खन्ने काम गरेको छ। 

मन्थली नगरपालिका–८ का वडाध्यक्ष गोपाल श्रेष्ठ आफू वडाध्यक्ष निर्वाचित हुनुपूर्व नै समयमा काम गर्न निर्माण व्यवसायीलाई बारम्बार अनुरोध गरेको भए पनि सुनुवाइ नभएको बताउनुहुन्छ। अझ राजनीतिक आडमा कामको म्याद थपेर कामै नगरी निर्माण कम्पनी बस्ने गरेको उहाँको भनाइ छ।