• ५ वैशाख २०८१, बुधबार

शीतभण्डार बनेपछि सहज

blog

सुर्खेत समाचारदाता

सुर्खेत, साउन ३० गते । भेरीगङ्गा नगरपालिका–१० छिन्चु, झिलेमिलेमा शीतभण्डार बनेपछि पूर्वी सुर्खेतका किसानलाई बीउ तथा बिक्रीका लागि राख्ने उत्पादन भण्डारण गर्न सहज भएको छ । शीतभण्डार नहुँदा यहाँका किसान कोहलपुर तथा नेपालगञ्जका शीतभण्डार धाउनुपर्ने बाध्यता थियो । साना किसान कृषि सहकारी संस्थाले निर्माण गरेको दुई सय मेट्रिक टन क्षमताको साना किसान कोल्ड स्टोर सञ्चालन आएपछि विशेष गरी भेरीगङ्गा नगरपालिका, लेकबेँसी नगरपालिका, गुर्भाकोट नगरपालिका तथा यस आसपासका किसानलाई निकै राहत भएको छ । 

२०७५ सालदेखि बनाउन सुरु गरिएको सो शीतभण्डार २०७७ साल मङ्सिरदेखि सञ्चालनमा आएको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष एवं शीतभण्डार सञ्चालक ज्ञानु भुसालले बताउनुभयो । उहाँका अनुसार उक्त शीतभण्डारको कुल लागत करिव तीन करोड रुपियाँ छ । 

शीतभण्डारमा आलु, प्याज, लसुन, फलफूललगायत तरकारीका बीउ भण्डारण गर्न सकिन्छ । शीतभण्डारमा राख्नका लागि प्रतिक्विन्टल ४.५० रुपियाँ शुल्क लाग्ने गर्दछ । शीतभण्डारमा चारवटा कोठा छन् । अहिले दुईवटा कोठामा आलुलगायतका तरकारी राखिएको छ भने दुईवटा खाली छन् । सञ्चालक भुसालले कृषि विकास निर्देशनालयले २० लाख रकम दिएपछि शीतभण्डारका लागि आवश्यक विद्युतीकरण गरिएको जानकारी दिनुभयो । उहाँले यहाँ शीतभण्डार स्थापना गर्नुअघि यहाँका किसान कोहलपुर, नेपालगञ्ज जानुपर्ने बाध्यता रहेको बताउनुभयो । अब भने छिन्चुमै शीतभण्डार स्थापना भएपछि सबै तरकारी, फलफूल तथा बीउ पछिसम्म पनि राख्न सकिने उहाँको भनाइ छ । शीतभण्डारमा राखिएका उत्पादक वस्तुले बेमौसममा राम्रो बजार मूल्य पाउन सक्छ । 

कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले निर्देशनालयले सहयोगले विद्युतीकरण गरिएको बताउनुभयो । उहाँले शीतभण्डार स्थापना भएपछि यस क्षेत्रका किसानले उत्पादन गरेको तरकारी, फलफूल तथा बीउ पछिसम्मलाई राख्न सहयोग पुगेको जानकारी दिनुभयो ।