• ७ वैशाख २०८१, शुक्रबार

निर्माण सुरु भएको १० वर्षपछि भेडेटारमा खानेपानी

blog

धनकुटा, साउन ३० गते । पर्यटकीय नगरी धनकुटाको भेडेटारमा लिफ्ट मार्फत खानेपानी आयोजना सञ्चालनमा ल्याइएको छ । निर्माण सुरु भएको दस वर्षपछि खानेपानी भेडेटार पुगेको हो । २०६९ सालमा  सरकारको लगानीमा सुरु भएको आयोजना निर्माण पुरा हुन एक दशकै लागेको छ । 

तीन करोड ६७ लाख रुपैयाको लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो । उक्त आयोजना स्थानीय सिरीसे सौरे र सौरे खोलावाट लिफ्ट गरी करिब डेढ किलोमिटर दुरीबाट पानी ल्याइएको छ । 

लिफ्ट मार्फत ल्याइएको पानी डाँडामा एक/एक लाख लिटरका तीनवटा ट्याङ्की र ५० हजार लिटरका दुइ र १२ हजार लिटरका तीन वटा ट्याङ्की गरी जम्मा चार लाख ३६ हजार लिटर पानी संकलन गरी वितरण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय धनकुटाका प्रमुख राजकुमार मण्डलले जानकारी दिनुभयो ।

आयोजना मार्फत साँगुरीगढी गाँउपालिका वडा नम्बर ६ भेडेटारका १४७ घर धुरीले खानेपानीबाट लाभान्वित भएका छन् । आयोजना सञ्चालन पछि भेडेटारका होटलमा हुनेगरेको खानेपानी समस्या हटेर जाने गाँउपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले बताउनुभयो । उच्च क्षेत्रमा रहेकाले भेडेटार बजारमा विगत देखिनै खानेपानीको समस्या हुँदै आएको थियो । यो आयोजना सम्पन्न भएसँगै स्थानीयबासी तथा पर्यटकलाई समेत खानेपानी सहज भएको छ । 

Author
कविराज घिमिरे

उहाँ धनकुटा हिलेबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।