• ८ वैशाख २०८१, शनिबार

सिटी र आर्सनलको लगातार दोस्रो जित

blog

गोल गरेपछि खुशी मनाउँदै म्यानचेस्टर सिटीका इल्के गुन्डोगान । तस्बिर : एएफपी

काठमाडौं, साउन २९ गते । साविक विजेता म्यानचेस्टर सिटी र आर्सनलले इङ्लिस प्रिमियर लिगका लगातार दोस्रो जित निकालेका छन् । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले बर्नमाउथलाई ४-० गोलले हरायो । अर्को खेलमा आर्सनलले लेस्टर सिटीमाथि ४-२ गोलको जित निकालेको हो । 

सिटीको जितमा इल्के गुन्डोगान, केभिन डी ब्रुएन र फिल फोडेनले एक एक गोल गर्नुभयो । सिटीले अर्को गोल बर्नमाउथका जेफर्सन लेर्माबाट आत्मघाती उपहार पाएको थियो । सिटीले १९औं मिनेटमा गुन्डोगानले गोलमा सुरुवाती अग्रता लिएको थियो ।

३१औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाउनुभयो । ३७औं मिनेटमा फोडेनले गोल गर्दै पहिलो हाफमा सिटीलाई थप बलियो बनाउनुभयो । ७९औं मिनेटमा लेर्माले आत्मघाती गोल गरेपछि सिटीले सहज जित निकालेको थियो ।

जितसँगै दुई खेलबाट ६ अङ्क बनाएको सिटी तालिकाको शीर्ष स्थानमा छ । यसअघि पहिलो खेलमा जित निकालेको बर्नमाउथले दुई खेलबाट तीन अङ्क बनाएको छ । बर्नमाउथ १०औं स्थानमा छ । 

यस्तै आर्सनललाई जिताउन गाब्रियल जेससले दुई तथा ग्रानिट जाका र गाब्रियल मार्टिनेलीले एक एक गोल गर्नुभयो । लेस्टरका विलियम सालिबा र जेम्स म्याडिसनले एक एक गोल फर्काउनुभयो । जितसँगै दुई खेलबाट ६ अङ्क बनाएको आर्सनल दोस्रो स्थानमा छ । लेस्टरको समान खेलबाट एक अङ्क छ ।

शनिबार रातिनै भएको अर्को खेलमा बलियो टोली म्यानचेस्टर युनाइटेड ब्रेन्टफर्डसँग उसैको मैदानमा ४-० गोलले पराजित भएको छ । अर्को खेलमा एस्टन भिल्लाले एभर्टनलाई २-१ गोलले हराएको छ ।

अन्य खेलमा साउथह्याम्पटन र लिड्स युनाइटेडले २-२ एवं ब्राइटन र न्युक्यासल युनाइटेड तथा वल्भ्स र फुलहामले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । एजेन्सी