• ७ वैशाख २०८१, शुक्रबार

राजमार्गका सीसी क्यामरा मर्मत गरिएन

blog

घोडाघोडी समाचारदाता

घोडाघोडी, साउन २९ गते । कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म जडान गरिएका १६८ वटा सीसी क्यामरा बिग्रिएको छ महिना बित्दा पनि मर्मत गर्ने चासो कहीँबाट हुन सकेको छैन । सो क्यामरा जडानपछि सो क्षेत्रको अपराध अनुसन्धानमा महत्त्वपूर्ण सहयोग पुग्दै आएको थियो ।

लम्की इलाका प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख शङ्कर खड्काका अनुसार सीसी क्यामरा बिग्रेको पाँच÷छ महिना बित्दा पनि मर्मत हुन सकेको छैन । सीसी क्यामरा बिग्रिएको र मर्मतका लागि पत्राचार गरिए पनि कतैबाट चासो व्यक्त हुन सकेको छैन । चिसापानी क्षेत्रमा जडान भएका छवटामध्ये दुईवटा सीसी क्यामरा बिग्रेका छन् । चुहा क्षेत्रमा १२ वटा सीसी क्यामरा जडान गरेकोमा हाल दुईवटाले मात्र काम गरेको बताइन्छ । बौनिया क्षेत्रमा जडान भएका नौवटामध्ये तीनवटाले काम गरेको छैन । सुखड क्षेत्रमा जडान भएका नौवटा सीसी क्यामरा सबैले काम गर्न छोडेको बताइन्छ । चौमाला क्षेत्रमा जडान भएका छवटा सीसी टिभी क्याम्मरामध्ये तीनवटा चट््याङ लागेर बिग्रेको जनाइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कैलाली र कञ्चनपुरका राजमार्ग क्षेत्रमा सीसी क्यामरा जडान गरेको थियो । राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटनालगायत अन्य आपराधिक क्रियाकलापको रेकर्ड राख्न र नियन्त्रण गर्न सीसी क्यामराले महìवपूर्ण सहयोग पु¥याएको बताइन्छ । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख लक्ष्मणबहादुर शाहीले बिग्रेका सीसी क्यामरा बनाउन आग्रह गरिए पनि कसैले चासो नदिएको बताउनुभयो । नगरपालिकाले थप चारवटा सीसी क्यामरा जडान गरिदिएकोमा त्यो पनि दुईवटा बिग्रेको प्रमुख शाहीले जानकारी दिनुभयो । 

हावाहुरीका कारण तार चुडिने, चट्याङ लागेर तथा तोडफोडका कारण सीसी क्यामरा बिग्रेको बताइएको छ । इलाका प्रहरी कार्यालय मसुरियाले बिग्रेका सीसी क्यामरा स्थानीय सरकारको सहयोगमा मर्मत गराई प्रयोगमा आएको जानकारी दिएको छ । 

चिसापानीदेखि गड्डाचौकी, अत्तरियादेखि धनगढीसम्म मुख्यमुख्य ठाउँमा एक करोड ७२ लाख रुपियाँमा १६८ वटा सीसी क्यामरा जडान गरिएको थियो । सो कार्यको ठेक्का पाएको कम्पनीले एक वर्षसम्म मर्मत सम्भारको जिम्मा लिएको थियो । यद्यपि, एक वर्ष बितेपछि बिग्रेका क्यामरा मर्मतमा अर्काको मुख ताक्दा ढिलाइ भएको मन्त्रालयको भनाइ छ । आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले सीसी क्यामरा जडानले सबैभन्दा सहज प्रहरी प्रशासनलाई भएको बताउनुभयो । सानोतिनो मर्मत सम्भार प्रहरी प्रशासनले नै स्रोत जुटाएर गर्नसक्ने मन्त्री रावलले बताउनुभयो । सीसी क्यामरा रेखदेख र संरक्षणको जिम्मा विभिन्न ठाउँमा रहेका इलाका प्रहरी कार्यालयलाई दिइएको छ ।