• ९ साउन २०८१, बुधबार

इको कवितामा रमाउने कवि

blog

काठमाडौँ, साउन २७ गते । साहित्य सिर्जनामा जाने भन्ने कुरा आफूले चाहेर मात्र नहुने बताउनुहुन्छ कवि आनन्द भण्डारी। उहाँ भन्नुहुन्छ, “यहाँ सिर्जनालाई सृष्टिको हिसाबले हेरिने गरिन्छ। त्यस्तै साहित्यलाई एउटा दृष्टिको हिसाबले हेरिन्छ। समय परिस्थिति, बाहिरी वातावरण र आफ्नो अन्तरीय मनले सृष्टिलाई प्रस्फुटन गर्छ। आफूलाई एकदमै ठूलो साहित्यकारको विज्ञ हुँ भनेर मैले कहिले भनिनँ र भन्ने आँट पनि गर्दिनँ। म त खाली सिकारु हुँ।” भण्डारी साहित्य सिर्जना गर्नु भनेको प्राकृतिक स्वभाव भएको बताउनुहुन्छ। जसमा विभिन्न अनुभव, अनुराग र चैतन्यहरूलाई एक खालको अनुभूतिको उपज दिने काम गर्छ। त्यही उपजले एउटा सिर्जना सोच बनाउँछ र त्यसैलाई हामीले शब्द भावमा उतार्ने हो। उहाँ भन्नुहुन्छ, “जब आफ्नो विचार भाव शून्य अवस्थामा आउँछ त्यसपछि सिर्जनाहरू फक्रिने काम गर्छन्। यो एउटा चैतन्यको सिर्जना पनि हो जुन एउटा बाहिरी वातावरणको असर पनि हो।” 

म आफूलाई एउटा कविका रूपमा भन्दा पनि यथास्थितिवादमा आफ्नो भित्री मनमा उब्जेका कुरा एउटा शब्दमा यताउता केलाएर लेख्ने काम गर्छु। अहिलेसम्म आफ्ना कुनै कविता छन्दमा नभएको उहाँको भनाइ छ। पर्यावरणविद् भएकाले नै होला पर्यावरण संरक्षणमा होमिएका कवि आफ्ना कविता परिस्थितिलाई झल्काउने र सुझाव दिने खालको भएको प्रस्ट्याउनुहुन्छ। २००६ बाट कविता सिर्जनामा लाग्नुभएका भण्डारीलाई इको पोएट अर्थात् पर्यापर्यावरण कवि भन्ने गरिन्छ। उहाँका कविता प्रायः धेरै पर्यापर्यावरणसम्बन्धी नै हुने गरेको छ। 

भण्डारीले कहिले आफ्नो प्रचारका लागि कविता लेख्नुभएन। त्यसैले पनि उहाँ आफूलाई पर्यापर्यावरण कवि भन्न रुचाउनुहुन्छ। उहाँलाई यसमा बढी झुकाव हुनुको कारण भने उहाँको पढाइ, लेखाइ, सोच र कर्मक्षेत्र नै भएको हुनाले पनि हो र अर्को कुरा यहाँ पर्यापर्यावरणमा लेख्न कविहरू खासै नभएको पनि उहाँले महसुस गरेको बताउनुभयो। त्यसैले पनि भण्डरीले विभिन्न व्यक्तित्वका जीवनी अध्ययन गर्न थाल्नुभयो। उहाँहरूले लेख्नुभएका लेख र कविता पढ्न थाल्नुभयो र उहाँले कसैको लेख र कवितामा पर्यापर्यावरणसम्बन्धी कविता पाउनुभएन। त्यसपछि आफूभित्र यससम्बन्धी कविता लेखौँ न त भन्ने सोच आएर पर्यापर्यावरण जसलाई अङ्ग्रेजीमा इको कविता भन्ने गरिन्छ, लेख्न थाल्नुभयो। इको कविताको लेखन धेरै अगाडिबाट सुरु त भएको हो तर त्यो समयमा पर्यापर्यावरणमा लेखिने कविता अलि कम हुने गर्थे। त्यसैले पनि परिस्थितिले त्यसलाई असर पारिरहेको उहाँको भनाइ छ। त्यो समय पर्यापर्यावरण कविता विदेशी कविहरूबाट लेख्न सुरु भएको भण्डारी बताउनुहुन्छ। सन् १९८० मा रोबर्ट फोर्सले पहिलो इको कविता लेखेको उहाँले सुनाउनुभयो। अहिले पर्यापर्यावरणसम्बन्धी कविता एकदमै कम भेटिने भण्डारी बताउनुहुन्छ। त्यसैले पनि आफू यसलाई उजागर गर्न लागेको उहाँको भनाइ छ। 

उहाँ कवि मात्र होइन गीतकार पनि हुनुहुन्छ। उहाँको पहिलो रेकर्ड भएको गीत ‘हराएका मेरा खुसी खोजिरहेछु तिमीभित्र’ थियो भने निजगढको जङ्गल जोगाऊँ अभियानको विषयलाई लिएर उहाँले ‘बचाउँ निजगढ’ भन्ने गीत पनि हालसालै निकाल्नुभएको छ। उहाँ निजगढको जङ्गल जोगाउने अभियानको एउटा प्रमुख अभियानकर्ता पनि हुनुहुन्छ। धनकुटामा जन्मनुभएका भण्डारी कविता लेख्न गहन विषय, सोच र अध्ययनको आवश्यकता पर्ने बताउनुहुन्छ। थुपै्र कविता लेखिसक्नुभएका भण्डारी भन्नुहुन्छ, “एउटा यस्तो समय थियो जुन बेला साहित्य हराइसकेको थियो तर अहिले छोटो तरिकाले आफ्ना मनका कुरा राख्ने माध्यम बनेको छ, साहित्य।”