• १६ चैत २०८०, शुक्रबार

राष्ट्रिय परिचयपत्र बनाउन भीड

blog

प्युठान समाचारदाता

प्युठान, साउन २७ गते । राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीको भीड बढेपछि जिल्ला प्रशासन कार्यालयले बारअनुसार स्थानीय तहको तालिका बनाएको छ । दैनिक ४० जनाले सेवा लिने गरी टोकन व्यवस्था गरेर कार्यालयले सेवा दिए पनि सेवाग्राहीले भने परिचयपत्र बनाउन सास्ती भोग्दै आएका छन् ।

“४० जनाको टोकन हुँदो रहेछ, एक जना सेवाग्राहीले भन्नुभयो, प्रशासनमा आइपुग्दा टोकन सकिएको हुन्छ,” राहदानीका लागि राष्ट्रिय परिचय पत्र बनाउनका लागि तीन पटक प्रशासनमा आउनुपरेको ती सेवाग्राहीको गुनासो छ ।

जिल्लाका नौवटा स्थानीय तहलाई बारअनुसार तालिका बनाएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो । सेवाग्राहीको समस्यालाई मध्यनजर गरी टोकन सकिएको अवस्थामा अर्को साताका लागि सोही दिन टोकन दिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी नेपालले इलाका प्रशासन कार्यालय जस्पुरबाट समेत राष्ट्रिय परिचयपत्र बनाउनका लागि पहल गर्दै आएको जानकारी दिनुभयो । जसपुरबाट सेवा प्रवाह भएमा तीन पालिकाका सेवाग्राहीलाई सहज हुन्छ । जसपुरबाट सेवा प्रवाह गर्ने विषयमा विभागसँग छलफल भइरहेको उहाँले बताउनुभयो । राष्ट्रिय परिचयपत्रसँगै राहदानीका लागि समेत सेवाग्राहीले सास्ती भोगेको बताएका छन् । उनीहरूले अनलाइनबाट फर्म भर्नुपर्ने भएकाले अनलाइन नखुल्दा हप्तौँसम्म काम नहुने समस्या रहेको गुनासो गरेका छन् । उक्त विषयमा पनि आफूले सहजीकरण गर्दै आएको प्रजिअ नेपालको भनाइ छ ।