• ५ साउन २०८१, शनिबार

पहिले पायक अहिले अपायक

blog

कविराज घिमिरे

हिले (धनकुटा), साउन २७ गते । विद्यालयको पठनपाठनका लागि सहज होस् भन्ने उद्देश्यले गोकुण्डेश्वर माध्यमिक विद्यालय धनकुटाको सल्लेरी वन नजिक निर्माण गरिएको भवन अहिले प्रयोगविहीन भएको छ। भूकम्प पुनर्निर्माण प्राधिकरणले लाखौँ रुपियाँ खर्चिएर निर्माण गरेको भवन अपायक भएको भन्दै प्रयोगविहीन बनाइएको हो।

२०७२ सालको भूकम्पबाट जोखिमपूर्ण रहेको भन्दै प्राधिकरणले विद्यालय भवन निर्माण गर्ने क्रममा धनकुटा नगरपालिका–६ स्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयको लागि करिब ६८ लाख ५० हजार रुपियाँमा निर्माण गरिएको चार कोठे भवन निर्माण सम्पन्न भएपछि भने प्रयोगविहीन भएको छ। भवन निर्माण सम्पन्न भएको दुई वर्ष बित्दासमेत सञ्चालनमा आउन सकेको छैन। 

कोसी राजमार्गमै जोडिएको गोकुण्डेश्वर माविमा ध्वनि प्रदूषणका कारण पढाइमा समस्या भई रहदासमेत शान्त ठाउँमा बनेको भवन प्रयोगविहीन भएको छ। विद्यायलमा यातायातको ध्वनि प्रदूषणले पठनपाठनमा समस्या भएका कारण भवन माग गरी केहि वर्षअघि सोही विद्यालयमा गाभिएको सल्लेरी वनभित्रको सरस्वती प्राविको हातामा विद्यालय भवन निर्माण गरिएको विद्यालयले जनाएको छ। अहिले विद्यालयलाई त्यही भवन अपायक भएको विद्यालयका प्रध्यानाध्यापक यज्ञप्रसाद चापागाईंको भनाइ छ । उहाँ भन्नुहुन्छ, “पहिले शौचालय र अर्को भवनसमेत निर्माण गर्छौ भनेर यो भवन बनाइयो तर अहिले कक्षा कोठा र शौचालयको अभावले कक्षा सञ्चालन गर्न समस्या भयो।” 

उक्त भवनमा कक्षा सञ्चालन गर्न कक्षा कोठा पनि पुग्दैन, दुईतिर गरेर पढाउन पनि समस्या छ,” चापागाईंले भन्नुभयो। अघिल्लो वर्ष कोभिड र विभिन्न बिदालगायतका कारण सो भवन सञ्चालन गर्न नसकिएको उहाँको भनाइ छ। त्यस्तै भवन उद्घाटनको अनुकूल समय नभएर, बाटोको समस्या, विद्यालय निर्माण भए पनि शौचालय नभएको तथा थप भवन नभएकोले कक्षा सञ्चालन गर्न नसकिएको विद्यालयका प्रध्यानाध्यापक चापागाईंले बताउनुभयो । थप भवन र शौचालय निर्माणको माग गरेकाले सो भएपछि सञ्चालनमा त्याउने उहाँको भनाइ छ। हाल सञ्चालन भइरहेको विद्यालय भवनबाट नयाँ निर्माण गरिएको भवनको दूरी एक किलोमिटरभन्दा बढी छ। 

जिल्लामा भूकम्प प्राधिकरणमार्फत १०३ वटा भवन निर्माण भएका थिए। सबै भवन निर्माण सम्पन्न गरी सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिसकेको छ। शिक्षा समन्वय समिति धनकुटाले भने नयाँ भवन भर्खरै मात्र आफू मातहतमा आएको र सो भवनमा कक्षा सञ्चालनको लागि पहल गरिने जनाएको छ। “गोकुण्डेले आफ्नो पुरानो भवन सडकको मापदण्डमा पर्ने भएकाले सो नयाँ भवन माग गरेको रहेछ तर अहिलेसम्म सञ्चालनमा ल्याएको छैन, चाँडो सञ्चालनमा ल्याउनुपर्छ,” शिक्षा समन्वय कार्यालय धनकुटाका प्रमुख मोहन राईले भन्नुभयो। जिल्लाका अन्य धेरै विद्यालयले नयाँ भवन अभावमा पुराना भवनमै पठनपाठन गराइरहेका छन्, यहाँ नयाँ भवन बनाएर पनि नपढाइ राख्न त भएन, राईको भनाइ छ।