• ५ साउन २०८१, शनिबार

बाल मन्दिरको जग्गामा नगरपालिकाको व्यापारिक भवन

blog

राजकुमार भट्टराई 

खोटाङ, साउन २७ गते । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आन्तरिक स्रोतका रूपमा बाल उद्यानसहितको ‘सपिङ कम्प्लेक्स’ निर्माण गरेर गत फागुन ३ गते तामझामसाथ उद्घाटन ग-यो। भवनको तल्लो तलामा १४ वटा सटर, माथिल्लो तलामा रेस्टुरेन्ट र हलसहित झट्ट हेर्दा नगरपालिकाको गतिलो आम्दानीको स्रोत बन्ने देखिएको थियो। 

अझ सपिङ कम्प्लेक्सको पछाडिको भागमा तयार भएको बालबालिका उद्यान, स्वीमिङ पुल, कोलम्बस राइड (पिङ), स्वीङराइडलगायतका संरचनाले सुनमा सुगन्ध थपिएको भनेजस्तै देखिन्थ्यो। नगरले निर्माण गरेको उक्त संरचनाको चौतर्फी प्रशंसा भएर पनि यतिबेला उक्त ‘सपिङ कम्प्लेक्स’ विवादमा फसेको छ। 

निर्माण सम्पन्न भएको छ महिना नबित्दै वर्षाले संरचना भासिएपछि केही समय अगाडि विवादमा आएको कम्प्लेक्सको जग्गा नेपाल बाल मन्दिरको नाममा रहेको खुलेको छ। नगरपालिकाले आफ्नो आन्तरिक आय स्रोतका लागि भन्दै निर्माण गरेको संरचना अर्कैको नाममा हुनुले कम्प्लेक्स विवादमा फसेको हो।  

कम्प्लेक्स निर्माण गरिएको जग्गा हालको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ (साविकको दिक्तेल गाविस–४, रत्नपार्क) स्थित कित्ता नम्बर ११६४ को एक रोपनी सात आना तीन पैसा दुई दाम क्षेत्रफल नेपाल बाल मन्दिरको नाममा रहेको मालपोत कार्यालय खोटाङले पुष्टि गरेको छ। आफ्नो नाममा रहेको जग्गा बिनाअनुमति नगरपालिकाले संरचना बनाएको भन्दै उक्त संस्थाले आपत्ति जनाएको छ। 

संस्थाको भनाइअनुसार नै उक्त जग्गा नगरपालिकाको मातहतमा नभई अहिलेसम्म बाल मन्दिरकै नाममा रहेको मालपोत कार्यालयले पुष्टि गरेको हो। बिनाअनुमति संरचना निर्माण भएको भन्दै संरचना निर्माण कार्य रोक्न पटक–पटक पत्र पठाउँदा पनि नगरपालिकाले बेवास्ता गरेको संस्थाको भनाइ छ। संरचना निर्माण सम्पन्न भएर सञ्चालनमा आएको पाँच महिनापछि जग्गा अतिक्रमण रोक्का सम्बन्धमा असार २६ गते संस्थाको चलानी नम्बर ७८ राखिएको पत्र नगरपालिकामा आएको पाइएको छ। 

संस्थाका प्रमुख कार्यकारी अधिकृत अजयकुमार शाहको हस्ताक्षर रहेको पत्रमा भनिएको छ, “नगरपालिका कार्यालयलाई कानुनविपरित गरिएको कार्य रोक्का गर्नको लागि पत्राचार गरिएकोमा हालसम्म पनि उक्त पत्रको प्रतिउत्तर प्राप्त नभएको हुँदा के कति कारणले अनाथ बालबालिकाको हकहितको जग्गामा जनप्रतिनिधिमूलक संस्थाले बिनाअनुमति व्यावसायिक भवन बनाई भाडामा समेत लगाएर अनधिकृत प्रयोग गरेको हुँदा यथाशीघ्र नेपाल बाल सङ्गठन बाल मन्दिरको जग्गा फिर्ता गरी सहयोग गरिदिनुहुन अनुरोध गर्दछु।” 

नगरपालिकाले एउटै छानामुनि नुनदेखि सुनसम्मका व्यवसाय सञ्चालन गरेर भाडाबापत मासिक न्यूनतम दुई लाख रुपियाँ सङ्कलन गर्ने उद्देश्य राखेर सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क निर्माण गरेको जनाएको थियो। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको  साझेदारीमा चार करोड ३७ लाख ८४ हजार ७५१ रुपियाँमा उमा–लामा–अनसुबी जेभी निर्माण कम्पनीले संरचना तयार पारेको हो। 

एक वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएअनुसार २०७८ साल जेठ ६ गते भवनको शिलान्यास गरिएको थियो। सम्झौता अगावै भवन निर्माण सम्पन्न भएपछि ०७८ फागुन ३ गते तत्कालिन नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले भवनको उद्घाटन गर्नुभएको थियो। सम्झौता अगावै भवन निर्माण सम्पन्न गरेको भन्दै निर्माण कम्पनीलाई नगरपालिकाले पुरस्कृतसमेत गरेको थियो। 

जग्गा अर्कैको नाममा भए पनि भवन निर्माण कार्य र सोबापतको सम्पूर्ण भुक्तानी भइसकेको छ। तर भवन निर्माण सम्पन्न भएको छ महिना नबित्तै वर्षाले भवनका पर्खाल भासिएका छन् भने बाल मन्दिरले आफ्नो नाममा रहेको जग्गा फिर्ता गर्न नगरपालिकालाई ताकेतापत्र पुनः पठाएको छ।