• ११ वैशाख २०८१, मङ्गलबार

टेम्पु चालकको हत्या आरोपित पाँच जना पक्राउ

blog

टेम्पु चालकको हत्या आरोपमा पक्राउ परेका।तस्बिर : महेशकुमार दास

महेशकुमार दास 

जलेश्वर, साउन २६ गते। टेम्पु चालक अर्जुन साहको हत्या आरोपमा महोत्तरी प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। साउन २० गते महोत्तरी लोहारपट्टी नगरपालिका -८ भगवानपुर चौरस्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडकमा अर्जुन साहको शव भेटिएको थियो।

हत्या घटनाको अनुसन्धान गरिरहेको प्रहरीले शुक्रबार पाँच जनालाई सार्वजनिक गरेको हो।महोत्तरी प्रहरीले लोहारपट्टी नगरपालिका -४ घर भएर जनकपुर -७ मा बस्ने ३२ वर्षीय जितकुमार यादव, लोहारपट्टी नगरपालिका -४ घर भएर जनकपुर डेरा गरेर बस्ने २१ वर्षीय कृष्ण यादव, जनकपुर - १८ घर भएका २५ वर्षीय  सन्तोष कुमार, धनुषा औरही गाउँपालिका -२ पौडेश्वर घर भएर क्षिरेश्वरनाथ नगरपालिका - २ महेन्द्रनगर डेरा गरेर बस्ने २१ वर्षीया प्रमिला महरा र औरही नगरपालिका -२ पौडेश्वर घर भएर क्षिरेश्वरनाथ नगरपालिका -३ महेन्द्रनगरमा बस्ने बिगुल मुखिया विनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिनुभयो।

जितकुमार यादवका भाइ कृष्ण यादव र बिगुल मुखियाकी श्रीमती २१ वर्षीया  प्रमिला महराको पूर्व योजना अनुसार जितकुमार यादव र सन्तोष साहले अर्जुन साहलाई रिजर्भमा जाने भनेर टेम्पोमा भित्री सडकमा लगेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

 महोत्तरीको लोहारपटी नगरपालिका -८ भगवानपुर चौरस्थित भ्रमरपुराको भित्री सडकमा दुवै जना मिलेर गम्छाले घाँटीमा पछाडिबाट पासो लगाएर हत्या गरेपछि शव नहरमा फालेको प्रहरी बयानबाट खुलेको छ।

करिव एक वर्ष पहिले प्रमिला महरा र उनका श्रीमान् विगुल मुखिया र कृष्ण यादवले अर्जुनको घरबाट एक लाख नगद र सुनको गरगहना चोरी गरेको थियो।

घटना भएको ६ महिना पश्चात मृतक अर्जुनको आमाले प्रमिला महरा  र कृष्ण यादवले चोरी गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी गर्छु भनेपछि आपसी छलफलपछि उक्त रकम तिर्न विगुल मुखियाले एक लाख १७ हजार र कृष्ण यादवले दुई लाख ४६ हजारको कागज (तमसुक) बनाएर उनीहरु बेपत्ता भएका थिए।

केही साता अगाडि मात्र उनीहरुलाई अर्जुनकी आमाले जनकपुरमा फेला पारेर तमसुक बमोजिमको पैसा नतिरे प्रहरीमा उजुरी गर्छु भनेर डर देखाएकी थिइन्।

सोही रिसले प्रमिला, उनका श्रीमान बिगुल र कृष्ण यादवले मृतक अर्जुन साह र उनको आमालाई मारेर सुनको गरगहना, घरमा रहेको नगदसहित तमसुक समेत लुटने योजना बनाएका थिए।

कृष्ण यादवले पूर्व योजना अनुसार जितकुमार यादव र सन्तोष कुमारलाई अर्जुनलाई हत्या गरे ३० हजार दिने प्रलोभन देखाएको र सोही योजना अनुसार साउन २० गते जितकुमार यादवले अर्जुन साहलाई फोन गरेर टेम्पो भाडामा लाने बताएका थिए।

सोहि दिन साँझ उनीहरुले योजनावद्ध ढंगले हत्या गरेको खुलेको प्रहरी उपरीक्षक पंगेनीले बताउनुभयो। शव फालेर आरोपी फरार हुन खोजे पनि टेम्पो जनकपुर -७ मुसहरी टोलमा टेम्पो फसेपछि त्यही छोडेर भागेका थिए।

पाँचै जनालाई क्षिरेश्वरनाथ नगरपालिका-३ महेन्द्रनगरबाट लुकिछपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।घटनाको विभिन्न पक्षबाट अनुसन्धान भइरहेको पंगेनीको भनाइ छ।