• १३ साउन २०८१, आइतबार

खानेकुराको स्राेत पहिचान नहुँदा स्वास्थ्य समस्या जटिल : महानायक हमाल

blog

महानायक राजेश हमाल : फाइल तस्बिर

काठमाडौं, साउन २६ गते । महानायक राजेश हमालले खानेकुराको स्राेत पहिचान गर्न नसक्दा स्वास्थ्यसम्बन्धी जटिल समस्या सिर्जना भइरहेको भन्दै सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

बिहीवार नेपाली उपभोक्ता संरक्षण महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशन तथा स्थापना दिवसलाई सम्बोधन गर्नुहुँदै महानायक हमालले सो कुरा बताउनुभएको हो । आधुनिकताको पछाडि दौडिने क्रममा स्वदेशमै उत्पादित खाद्य सामग्रीको प्रयोग कम गर्न थालेको उहाँको भनाइ छ ।

हमालले हेर्दा आकर्षक देखिने खाद्य सामग्री एवम् लत्ताकपडाहरु भन्दा स्वदेशमा नै उत्पादित खानेकुरा र लगाउने लुगा राम्रो र स्वास्थ्यवर्धक हुने बताउनुभयो ।

गुणस्तरयुक्त खानेकुराको कमीका कारण स्वास्थ्यमा गम्भीर समस्या पैदा भइरहेको र उपभोक्ताले आफ्नो अधिकार र शक्तिलाई बिर्सिएर आधुनिकतामा बहकिन थालेको उहाँ बताउनुहुन्छ ।

कुनै विज्ञापन र सामाजिक सञ्जालमा आकर्षक देखिएकै भरमा नलाग्न उहाँले सचेत गराउनुभयो ।

स्वास्थ्यमा खतरा भइसक्दा समेत कोही पनि नेपाली सचेत हुन नसकेको भन्दै उपभोक्ता संरक्षण महासङ्घले यसमा पहलकदमी थाल्नुपर्छ ।

उहाँले बाहिरी आवरणलाई हेरेर नभइ सामग्रीको गुणस्तर र स्वास्थ्यका लागि लाभदायी कुराहरुको मात्रै प्रयोग गर्न आवश्यक रहेको बताउनुभयो ।