• १६ चैत २०८०, शुक्रबार

समानुपातिक निर्वाचन कार्यक्रम भदौ ८ गतेदेखि सुरु

blog

काठमाडौं, साउन २६ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको समानुपातिकतर्फको निर्वाचन कार्यक्रम भदौ ८ गतेदेखि सुरु हुने भएको छ ।

निर्वाचन आयोगको बुधबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची असोज २  र ३ गते पेश गर्नुपर्ने समय निर्धारण गरेको छ । दलहरुले बन्दसूची बुझाएसँगै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिनेछ ।

त्यस्तै, भदौ १० देखि १२ गतेसम्म दलहरुले निवेदन पेश गर्नुपर्ने हुन्छ भने भदौ १५ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न प्रदान गर्ने आयोगको तालिका छ ।

प्रवक्ता पौडेलले उम्मेदवारको बन्दसूचीको सूचना असोज २२ मा प्रकाशन गर्ने कार्यसूची रहेको जानकारी दिनुभयो ।