• ५ साउन २०८१, शनिबार

गाडी तोडफोडपछि फोहोर व्यवस्थापन प्रभावित

blog

काठमाडौं महानगरपालिकाका सवारी साधनमा तोडफोड

काठमाडौं, साउन २४ गते । काठमाडौं महानगरपालिकाका सवारी साधनमा तोडफोड भएपछि मङ्गलवार फोहोर व्यवस्थापनको काम प्रभावित भएको छ ।

सोमवार राति ९ बजे फोहोर बोकेर गएको गाडीमा तोडफोड भएको थियो । काठमाडौं महानगरपालिकाका अनुसार तोडफोड गरिएका सवारी साधन र उपकररण काम नलाग्ने भएपछि आज फोहोर व्यवस्थापनको काम हुन नसकेको हो । 


बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा परिचालन हुने महानगरपालिकाका दुई वटा डोजर र एउटा एस्काभेटर तथा काठमाडौंबाट फोहोर बोकेर गएका थिए । तर रात परेपछि फोहोर खन्याउन नपाएका आलेटार नजिक पार्किङ गरी राखिएका गाडीहरु तोडफोड भएको हो ।

महानगरको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राई भन्नुहुन्छ, “राती ९ बजे भएको घटनाको यो प्रारम्भिक जानकारी हो । हामीले जिल्ला प्रहरी कार्यालय नुवाकोट र धादिङलाई क्षतिको विवरण पठाउन पत्राचार गरेका छौँ । त्यहाँबाट पत्र आएपछि वास्तविकता एकिन हुन्छ ।”


पछिल्लो सूचना बारे जानकारी दिनुहुँदै उहाँले भन्नुभयो, “स्थानीय प्रहरीबाट अहिले मुचुल्का उठाउने काम भइरहेको जानकारी प्राप्त भएको छ ।”

तोडफोड गरिएका सवारी तथा उपकरणहरुमध्ये क्यापिङ गर्ने र फोहोर फाल्ने काममा प्रयोग हुने डोजर र एक्साभेटर चलाउनै नसकिने गरी फोडिएका छन् । यस्तै, रोकेर राखिएका गाडीहरुको सिसा फोडिएको छ ।

घटनाका बारेमा महानगरका प्रमुखको सचिवालय सदस्य इञ्जिनियर सुनिल लम्साल भन्नुहुन्छ, “महानगरमा वालेन्द्र साह प्रमुखका रुपमा निर्वाचित भएर आएदेखि नै अवरोध हुँदै आएको छ । सुरुवातमा हामीले मुख्य समस्या भनेको सडक हो भन्ने बुझेर त्यही अनुसार काम गर्‍यौं । यसका लागि सडक विभागलाई नियमित कामका लागि दवाव दिँदै गयौं । यसरी काम गरिरहँदा हामीलाई के जानकारी भयो भने अवरोध हुनुको पछाडि फोहोर र पूर्वाधार निर्माणसँग सम्बन्धित स्थानीय व्यवसायको सम्बन्ध छ ।”


उहाँले सबै स्थनीयको नभई केही स्थानीय खुलेर माग राख्न नसकेको उल्लेख गर्नुभयो । तोडफोडको श्रृङ्खला यसैको उपज रहेको भन्नुहुदै उहाँले समय क्रममा सबै कुरा बाहिर आउने पनि बताउनुभयो ।

“अहिले यति भनौं, आन्दोलनरत पक्षले आफ्नो व्यवसायबाट ढुङ्गा खरिद गराउन चाहन्छन् । मल कारखाना त्यही क्षेत्रमा बनाउन चाहन्छन् । वासिङ् सेन्टर आफू अनुकूल सञ्चालन गराउन चाहन्छन् ।

लम्साल भन्नुहुन्छ, ‘‘हाम्रो प्राथमिकता भनेको लिचेड व्यवस्थापन हो । दुर्गन्ध हटाउनु हो । झिँगालगायत कीराहरुको फैलावट रोक्नु हो । हामी प्रणालीमा काम गर्न चाहन्छौँ । प्रभावित क्षेत्रको वातावरण र जनस्वास्थ्यप्रति जिम्मेवार भएर काम गर्न चाहन्छौं ।”