• ११ वैशाख २०८१, मङ्गलबार

अनियमितताको खोजी गर्न मुख्यमन्त्रीको निर्देशन

blog

धनगढी, साउन २४ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बैतडीको मेलौली नगरपालिका–८, कोटिगाउँको भम्ता–खोरडा मुख्यमन्त्री नमुना कृषि गाउँको अवस्थाबारे विस्तृत अध्ययन गरेर जानकारी दिन भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीलाई निर्देशन दिनुभएको छ । 

“मैले आजको गोरखापत्र दैनिकमा मुख्यमन्त्री नमुना कृषि गाउँ बाँझो रहेको भन्ने समाचार पढ्ने बित्तिकै मन्त्रीलाई कृषि गाउँ बाँझो रहनाको कारणबारे बुझ्न भनिसकेको छु”, गोरखापत्रसँगको कुराकानीमा उहाँले भन्नुभयो ।

मुख्यमन्त्रीले भन्नुभयो, “लिफ्ट सिँचाइ र तरकारी खेतीका लागि तीन आर्थिक वर्षको अवधिमा दुई करोड ४३ लाख रुपियाँ खर्च भए पनि कृषि गाउँ बाँझै भन्ने खालको समाचार पढेँ त्यस्तो अवस्था कसरी आयो ? सचिवलाई हुन्छ कि कसलाई हुन्छ खटाएर, बुझेर जानकारी दिन मन्त्री चौधरीलाई निर्देशन दिइसकेको छु ।” उहाँले, मुख्यमन्त्री नमुना कृषि गाउँ बनाउने क्रममा कुनै अनियमितता भएको भए क्षम्य नहुने पनि बताउनुभयो । “मुख्यमन्त्री नमुना कृषि गाउँमा सिँचाइ डिभिजन कार्यालय पाटन, बैतडी पनि संलग्न छ भन्ने कुरा समाचारमा देखिन्छ त्यो कार्यालयलाई पनि यथार्थ विवरण पठाउन भनिसकेको छु”, मुख्यमन्त्री भट्टले जानकारी दिनुभयो । 

उहाँले सुदूरपश्चिमका हिमाल, पहाड, तराई सबैतिर मुख्यमन्त्री नमुना कृषि कार्यक्रम राम्रो भएको तर बैतडीको मात्रै नराम्रो खबर आएको बताउनुभयो । बीउ उत्पादनमा त सुदूरपश्चिम देशभर दोस्रो भएको उहाँले दाबी गर्नुभयो । 

गोरखापत्रले कृषि ज्ञान केन्द्र र सिँचाइ डिभिजन कार्यालय पाटनले बैतडीको मेलौली नगरपालिका–८, कोटिगाउँको भम्ता–खोरडा मुख्यमन्त्री नमुना कृषि गाउँका नाममा तीन वर्षमा दुई करोड ४३ लाख रुपियाँ खर्च गर्दा पनि तरकारी खेती सुरु नभएको, तरकारी खेतीका लागि गाडिएका फलामका खम्बामा खिया लागेको समाचार प्रकाशित गरेको थियो ।