• १५ चैत २०८२, आइतबार

‘मिन्हीघर’ मार्फत थारू पहिचानको संरक्षण र प्रवर्द्धन

blog

तुलसीपुर–६ स्थित थारू मिन्हीघर। तस्बिरः सन्तोष दहित

सन्तोष दहित
दाङ, चैत १५ गते ।
तुलसीपुर उपमहानगरपालिका–६, कारागार नजिकै साना तर आकर्षक घरहरूको समूह देखिन्छ। वरिपरि ठूला भवनबीच उभिएका यी घरहरू परम्परागत थारू शैलीमा निर्माण गरिएका छन्। थारू पहिचान झल्किने गरी बनाइएका यी घरभित्र थारू समुदायले प्रयोग गर्ने परम्परागत सामग्रीहरू सजाएर राखिएका छन्।

धान राख्ने डेहरी, कुठली, माछा मार्ने हेल्का, खोङ्ग्या, डेल्या जस्ता सामग्रीका साथै ढकिया, भौका, गोन्द्री, हलो–जुवा लगायतका सामग्री प्रदर्शनीका रूपमा व्यवस्थित गरिएको छ।

घरअगाडि बनाइएको आकर्षक प्रवेशद्वारले झन् यसको सौन्दर्य बढाएको छ, जहाँ ‘थारू मिन्हीघर’ लेखिएको देखिन्छ। भित्र प्रवेश गरेपछि ‘मिन्ही’ अर्थात् दिउँसो खाने खाजाको स्वाद लिन पाइन्छ, जुन पश्चिम तराईमा प्रचलित शब्द हो।

यही नामलाई ब्रान्ड बनाउँदै सञ्चालनमा आएको ‘थारू मिन्हीघर’ अहिले स्वादसँगै आम्दानीको केन्द्र बनेको छ। तुलसीपुर–६ बरुवागाउँका दुई युवा सन्तोष चौधरी र कमल चौधरीले करिब तीन वर्षअघि सुरु गरेको यो मिन्हीघर अहिले सफल उदाहरणका रूपमा स्थापित भएको छ।

गाउँघरमा सीमित थारू परिकारलाई व्यवसायिक रूपमा प्रस्तुत गर्ने उद्देश्यले सुरु गरिएको यस पहलले छोटो समयमै राम्रो बजार पाएको सञ्चालक सन्तोष चौधरीले बताउनुभयो।

मिन्हीघरमा ढिक्री, अनडीको रोटी, घोङ्घी, माछा, सिध्रा माछा, गंगटा, लोकल भाले, सुँगुरको मासुका परिकार, आलुको अचार, मकैको लावा, सिन्कीको तरकारी लगायत परम्परागत थारू खानाका परिकार पाइन्छन्। यिनै मौलिक स्वादका कारण तुलसीपुर पुग्ने धेरैले यहाँ आएर थारू खानाको स्वाद लिने गरेका छन्।

“प्लस टु सकेपछि व्यवसाय थालेको हुँ,” सन्तोषले भन्नुभयो, “सुरुमा लगानी डुब्ने हो कि भन्ने डर थियो, तर केही महिनामै अपेक्षाभन्दा राम्रो चल्न थाल्यो। अहिले हामी यही पेशाबाट सन्तुष्ट छौँ।”

उहाँका अनुसार थारू मिन्हीघरले थारू परिकारलाई गाउँको सीमाबाट बाहिर ल्याएर बजारमा चिनाउने काम गरेको छ। “हाम्रो संस्कृतिसँग जोडिएका परिकारलाई व्यवसायिक बनाउन पाउनु नै ठूलो उपलब्धि हो,” उहाँले भन्नुभयो।

करिब तीन वर्षअघि १५ लाख रुपैयाँ लगानीमा सुरु गरिएको यस व्यवसायले हाल पाँच जनालाई रोजगारी दिएको छ।

पछिल्लो समय थारू समुदायका युवाहरूले आफ्ना कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्दै त्यसलाई व्यवसायसँग जोड्नु सकारात्मक अभ्यास भएको थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीले बताउनुभयो।

“हाम्रो समुदाय पहिले कृषि पेशामा बढी निर्भर थियो, तर अहिले विस्तारै व्यापार–व्यवसायतर्फ आकर्षित भइरहेको देख्दा गर्व लाग्छ,” उहाँले भन्नुभयो, “म आफ्नो समुदायले सञ्चालन गरेका होटल, रेस्टुरेन्ट वा पसलमा नै जाने गर्छु, यसले उनीहरूलाई हौसला मिल्छ।”

आफ्नै उत्पादन र परम्परागत स्वादलाई जोड्दै ‘थारू मिन्हीघर’ले आर्थिक आम्दानी मात्र नभई सांस्कृतिक पहिचान संरक्षणमा पनि महत्वपूर्ण योगदान पुर्‍याएको उहाँको भनाइ छ।