• ५ साउन २०८१, शनिबार

जङ्गली च्याउ : विना लगानी, राम्रो आम्दानी

blog

सदरमुकाम सल्लेरीको साप्ताहिक हाटमा च्याउ बेच्दै महिलाहरु । तस्बिर : सन्तोष राउत

सन्तोष राउत

सोलुखुम्बु, साउन २३ गते । जब वर्षायाम शुरु हुन्छ, तब सोलुखुम्बुका विभिन्न जङ्गलमा धेरै थरीका च्याउ पलाउन थाल्छन् । त्यही च्याउ कतिपयको गजबको आम्दानीको स्रोत बनेको छ, कतिपयको स्वादिष्ट तरकारी । विना लगानी प्राकृतिक रुपमा उब्जनी हुने च्याउबाट सोलुखुम्बुका विभिन्न क्षेत्रका महिलाहरुले राम्रो आम्दानी गर्ने गरेका छन् ।

जङ्गली च्याउ खाँदा विभिन्न स्थानमा ज्यानै गएको घटना सुनिएपनि सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा लाग्ने साप्ताहिक हाट नयाँबजारमा भने जङ्गली च्याउ बेचेर ग्रामिण महिलाहरुले घरखर्चको बन्दोबस्त गर्ने गरेका छन् । उत्पादनमा आफ्नो लगानी नपरेको च्याउ दिनभरी जङ्गलमा खोजेर ल्याउने र बजारमा विक्री गरेर राम्रो आम्दानी हुने गरेको छ ।

यस सिजनमा सोलुखुम्बुका विभिन्न जङ्गलमा विभिन्न जातका च्याउ पाउने भएकाले ग्रामिण भेगका कतिपय सर्वसाधारणहरुको गुजारामा च्याउले सहयोग गरेको छ । सदरमुकाममा प्रत्येक शनिबार लाग्ने हाटमा रातो, पहेँलोलगायत विभिन्न थरीका नामै थाहा नभएका च्याउ विक्रीका लागि ल्याइएका हुन्छन् । बजारमा सोलुदूधकुण्ड नगपालिकाका तामाखानी, गार्मा, वेनी, सल्लेरी र काँकुलगायतका क्षेत्रबाट जङ्गली च्याउ आउने गरेको छ ।

हामीले च्याउको व्यापार गरेर घरको सामान्य खर्च चलाउन सजिलो भएको छ र च्याउ खाएर कोही विरामी समेत भएको छैन, सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानीकी टीकामाया तामाङले भन्नुभयो । प्रत्येक वर्ष यस सिजनमा भएको च्याउको व्यापारले घरखर्च धान्न सहयोग गरेको उहाँको भनाइ छ ।

औषधीका रुपमा समेत प्रयोग हुने रातो च्याउ सल्लेरीका विभिन्न कार्यालयहरुमा कार्यरत कर्मचारीहरुले कोशेलीका रुपमा समेत लाने गरेका छन् । बजारमा रातो च्याउ केही महङ्गो मूल्यमा बिक्री हुने गरेको छ । रातो च्याउ प्रतिकेजी एक हजार रुपियाँसम्म बिक्री हुने गरेको छ । त्यस्तै, अघिल्लो वर्ष पहेँलो च्याउ प्रतिपाथी दुई सय रुपियाँले विक्री भएकोमा यस वर्ष चार सय रुपियाँसम्म विक्री भइरहेको व्यापारी बताउँछन् । 

सदरमुकाम नजिक रहेको काँकुकी ङिमपुटी शेर्पाले पनि विगत लामो समयदेखि सिजनमा च्याउको व्यापार गरेर घर खर्चको जोहो गर्ने गरेको बताउनुभयो । हप्तामा दुईहजारसम्म बिक्री हुने शेर्पाको भनाइ छ । च्याउ ल्याउनका लागि एकदिन र बजारमा विक्री गर्नका लागि एकदिन गरी दुईदिनको समय लाग्ने व्यापारीहरुको बताउँछन् । 

यता च्याउ किन्ने ग्राहक भने खाने नखाने च्याउ छुट्याउने निकाय नभएकाले अन्योलमानै किन्ने गरेको बताउँछन् । सबैले खाने गरेको च्याउ किन्ने गरेका छौँ, अहिलेसम्म केही भएको छैन, कतिपय त नचिनेको च्याउ पनि हुन्छ, सल्लेरीका ज्ञानु बस्नेतले भन्नुभयो । हालसम्म बजारमा किनेको च्याउ आएर सोलुमा कसैको स्वास्थ्यमा असर नपरेको उपभोक्ता बताउँछन् ।