• १२ पुस २०८१, शुक्रबार

एनिमेसन के हो कसरी बनाउने ?

blog

कार्टुन भन्ने बित्तिकै भाइबहिनीलाई टम एन्ड जेरी, डोरेमन, छोटा भीम, मोटु और पत्लुको सम्झना हुन्छ । फुर्सदको समयमा रमाइलो गर्न हामी कार्टुन हेर्छौं । कार्टुन हेर्दा रमाइलो त हुन्छ यसका साथै यी कार्टुनले हामीलाई केही ज्ञानगुनका कुरासमेत सिकाउँछन् । त्यसैले भाइबहिनी ! यस पटक कार्टुन कसरी बन्छ र एनिमेसन के हो भन्ने विषयमा केही जानकारी लिउँ है त ।

एनिमेसन के हो त ? एनिमेसनको शब्दको उत्पत्तिमा जाँदा, एनिमेसन शब्द ल्याटिन ‘animātiōn’ ‘एनिमेसन’ बाट आएको हो, जसको अर्थ जीवन प्रदान गर्नु भन्ने हुन्छ ।  एनिमेसन भनेको कुनै पनि निर्जीव वस्तुलाई सजीव प्राणीसरह हाउभाउ, गतिशील र चलायमान बनाउने विधि नै एनिमेसन हो । यी विधिको प्रयोग गरेर कार्टुन बनेका छन् । जस्तो कि टम एन्ड जेरीमा देखिने सबै पात्र निर्जीव हुन् तर एनिमेसनको प्रयोगबाट उनीहरू हिँड्ने, हाउभाउ गर्ने, हाँस्ने, रुने, खानेजस्ता हामीले गर्ने सबै काम गर्छन् । यसका पछाडि एनिमेसन प्रविधिले काम गरेको छ । अर्को शब्दमा भन्दा, एनिमेसनले तस्बिरहरू, चित्रहरू र प्रयोग भएका पात्रहरूलाई चलचित्रकरण अर्थात् गतिशील बनाउनु, वस्तु र पात्रलाई चलायमान भएको भान गराउनु हो । एनिमेसनले रेखाचित्र, मोडेल, पात्र, निर्जीव वस्तुलाई गतिशील बनाउँछ । अहिले यो प्रविधि बच्चा, बालबालिका, युवा र वयस्क सबै उमेर समूहका व्यक्तिमाझ निकै रुचाइएको छ । 


भाइबहिनीहरू ! एनिमेसनको क्षेत्र निकै फराकिलो छ । हामीलाई एनिमेसन भन्ने बित्तिकै कार्टुन वा एनिमेटेड फिल्म भन्ने सम्झन्छौँ तर एनिमेसनमा ब्रोडकास्ट ग्राफिक्स, क्यारेक्टर एनिमेसन, प्रडक्ट एनिमेसन, भीएफएक्स, कम्पोजिटिङ, म्याट पेन्टिङ जस्ता विभिन्न विधा छन् । यी एनिमेसनका आफ्नै क्षेत्र र उपयोग छन् । विशेष गरी अहिले चलनचल्तीका आधारमा एनिमेसनलाई पाँच प्रकारमा बाँड्न सकिन्छ, परम्परागत एनिमेसन, २ डी एनिमेसन, थ्रिडी एनिमेसन, मोसन ग्राफिक्स वा भीएफएक्स एनिमेसन र स्टप मोसन एनिमेसन । 

सन् १९०८ अगस्ट १७ मा पेरिसको गाउमोन्ट कम्पनीले संसारको पहिलो पूर्ण एनिमेटेड कार्टुन Fantasmagorie  सार्वजनिक गरेको थियो । यो कार्टुन इमाइल कोहेलले हातले कोरेर बनाएका चित्रबाट तयार भएको पहिलो कार्टुन एनिमेसन हो । एनिमेसन शब्द ल्याटिन भाषाको शब्द एनिमाबाट लिइएको हो, जसको अर्थ आत्मा हुन्छ । एनिमेसन यस्तो प्रविधि हो जसको प्रयोगबाट एक चित्र, फोटो वा वस्तुलाई वास्तवमै चल्न सक्ने, हिँड्न सक्ने र बोल्न सक्ने बनाइन्छ । भाइबहिनीहरू ! अर्को सरल शब्दमा भन्दा एक चित्र वा फोटा जो चल्न सक्दैन हिँड्न सक्दैन त्यसमा जीवन वा ज्यान हाले जस्तै हो । पहिला पहिला कार्टुन एनिमेसन गर्दा विभिन्न हाउ भाउका धेरै चित्र आवश्यक पथ्र्यो त्यसका धेरै चित्र बनाउन धेरै कलाकारले दिन रात काम गर्थे । अहिले एनिमेसन कार्टुन, फिल्म र डकुमेन्ट्री कम्प्युटरको प्रयोगबाट बन्ने भएकाले पहिलाभन्दा सजिलो भएको छ तर पनि एनिमेसन निकै खर्चिलो, धेरै समय लाग्ने र झन्झटिलो छ । 

भाइबहिनीहरू ! एनिमेसनको सबैभन्दा ठूलो प्रयोग मनोरञ्जनका लागि हुने गर्छ । एनिमेसन प्रविधि अहिले टिभीमा, फोनमा र इन्टरनेटमा प्रयोग भइरहेको छ । टेलिभिजनमा, एनिमेसन प्रायः विज्ञापन सन्देश दिन, बालबालिकालाई मनोरञ्जन दिन कार्टुन, फिल्म र डकुमेन्ट्रीमा प्रयोग गरिन्छ । जसले उनीहरूलाई रमाइलो गर्न, हाँस्न र लामो समयसम्म मनोरञ्जन दिने गर्छ । 

१० रमाइला एनिमेसन सिकाउने मोबाइल एप

 1. Animation Kit (iPhone, iPad)

2. Toontastic (Android, iPhone, iPad)

3. Tellagami (iPhone, iPad)

4. Animoto (iPhone, iPad)

5. FlipaClip - Cartoon Animation (Android, iPhone, iPad)

6. Puppet Pals HD (iPhone, iPad)

7. Animation Desk (Android, iPhone, iPad)

8. PicsArt Animator (Android, iPhone, iPad)

9. Stop Motion Studio (Android, iPhone, iPad)

10. Stick Nodes - Animator (Android, iPhone, iPad)

(एजेन्सी तथा विभिन्न अनलाइनको सहयोगमा)