• १३ वैशाख २०८१, बिहिबार

राजधानीमा फेरि फोहोर

blog

पटक पटक देखिएको, भोगिएको अनि लेखिएको विषय हो – ‘काठमाडौँमा फोहोरको डुङ्गुर’ । अहिले फेरि मुलुकको सङ्घीय राजधानी काठमाडौँमा फोहोर थुप्रिन थालेको छ। काठमाडौँ महानगरपालिका फोहोर उठाउन असमर्थ भएको छ। यस पटक पनि उही पुरानो ‘फोहोर’ को नियति भनौँ वा कथा दोहरिन थालेको छ। काठमाडौंमा। हिजोको ऐतिहासिक कान्तिपुरी नगरी अहिले फोहोर थुपारी राख्ने नगरका रूपमा नयाँ परिचय बनाउँदै गएको आभास हुन थालेको छ। काठमाडौँ सफा बनाउने नारा दिएर वषौँदेखि धेरैले राजनीतिक सफल खुड्किला चढे पनि राजधानीको अवस्था भने झनझनै नाजुक बन्दैछ। घर करेसादेखि सडक र नदी किनारा फोहोरले भरिएपछि नागरिकलाई स्वच्छ श्वास लिन सकस भएको छ।

काठमाडौँ महानगरपालिकाको नयाँ नेतृत्व चयनसँगै महानगरवासीको आशा, भरोसा तथा विश्वास चुलिँएकै हो। अब त सहर सफा होला भन्ने विश्वास बढेको हो। विगतका बेथिति हट्ने र नयाँ शिराबाट महानगरको समग्र विकास एवं समृद्धि अगाडि बढ्ने आशा पलाएको हो। अहिले नयाँ नेतृत्वले महानगरको बागडोर सम्हालेको तेस्रो महिना हुँदैछ। तीन महिना लामो समय होइन तर दिनदिनै उठ्नु पर्ने फोहोर थुप्रिएको जिम्मेवारी लिने अरू कुनै निकाय हुन सक्दैन। फोहोर व्यवस्थापन विगतभन्दा कुनै फरक देखिएको छैन। साउन लागेपछि त अधिकांश स्थानमा फोहोर उठ्नै छाडेको छ।

साउन १ गतदेखि महानगरपालिकाले स्रोतमा नै कुहिने तथा नकुहिने फोहोर छुट्याउन अनुरोध जारी गरेसँगै राजधानीबाट फोहोर उठ्न छोड्नु एक संयोग मात्र मान्नु पर्ला। फोहोर नछुटिएमा जरिवानाको डण्डा राजधानीवासीमाथि चल्ने महानगरको उर्दी नै थियो। जरिवानाको विषयका केही सकारात्मक पक्ष पनि हुन सक्छन् तर अहिले महानगरलाई प्रश्न गर्ने ठाउँ प्रशस्तै छ, काठमाडौँ फोहोरले दुर्गन्धित हुँदा यसको दण्ड, सजायको भागीदार बन्ने को ? फोहोर व्यवस्थापन गर्न नसक्ने काठमाडौँ महानगर दण्ड, सजायको भागीदार बन्नुपर्ने होइन ? यसको उत्तर महानगर स्वयंले खोज्नु राम्रो हुन्छ। हैजाजस्तो प्रकोप देखिन थालेको काठमाडौँमा फोहोर व्यवस्थापनमा नागरिक दबाब र सहभागिता आवश्यक भएको देखिन थालेको छ। 

महानगरको फोहोर व्यवस्थापनका निम्ति बञ्चरे डाँडा, सिसडोल र पासाङ ल्हामु राजमार्गलगायत वरिपरि क्षेत्रका समस्या समाधान विना सम्भव देखिँदैन। यो लगभग प्रमाणित तथ्य हो। अहिले काठमाडौँ फोहोर नउठ्नुको मुख्य कारण बञ्चरे डाँडा वरिपरिको सडक बाटो मर्मत तथा निर्माणलाई कारण बनाइएको छ। एक सातामा समस्या समाधान हुने आश्वसन अहिले झन्डै तीन हप्ता भयो। बाटो मर्मत सम्पन्न हुन सकेको छैन। अहिले सो क्षेत्र हिलाम्मे भएका कारण फोहोर लैजान समस्या परेकोले उठाउन नसकिएको महानगरको दाबी सार्वजनिक भएको छ। मुख्य समस्या सडक मर्मतलाई देखाइए पनि फोहोर व्यवस्थापनका निम्ति महानगरका अरू पनि थुप्रै समस्या छन्। साधन स्रोतले सम्पन्न मानिने महानगरपालिका गाडी अभावमा फोहोर उठाउन नसकिएको तर्कलाई प्रस्तुत गरिरहेको छ। यो विचारणीय प्रश्न हो। यसैगरी फोहोर ढुवानीका निम्ति गाडी भाडा लिने, फोहोर छुट्याउने, ढुवानी गाडीको व्यवस्थापन गर्नेजस्ता विषयवस्तुलाई महानगरले ठूलो समस्याका रूपमा लिनुभन्दा पनि यी विषयवस्तुको उपयुक्त व्यवस्थापनमा जोड दिनु जरुरी छ ।

नेपालको विकास निर्माणको विडम्बना अनेक छन्। बञ्चरे डाँडाको १७ किलोमिटर सडक विस्तार तथा स्तरोन्नतिका निम्ति सरकारले ठेक्का लगायतका काम वर्षौं अघि गरिसकेको थियो तर आठ वर्षपछिसम्म पनि यो सडक विस्तार सम्पन्न हुन नसक्नु चरम लापरबाहीको नमुना हो। यसको प्रभाव राजधानीवासीले भोगिरहनु परेको छ। सात पटक म्याद थपिँदासमेत यो सडकको समस्या जस्ताको तस्तै रहनुले सरकारी कार्य प्रणालीको दशा दर्शाउन पर्याप्त रहेको छ। राजधानीको फोहोर हटाउन महानगर मात्र सक्षम नहुने विगतदेखि वर्तमानसम्मका घटनाक्रमहरूले पुष्टि गरेका छन्। यस अर्थमा राजधानीको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार, काठमाडौँ महानगर, वरिपरिका स्थानीय तहसमेत निकायहरूको साझा एवं प्रभावकारी सहकार्य महत्वपूर्ण हुन आउँछ। आशा गराँै, फेरि काठमाडौँ महानगरको डुङ्गुरको कथा, व्यथा राजधानीवासीले भोग्न र लेख्न पर्ने अवस्था नआओस्।