• १५ वैशाख २०८१, शनिबार

दुर्गन्धित काठमाडौँ

फोहोरको विषयमा कसले कसलाई कारबाही गर्ने ?

blog

काठमाडौँ, साउन २२ गते । काठमाडौँ महानगरपालिकाले असारको अन्त्यतिरै सार्वजनिक सूचना जारी गरी साउन १ देखि कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवाना गर्ने सूचना जारी ग-यो। फोहोर व्यवस्थापनमा सघाउन र जरिवानाबाट बच्न पनि महानगरवासीले फोहोरको वर्गीकरण पनि गरे। तर साउन लागेदेखि नै फोहोर उठ्न सकेको छैन। फोहोर नउठाउँदा कसले कसलाई जरिवाना गर्ने कि नगर्ने भन्ने प्रश्न भने अनुत्तरित छ ।

अहिले महानगरमा फोहोर नथुपारिएको चोक र सडक विरलै पाइन्छ। फोहोर उठ्न नसकेपछि सिङ्गै उपत्यका कुरूप देखिनुका साथै सडक, चोक र गल्लीमा फोहोरको डङ्गुर थुप्रिएर दुर्गन्धित बनेको छ। यसअघि नै बन्चरेडाँडावासीले भदौ १ गतेदेखि फोहोर व्यवस्थापन गर्न नदिने घोषणा गरिसकेको हुनाले आउँदा दिनमा फोहोर व्यवस्थापनको समस्या झन् जटिल बन्दै जाने निश्चित देखिएको छ।

महानगरवासी कहिलेसम्म यस्तो नियतिको सिकार भइरहने भन्ने जिज्ञासामा काठमाडौँ महानगरपालिका वातावरण विभागका प्रमुख सरिता राईले सिसडोल र बन्चरेडाँडामा उत्पन्न समस्याको सम्बोधन, ल्यान्डफिल साइटसम्म पुग्ने सडक निर्माण तथा फोहोर बोक्ने सवारीसाधन व्यवस्था नभएसम्म फोहोरको समस्या समाधान हुन नसक्ने बताउनुभयो।

कहिले पासाङ ल्हामु राजमार्गअन्तर्गतको मुड्खुभञ्ज्याङदेखि तिनपिपलेसम्मका बासिन्दाको अवरोध त कहिले सिसडोलवासी र ककनीवासीको आन्दोलन, कहिले फोहोर बोक्ने गाडी अभाव त कहिले वर्षाका कारण बाटो हिलाम्मे हुँदा काठमाडौँ उपत्यकामा फोहोर थुप्रिनु र वातावरण दुर्गन्धित बन्नु नियतिजस्तै बनिसकेको छ। 

पटक–पटकको अवरोध र आन्दोलनका कारण फोहोर थुप्रिन पुगेकोमा बन्चरेडाँडाका स्थानीयसँगको सहमतिपछि साउनदेखि जोडतोडसाथ नियमित रूपमा फोहोर व्यस्थापनको काम सुरु भएको प्रमुख राईले दाबी गर्नुभयो। तर बाटो बनाउने भन्दै सहरी विकास मन्त्रालयबाट भएको निर्देशनपछि साउन ४ गतेदेखि एक हप्तासम्म फोहोर उठ्न नसक्दा घर, चोक र सडकपेटीमा फोहोर थुप्रिन पुगेको उहाँले स्वीकार गर्नुभयो। 

बाटो बनाउने नाममा एक हप्ता फोहोर व्यवस्थापनको काम रोकिए पनि अहिले सडक अझै निर्माण हुने सकेको छैन। जसकारण सडक हिलाम्मे भएका कारण सहज रूपमा फोहोरको गाडी आउन जान नसक्दा थुप्रिएको फोहोर उठ्न नसकेको उहाँले बताउनुभयो। बाटो सहज भएको अवस्थामा दैनिक तीन सय ट्रकसम्म फोहोर विसर्जन हुने गरेकोमा अहिले डेढ सयसम्म पुग्न नसकेको र केही समयदेखि थुप्रिएको फोहोरको जग भत्किन नसकेको उहाँको भनाइ छ।

बाटो मुख्य समस्या 

काठमाडौँका फोहोर सिसडोल र बन्चरेडाँडासम्म पुग्ने पासाङ ल्हामु राजमार्गअन्तर्गतको मुड्खुभञ्ज्याङदेखि तिनपिपलेसम्मका सडक निर्माण हुन नसक्नु नै फोहोर व्यवस्थापनको मुख्य समस्या रहेको छ। सिसडोल र बन्चरेडाँडाका स्थानीयवासीसँग सहमति भए पनि बाटो अभावमा नै फोहोर व्यवस्थापन हुन नसकेको राईको भनाइ छ। कुल १७.०१ किलोमिटर लम्बाइ रहेको सडकको विस्तार तथा स्तरोन्नतिका लागि आठ वर्षमा सात पटक म्याद थपिए पनि निर्माण कम्पनीको चरम लापरबाहीका कारण अहिलेसम्म सडक बन्न सकेको छैन।

फोहोर छुट्याउने काम पनि भएन

महिनौँदेखि थुप्रिएका फोहोर व्यवस्थापन हुन नसक्दा साउन १ गतेदेखि गर्ने भनिएको कुहिने र नकुहिने फोहोरको छुट्टाछुट्टै व्यवस्थापन कार्य लागू हुन सकेको छैन। 

वातावरण विभाग प्रमुख राईले भन्नुभयो, “साउन १ गतेभन्दा पहिलादेखि थुप्रिएको फोहोर त फाल्न सकिएको छैन भने कुहिने र नकुहिने फोहोरको छुट्टाछुट्टै व्यवस्थापन कहाँबाट सुरु हुनु।”

गाडी अभाव

राईले फोहोर व्यवस्थापनका लागि अहिले महानगरसँग रहेको सवारीसाधन अपुग भएको बताउनुभयो। उहाँले भन्नुभयो, “टेकुको फोहोर ट्रान्फर स्टेसनदेखि सिसडोल/बन्चरेडाँडासम्म फोहोर ढुवानी गर्न महानगरसँग जम्मा १९ वटा गाडी छन्, जसमध्ये अहिले १४ वटा मात्रै सञ्चालनमा रहेका छन्।”

उहाँले अगाडि भन्नुभयो, “बाँकी पाँचवटा गाडी बिग्रेका छन्। बिग्रेका गाडीको मर्मत गर्ने काम भइरहेको छ।” टेकु ट्रान्फर स्टेसनमा थुप्रिएर रहेका फोहोरको ढुवानी महानगरसँग रहेका मौजुदा गाडीले नभ्याउने उहाँले स्पष्ट पार्नुभयो। गाडी अभावमा टेकुबाट बन्चरेडाँडासम्म दिनको एक ट्रिपभन्दा बढी ढुवानी हुन नसकेको उहाँले जानकारी दिनुभयो। आन्तरिक रूपमा सङ्कलन भएका फोहोर टेकुमा जम्मा गरिन्छ र त्यहाँबाट सिसडोल/बन्चरेडाँडा ढुवानी गर्ने गरिन्छ।

उहाँका अनुसार टोलटोलमा गएर फोहोर सङ्कलनका लागि महानगरसँग ३८ वटा साना गाडी छन्, जसमध्ये कतिपय प्रायः मर्मतक्रममा रहेका हुन्छन्।

भाडाको समस्या

विभागका प्रमुख राईले समयमा फोहोर व्यवस्थापनका लागि निजी गाडी भाडामा लिन खोजिए पनि भाडादरका कारण अहिलेसम्म सम्भव हुन नसकेको बताउनुभयो। उहाँले भन्नुभयो, “निजी गाडी भाडामा लिँदा हामीले नियम पालना गर्नुपर्छ। नियमानुसार महानगरले प्रतिट्रिप आठ हजार रुपियाँभन्दा बढी भाडा तिर्न सक्दैन तर निजी सवारीसाधन धनीको माग प्रतिट्रिप २२ हजार रहेको छ, जुन तिर्न सकिँदैन ।”