• २० असार २०८१, बिहिबार

दार्चुलामा खाद्यको शाखा सञ्चालन

blog

दार्चुला समाचारदाता

दार्चुला, साउन २२ गते । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुलाको खलङ्गामा पुनस्र्थापित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयको शनिबार उद्घाटन गर्नुभएको छ ।

मन्त्री बडूले दार्चुलामा कम्पनीको कार्यालय सञ्चालनमा आएसँगै खाद्यान्न आपूर्तिको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कम्पनीले दुर्गम जिल्लामा चामल उपलब्ध गराउनुका साथै दुर्गममा उत्पादित खाद्यवस्तु बजारमा पठाउने उद्देश्यअनुसार कम्पनीको कार्यालय स्थापना गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ उत्पादित चिजको ब्रान्ड बनाएर जिल्ला र देशबाहिरको व्यापार बजारमा पठाउनुपर्छ ।” तत्कालीन खाद्य संस्थानको कार्यालय २०६३ सालमा विस्थापन भएको थियो । कार्यालय खलङ्गामा रहने र जिल्लाका १२ डिपोबाट खाद्यान्न वितरण गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले जानकारी दिनुभयो । यसअघि जिल्लाका विभिन्न ठाउँमा खाद्यका डिपो भए पनि धनगढीबाट खाद्यान्न आपूर्ति गर्दै आएको थियो । जिल्लामै शाखा कार्यालय स्थापनापछि आपूर्तिमा सहज हुने चन्दले बताउनुभयो ।

स्थानीय उत्पादन कम हुने भएकाले दार्चुलाका दुर्गम ठाउँका बासिन्दाले बर्सेनि खाद्य सङ्कट बेहोर्दै आएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दका अनुसार साबिकको नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ  लिमिटेडलाई २०७६ साल जेठ १० गते नेपाल सरकारको निर्णयबाट गाभेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्थापना गरिएको थियो । 

कम्पनीले किसानको उत्पादनलाई नेपाल सरकारले तोकेको समर्थन मूल्यमा खरिद गर्ने, प्रशोधन गर्ने साथै ठूला सहरमा मूल्य नियन्त्रण गर्न खाद्य वस्तुहरू सहुलियत मूल्यमा बिक्री वितरण गर्ने र दुर्गम क्षेत्रमा खाद्यान्न ढुवानी गरी जनतालाई सहुलियत मूल्यमा खाद्यान्न वितरण गर्ने उद्देश्य छ ।

दार्चुलामा पाँच स्थानीय तहका १२ स्थानमा डिपो स्थापना गरेर सहुलियत मूल्यमा खाद्यान्न वितरण भइरहेको बताइन्छ । दार्चुलामा महाकाली नगरपालिकामा शाखा कार्यालय स्थापना गर्नुका साथै अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी, घुसा र सितोला, व्यास गाउँपालिकाको सुनसेरा, छाङ्रु, टिङ्कर र राप्ला (दुम्लिङ), मार्मा गाउँपालिकाको पारिबगर, लेकम गाउँपालिकाको रातामाटा र कुणी, नौगाड गाउँपालिकाको नागुमा डिपो राखिएको छ । यसअघि पाँच डिपो सञ्चालनमा रहेकोमा थप सात स्थानमा डिपो विस्तार गरिएको जनाइएको छ । 

दार्चुलाको छाङ्रु र टिङ्करमा नेपालबाट पैदलमार्गसमेत छैन । सो स्थानमा खाद्यान्न आपूर्तिको भरपर्दो व्यवस्था नभएकाले यस वर्ष हेलिकोप्टरबाटै खाद्यान्न ढुवानीको व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्दले बताउनुभयो ।