• ७ जेठ २०८१, सोमबार

शवदाह गृह सञ्चालनको माग

blog

कास्की समाचारदाता 

कास्की, साउन २१ गते  । पोखरामा लामो समयदेखि बन्द रहेको शवदाह गृह सञ्चालनको माग गरिएको छ। पोखरा महानगरपालिका–९, शान्तिघाटस्थित शवदाह गृह केही समयदेखि बन्द हुँदा दाहसंस्कारमा समस्या भएको छ। 

शवदाह गृह सञ्चालनको जिम्मा पाएको शान्तिघाट विकास समिति र ज्येष्ठ नागरिक सरोकार समाज नेपालले शवदाह गृहको सेवा बन्द गर्दा आफन्त गुमाएका नागरिकले दुःख खेप्नुपरेकाले तत्काल खुलाउन माग गरेका छन्। 

एभरेस्ट बैङ्कले निर्माण गरिदिएको सो शवदाह गृह २०७६ साल असारमा पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको थियो तर स्थानीयको विरोधपछि नियमित रूपमा सञ्चालन हुन सकेको छैन। 

ती समितिले शवदाह गृह सञ्चालन गर्न महानगरपालिकालाई गुहारेका छन्। शान्तिघाट विकास समितिका अध्यक्ष शिवबहादुर कार्कीले वातावरणमैत्री, प्रदूषणरहित भनिए पनि शवदाह गृह सञ्चालनमा अवरोध आएपछि बन्द रहेको बताउनुभयो। 

“स्थानीयको विरोधपछि धुवाँ जाने चिम्नी अग्लो बनाएर शवदाह गृह सञ्चालन गर्ने सहमति भए पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका तर्फबाट गुनासो आयो। रुखभन्दा अग्लो चिम्नी नबनाउँ भन्ने कुरा आयो,” उहाँले भन्नुभयो। 

विगत १८ वर्षको दौरानमा समितिले विभिन्न क्षेत्रबाट प्राप्त गरेको सहयोगमार्फत पाँच करोड रुपियाँ लागतमा शान्तिघाट क्षेत्रमा विभिन्न संरचना निर्माण गरेको छ। 

उहाँका अनुसार १५ लाख रुपियाँ मूल्य हाराहारीका संरचना नदीले बगाएको छ। शान्तिघाटको विकासका लागि निःस्वार्थ रूपमा खट्दा अख्तियारसम्म धाउनुपरेको समितिका पदाधिकारीको दुखेसो छ। शवदाह गृहमा थोरै दाउरा र एकदेखि डेढ घण्टामा शव जलाउन सकिने जनाइएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विरोध र असन्तुष्टिका बीचमा पनि स्थानीय र सरोकारवाला पक्षसँग छलफल गरी शवदाह गृह सञ्चालन गर्ने वातावरण बनाउन लागिपरेको बताउनुभयो। 

शान्तिघाट विकास समितिका सदस्य विष्णुबहादुर भट्टराईले स्थानीय समुदायसँग सहकार्य र छलफल गरी शवदाह गृह सञ्चालनमा ल्याउन सकिने बताउनुभयो।

ज्येष्ठ नागरिक सरोकार समाज नेपाल, पोखरा–१९, पुरञ्चौरका अध्यक्ष राधा गौतमले विकास, निर्माण र संरचना महिलामैत्री बन्नुपर्ने भन्दै स्थानीयसँग छलफल गरेर नै शवदाह गृह सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो।