• ५ साउन २०८१, शनिबार

पहिचान स्थापित गर्न चलचित्र क्षेत्र प्रभावकारी : मन्त्री श्रेष्ठ

blog

गोरखापत्र अनलाइन

काठमाडौंं, साउन २० गते । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आदिवासी जनजातिको पहिचान आन्दोलन सफल बनाउन चलचित्र क्षेत्रको प्रभावकारी भूमिका रहेको बताउनुभएको छ । २८ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति चलचित्र महासंघ र राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ) द्वारा आयोजित आदिवासी चलचित्र प्रदर्शनी तथा सांंस्कृतिक कार्यक्रममा आज शुक्रबार मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले एउटा चलचित्रमा समावेश हुने विषयवस्तु, संवाद र पात्रको नामले मानिसको सोच, सामाजिक व्यबहार र ठाउँको नाम समेत परिवर्तन भएका उदाहरणहरू भेटिएको बताउनुभयो । आदिवासी जनजातिको पहिचान, अस्तित्व र आन्दोलनलाई सशक्त बनाउन सावधानीपूर्वक चलचित्र निर्माण गर्न आदिवासी चलचित्रकर्मीलाई आग्रह गर्नुभयो । 

नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषदका अध्यक्ष गेल्जे लामा शेर्पाले अबको आदिवासी आन्दोलन फरक, बहुआयमिक र अझ सशक्त हुने बताउनुभयो । सफल आन्दोलनको मानक सडक आन्दोलनलाई मात्रै मान्न नहुने चर्चा गर्नुहुँदै अध्यक्ष शेर्पाले अब चलचित्रकर्मी, संस्कृतिकर्मी, महिला, युवा, पत्रकार, प्राज्ञिक व्यक्ति र विभिन्न पेशा व्यवसायका व्यक्तिलाई अधिकारका निम्ति सक्रिय बनाइने बताउनुभयो ।  

त्यसैगरी, पुस्तान्तरणमा समुदायका महिलाको भूमिका अहम् हुने बताउँदै आदिवासी जनजाति महिला महासंघका महासचिव शान्ति देवान, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका अध्यक्ष सुनी लामाले दिवसको नारा महिलामैत्री भएकोमा खुसी व्यक्त गर्नुभयो । 

कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय उपाध्यक्ष अमरध्वज लामा, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का लगायतले आदिवासी जनजाति समुदायको भाषा र विषयवस्तुमा बनेका चलचित्रको व्यावसायिकरणमा देखिएका समस्या र समाधानका विषयमा चर्चा गर्नुभयो ।

नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा नेवारी, तामाङ, थामी, थारू, सुनुवार समुदायका कलाकारले सांंस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै गुरूङ भाषामा निर्मित सांस्कृतिक चलचित्र मि न्होर्वे ट प्रदर्शन गरिएको थियो ।