• १५ चैत २०८०, बिहिबार

सेवाग्राहीका लागि सेवाकेन्द्र स्थापना

blog

मध्यबिन्दु नगरपालिकामा नागरिक सेवाकेन्द्रको उदघाटन । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, साउन २० गते । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाले सेवाग्राहीको लागि नागरिक सेवाकेन्द्र स्थापना गरेको छ । नगरपालिकाको सार्वजनिक सेवा प्रवाहलाई सहज, छिटो, छरितो, पारदर्शी र नागरिकमैत्री बनाउन एकीकृत सेवा सुरु गरिएको नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।

नागरिक सेवा केन्द्रमा हाल तीन जना कर्मचारीलाई जिम्मेवारी दिइएको नगरपालिकाले जनाएको छ । सेवाग्राहीले सेवा लिन चाहेमा नागरिक सेवा केन्द्रबाट लिन सक्ने अधिकारीले बताउनुभयो । सेवाग्राहीले नगरपालिकाको भुइँतलामा रहेको नागरिक सेवा केन्द्र आएर आफ्नो फाइल बुझाए पछि सबै फाँटमा जानुपर्ने काम कर्मचारीले नै गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनालले जानकारी दिनुभयो । 

कतिपय कार्यालयबाट सेवा लिन सेवाग्राहीले निकै झन्झट सहनुपर्ने देखिएको बताउँदै कार्यालयलाई सेवाग्राहीमैत्री बनाउँदै लैजानुपर्ने उहाँको भनाइ छ । राम्रो कामको सबैले अनुशरण गर्दै नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्ने विषयमा लाग्नुपर्ने उहाँले बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले नागरिक सेवा केन्द्रले सेवा प्रदान गर्दा कसैप्रति विभेद गर्न नहुने बताउनुभयो । सेवा केन्द्रको स्थापनाले सबैका लागि सन्देश हुने उहाँले बताउनुभयो । 

नागरिक सेवा केन्द्रमा सेवाग्राहीका लागि आराम गर्ने स्थान, फोटोकपी सेवा, पिउने पानी, निःशुल्क इन्टरनेट सुविधा, मोबाइल चार्ज गर्ने सुविधा, टेलिभिजनको व्यवस्था गरिएको छ ।