• ६ वैशाख २०८१, बिहिबार

परराष्ट्रमन्त्री खड्काको चीन भ्रमण तय

दुई मुलुकबीचको आपसी हितका विषयमा छलफल हुने

blog

परराष्ट्रमन्त्री डा. नारायण खड्का

काठमाडौं, साउन २० गते ।  चीनका विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री डा. नारायण खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने तय भएको छ । 

परराष्ट्र मन्त्रालयले शुक्रबार सिंहदरबारमा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्री खड्काको नेतृत्वको टोली यही साउन २४ देखि २६ गतेसम्म चीन भ्रमणमा जान लागेको जानकारी परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले दिनुभयो । उहाँले भ्रमणमा दुई मुलुकबीचको आपसी हितका विविध विषयमा छलफल हुने बताउनुभयो ।

प्रवक्ता लम्सालले भन्नुभयो, ‘‘छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका विदेशमन्त्री महामहिम वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा माननीय परराष्ट्रमन्त्री डा. नारायण खड्काज्यू ३ दिने चीन भ्रमणका लागि आगामी अगष्ट ९, २०२२ का दिन त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।उक्त भ्रमणका अवसरमा नेपाल र चीन दुवै पक्षबीच प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुनेछ । गत मार्चमा चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणको क्रममा माननीय परराष्ट्रमन्त्रीज्यूलाई चीन भ्रमणको निमन्त्रणा प्राप्त भएको थियो ।’’

परराष्ट्र मन्त्रालयले भ्रमणका विषयहरू पनि तय भइरहेका र भ्रमण सम्पन्न नभई ती विषय सार्वजनिक गर्न हतार हुने पनि जनाइएको छ । प्रवक्ता लम्सालले मन्त्री खड्काको चीन भ्रमणका क्रममा दुई मुलुकबीचको विविध विषयमा छलफल भएपछि मात्रै त्यसबारे जानकारी गराउन उपयुक्त हुने बताउनु भयो ।

प्रवक्ता लम्सालले अमेरिकी सभामुख नान्सी पेलोसीको ताOवान भ्रमणपछि उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालीरहेको बताउनु भयो । 

उहाँले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा नेपाल सदैव ‘एक चीन नीति’ को समर्थनमा रहेको पनि स्मरण गराउनुभयो । अमेरिकी सभामुख पेलोसीको भ्रमणलाई चीनले आफ्नो मुलुकको सार्वभौमसत्ता र स्वाधीनतामाथिको आक्रमण भनेको छ । प्रवक्ता लम्सालले एक शान्तिप्रिय राष्ट्रको रूपमा नेपाल सदैव अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको उल्लेख गर्नुभयो ।

प्रवक्ता लम्सालले भन्नुभयो, ‘‘नेपालले यस घटनालाई नजिकबाट नियालिरहेको छ । नेपालले सदैव एक चीन नीति समर्थन गर्दै आएको छ । दुवै मुलुकले एक अर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको सम्मान गर्दै आएका छन् । एक शान्तिप्रिय राष्ट्रको रुपमा नेपाल सदैव अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको कुरा यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।’’

परराष्ट्र मन्त्रालयले नेपाल–चीन दुवै मुलुकले सदैव एक अर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको सम्मान गर्दै आएको जनाएको छ ।