• ८ मंसिर २०८१, शनिबार

कोरोना कथा: घरभाडा

blog

गोविन्द गिरी प्रेरणा

काठमाडौँको आकाश सफा थियो। घनश्याम बरन्डामा काठको मेचमा बसेर खुलेको आकाश हेरिरहेको थियो। बिहानको नित्यकर्मपछि ऊ घर पछाडि गएर केही बेर अल्मलिएर आएको थियो। टोल सुनसान थियो। अलिपरको एउटा रूखमा चराहरू भुर्र भुर्र उड्दै बस्दै गरिरहेका थिए।

राधिका स्टिलको थालमा दुई कप चिया लिएर टुप्लुक्क उसको सामु झुल्किँदा घनश्याम झन्डै झस्कियो तर सम्हालियो।

सँगैको अर्को मेचमा बस्दै राधिकाले चियाको थाल स्टुलमा राखी।

‘कालो चियाले पनि वाक्कै हुन लागियो। दूध कहिले सजिलो गरी पाइएला!’ राधिकाले भनी।

घनश्यामले राधिकाको मुखमा पुलुक्क हे-यो मात्र। जबाफमा केही बोलेन। बन्दाबन्दी सुरु भएको डेढ महिना नाघिसकेको थियो। घरमा बस्दा बस्दा वाक्क ब्याक्क भएका थिए दुवै। बिहे भएको दसौँ वर्ष बित्दा पनि उनीहरू यसरी १० दिन कहिल्यै सँगै बसेका थिएनन्। बिरामी पर्दा पनि यसरी सँगै १० दिन बसेका थिएनन्। बुढाले बुढीको अनुहार, बुढीले बुढाको अनुहार कति हेर्न‘ । कुन विषयमा कति कुरा गर्न‘ । चुप लागेर पनि कति बस्नु । दुवै आआफ्नै किसिमले आजित भएको महसुस गर्दै थिए।

“हैन, यिनीहरूले घरभाडा दिने नामै लिँदैनन् त! हिजोदेखि त चालचुल पनि केही छैन।” राधिकाले भनी।

“देलान् नि। अहिलेसम्म बेइमान गरेका छैनन्। ढिलो पनि गर्दैनथे,” घनश्यामले भन्यो।

त्यसपछि दुवै चिया सुरुप सुरुप पार्न थाले।

‘यसो ढोका ढकढकाएर भन्नु पर्छ कि!’ राधिकाले भनी।

“पर्ख न। लक डाउन छ। कतै जान पाएका छैनन्। किन आत्तिरहनु प-यो ?” घनश्यामले भन्यो।

“खै, सरकारले घरभाडा नलिनु भनेको छ रे घरबेटीलाई। त्यसै भएर त हैन ? हात हातमा मोबाइल छ, सबै कुरा थाहा पाएर त हैन नदिन खोज्या!” राधिकाले भनी।

“खै हामीलाई कसले भनेको छ र! नियम बनाए त हामीले थाहा पाउनु पर्दैन र ?” घनश्यामले भन्यो।

“लौ मन्त्रीले भनेको भनेर छ्याप्छ्याप्ती हल्ला छ। मेरा साथीहरू पनि पनि त्यसै भन्दै थिए फोनमा,” राधिकाले भनी।

“अब नियमै बनेछ, नलिनू भन्छ सरकारले भने त हामीलाई मात्र नहोला। सबैले मान्छन् भने हामीले मात्र नमान्ने कुरा भएन क्यारे!” घनश्यामले भन्यो।

“खै के हो के हो! बुझिनसक्नु छ सरकारको चाला पनि! फेरि कति घरबेटीले त घरभाडा माफ गरेको भनेर फेसबुकमा फोटो हाल्न थालेका छन्। पुगिसरी आउनेले त गरे भो नि! हाम्रो त घर बनाएको सापटी तिरिभ्याउन पाएको छैन। सञ्चयकोषको ब्याज अर्कोतिर छ। “राधिका एकोहोरो फतफत गरिरही।

घनश्याम चुप लाग्यो र चियाको कप रित्यायो।

“लौ है यसो मौका हेरेर भन्न पर्छ! चुप लागेर मात्र कहाँ हुन्छ ?” राधिका यसो भन्दै चियाको रित्ता कपहरूसहितको थाल बोकेर भित्र गई।

के भन्नु यस्तो बेलामा पनि! काममा जान पाएका छैनन्। घरमा पैसा थिएन कि! नत्र त महिना मर्न नपाउँदै मुसुक्क हाँसेर घरभाडा ल्याएर दिन्थे। घनश्यामले आफूले आफैंलाई भन्यो र कम्पाउन्डको छेउको सानो ग्रिलको गेटमा गएर टोलको के छ चहलपहल टाढासम्म आँखा पु-यायो। चारैतिर सुनसान थियो। हिजो राति परेको पानी सुकिसकेको थिएन र खाल्डाखुल्डीमा जमेका थिए। सिर्सिरे हावा मीठो लाग्ने खालको थियो। गणेश हिमाल पनि

टड्कारो देखियो। सफा कञ्चन।

मीना र सावित्री भन्थे नाम। उमेरदार युवतीहरू थिए। डेरा खोज्दै आइपुगेका थिए। सुरुमै यौटीले भनेकी थिई, “हेर्नुस्, हामी काम गरेर खाने मान्छे हौँ। तपाईंहरूलाई हामी डेरा भाडा समयमै दिन्छौँ। हामी दुवैको बिहा भएको छैन। तर हामी कोठामा कोही पनि ल्याउन्नौँ। हाम्रा कोही केटा साथी छैनन्। केटी साथीहरू पनि ल्याउन्नौँ । तपाईंको घरको मर्यादाको हामी कदर गर्नेछौँ। आफ्नै घरजस्तो सफा सुग्घर गरेर बस्छौँ। नाईं नभनीकन हामीलाई डेरा दिनुहोस्। खोज्दा खोज्दा सारै हत्तु भइयो। काठमाडौँमा बिहे नगरेका केटीहरूले कोठा पाउनै महाभारत!”

घनश्याम र राधिकाले एकआपसमा मुखामुख गरेका थिए।

“काम चैँ के गर्छौ नि नानी ?” राधिकाले सोधेकी थिई।

“यो सावित्री गाउँबाट आएकी ३ महिना भो। मलमा सेल्सको काम थालेकी छ। म चाहिँ बिहान कलेज जान्छु, बेलुकी रेस्टुराँमा काम गर्छु। तर काठमाडौँमा कामको के ठेगान र! प्राइभेट कामको टुङ्गो नै हुँदैन। कतिखेर निकाल्दिने हुन्, पत्तै हुन्न! मेरो यो पाचौँ जागिर हो यो! ढाँट्ने कुरै छैन।” मीनाले एकै सासमा भनेकी थिई।

“कालबेला यही हो नानी! हाम्रो लागि घरभाडा नै महिना चलाउने कमाइ हो। अलि महँगो छ। फेरि भाडा ढिलो यताउति गर्न पाइँदैन,” राधिकाले प्वाक्क भनेकी थिई।

‘‘कति होला ?” मीनाले नै सोधेकी थिई।

“सानो ठूलो गरी दुई कोठाको नौ हजार! तर हामी बिजुली पानीको अलग्ग लिन्नौँ। हिटर चाहिँ बाल्न पाइन्न,” राधिकाले नै भनेकी थिई।

सात हजारमा दिने गरेको दुई कोठा राधिकाले नौ हजार भनेकी थिई। कोठा दुईवटा भए पनि एउटा चाहिँ कोठा भन्न मिल्ने नै थिएन। साँघुरो, यसो सामान राख्न वा भान्सा बनाउनसम्म मिल्ने खालको थियो।

राधिकाको कुरा सुन्ने बित्तिकै मीनाले भनेकी थिई, “भैहाल्छ नि। भाडा छिट्टै त बढाउनु हुन्न नि! हामी आफ्नै घरजस्तो गरेर बस्ने हो। ..बरु मेरो कामबाट फर्कंदा कहिलेकाहीँ राति ढिलो पनि हुन्छ, डिस्टर्ब त हुँदैन नि! के गर्नु अहिले यस्तै काम पाइएको छ।”

“हल्लाखल्ला नगरी आफ्नो कोठामा आउँदा केको डिस्टर्ब हुनु नि!” राधेश्यामले भनेको थियो।

घनश्याम बीचमा बोलेको राधिकालाई मन नपरेको भावले ठाडो आँखाले हेरेकी थिई। त्यसपछि ऊ चूप लागेर कोठाभित्र गएको थियो। अनि

एकछिन्मा राधिका हजार हजारको नौवटा नोट हल्लाउँदै भित्र पसेकी थिई।

“लौ गएन त कोठा नौ हजारमा! यस्तो कोठा दस हजारमा पाइँदैन आजकाल। अझै यिनीहरूलाई एक हजार सस्तो भयो।” राधिका एक्लै फत्फताई। घनश्याम चाहिँ उसलाई हेरेर मुसुमुसु हाँसिरहेको थियो।

भाडामा बस्नेहरू कतिबेला उठ्छन्, कतिबेला बाहिर जान्छन्, कतिबेला आउँछन्, चासो नै भएन। घनश्याम आफ्नो जागिरमा नियमित रूपले जान्थ्यो। आउँथ्यो। ६ वर्षको छोरो थियो। बेलाबेलामा ऊ भने तिनीहरूको कोठामा जाने गथ्र्यो र कहिले चकलेट कहिले बिस्कुट हातमा लिएर रमाउँदै आउँथ्यो । उनीहरू त्यसलाई सामान्य रूपमै लिन्थे। प्रायः मीना नै महिनाको एकपल्ट ढोका ढकढक्याउन आइपुग्थी र राधिकाको हातमा नौ हजार बुझाएर जान्थी। राधिकाले चिया पिएर जाऊ न नानी भनेर हरेकपल्ट भन्थी तर कहिल्यै एक कप चिया पिइन।

एक दिन राति छोरो निदाइसकेपछि राधिकाले भनी,” यिनीहरू त बजारु केटी भनेर टोलमा कुरा काट्दा रहेछन् नि! हेर्दा त त्यस्तो केही देखिन्नन्। बोली व्यवहार पनि त्यस्तो देखिन्न।”

“खै, म के जानूँ। सबथोक व्यवहार तिम्रै जिम्मा हो क्यारे। भाडा पनि तिमीले नै तय गरेकी हौ। दुई हजार भाडा बढाएर तिमीले नै राखेकी हौ। अब अर्काको कुरा सुन्ने होइन, चुपचाप राम्ररी बसुन्जेल बस्न दिने!” घनश्यामले भन्यो।

“तर एउटा समस्या चाहिँ पर्ने भो नि!” राधिकाले भनी।

“के समस्या ?” घनश्यामले सोध्यो।

“अब रात बस्ने गरी माइत, आफन्त यताउती जान नपाउने भएँ!” राधिकाले भनी।

“किन र ? किन नहुने ?” उसले सोध्यो।

“म नभएको बेला ढोका ढकढक्याउन जानु होला भनेर नि!” राधिकाले कटाक्ष गर्दै भनी।

“धत् लाटी” भन्दै घनश्यामले राधिकाको गाला टोक्न थाल्यो।

पछि घनश्यामले पनि टोलेहरूबाट सुन्यो, आजकाल दुवैजनाले डान्स बारमा काम गर्न थालेका छन्। तर गर्छन भने गरून्। के गर्न सकिन्छ त्यसमा ? डान्सबारमा काम गर्ने भन्दैमा किन दुव्र्यवहार गर्न‘परेको छ र ! घरमा केही नराम्रो काम गरेका छैनन्। व्यवहार नराम्रो गरेका छैनन्। कोठामा धन्दा गरेका छैनन्। किन यी टोलेहरूको टाउको दुखाइ ? बरु डान्सबारमा काम गर्ने कुरा यिनीहरूले कहाँबाट थाहा पाए ? पक्कै गएका होलान् डान्स बारमा र पो देखे होलान्। भने, टोलेहरू चाहिँ ठीक, यी काम गरेर खानेहरू चाहिँ बेठीक! वाहियातहरू ! घनश्यामलाई झोँक चल्यो टोलेहरूसँग तर केही भनेन। उनीहरूको कुरा सुन्यो मात्र।

अचानक आएको यो कोरोनाको महामारीले साराका सारा अस्तव्यस्त पा-यो। समाचार हेर्न भनेको मृतकको सङ्ख्या थपिएको सुन्नु हुन्छ। सङ्क्रमितहरूको सङ्ख्या थपिएको सुन्नु हुन्छ । अस्पतालले बिरामी फर्काएर अर्को अस्पतालमा चहार्दा चहार्दै बिरामीको दर्दनाक मृत्यु भएको सुन्नु हुन्छ। बन्दाबन्दी पालना नगर्नेलाई दण्डित गरेको हेर्नु हुन्छ। पूर्व मेची पश्चिम काली लालाबाला लिएर पैदल जानेहरूको लर्को हेर्न‘ हुन्छ। हरे, के समय आयो ? यतिसारो दुःखका बीच, मानवीयताको दयनीय अवस्थाको बीच काठमाडौँको प्रदूषण घटेकोमा रमाउनुपर्ने ? घनश्याम आफैँसँग प्रश्न गर्न लाग्यो र घरको उत्तरतर्फको सेपमा भएको थोरै खाली जमिनमा लगाएको करेसाबारीतिर पुग्यो।

दुई तीन बोट सिमी थियो, लटरम्म फुलेछन्। पाँच सातवटा गोलभेँडा त पाकेर रहरलाग्दा रातै भएछन्। धनियाँ पनि हलक्कै बढेर चुँड्न मिल्ने भएछन्। लौ रामतोरिया त दुई बोटमा १२ वटा, आठवटा त टिप्न मिल्ने । साग पनि सप्रिएछ। घनश्यामले तरकारीका बोट छेउमा सप्रेका घाँस उखेल्यो। अनि नजिकै बनाएको सानो खाडलमा हाल्यो। कुहिएपछि मल बनाउन। त्यसपछि ऊ बरन्डामा गयो र एउटा प्लास्टिकको झोला टिपेर तरकारी लिन फेरि करेसाबारीतिर लाग्यो।

०००

घनश्यामले तरकारी टिप्दै प्लास्टिकको झोलामा राख्दै गर्दा नजिकैबाट सुँक्क सुँक्कको आवाज आयो। यो आवाजले घनश्यामका कान ठाडाठाडा भए। चनाखा भए। उसले सुस्तरी सुन्यो, रुवाइको आवाज त उसकै घरबाट आएको छ। ऊ झ्यालछेउ पुग्यो। झ्याल बन्द थिए तर भित्रबाट साँक्क सुँक्क र घाँक्क घुँक्क आवाज आइरहेको थियो। मीना र सावित्री रुँदै बात मार्दै थिए,” अब यस्तो तालले त भोकै मरिने भयो! आजदेखि त पकाउन पनि केही छैन!”

“पैसा पनि त छैन। घर भाडा दिन पनि सकिएको छैन। यतिन्जेल त केही भनेका छैनन्। घरभाडा दिन सकेन भनेर निकाल्दिने पो हुन् कि! कति ठाउँमा त साँझपख गलहत्याएर निकाल्देको रे भनेर फेसबुकमा लेख्या छ !”

“निकाल्दिए रुँदै रुँदै गाउँ जाउँला नि! हाम्रो कर्मै यस्तो रहेछ!”

“लास्ट दिनको मोरोले पाँच हजार उधारो गरेर पो। अरू पैसा गाउँ पठाइहालियो आमाको उपचारलाई भनेर।”

“मेरो त डान्स बारको मेनेजरले नै बेइमानी ग-यो। पछि त फोन उठाउनै छाड्यो।”

“मेरो त पिसाप पोल्ने भाको छ, खै के भाको हो कुन्नि। औषधि पसल पनि कसरी जानु। त्यसमाथि पैसा न सैसा कसरी जानु। मरिन्छ कि क्या हो नानी ?”

“के उपाय गर्ने होला त! घरभाडासम्म मुख बुजो हाल्दिन पाए पानी पिएर भए पनि अलि दिन बाँचिन्थ्यो होला।”

योभन्दा अरू घनश्यामले सुन्न सकेन। ऊ साग टिप्न थाल्यो। साग राम्रै सप्रिएको थियो। यसो अलिकति तरकारी र चामल दिन पाए हुने यिनीहरूलाई। तर राधिका आइमाईका पक्षमा कुरा गरेको सुन्नै चाहन्न। भरे सुत्न जाने प्लान ग¥यौ कि क्या हो बूढा भनी भने के

भन्नू ? घरभाडाको बारेमा पनि के भन्नू ? घरभाडा ढिलो गरे भनेर उसै त गनगन गर्दैछे। यस्तै अनेक सोच्दै, तर्कना गर्दै प्लास्टिकको झोलाभरि तरकारी टिपेर ऊ घरको मुलढोकातिर पुग्यो । घरको गेटबाहिर कल्याङ्मल्याङ आवाज सुन्यो। उसको आँखा त्यतै पुगे। पारिपट्टिका घरवाला दूध पनि पाइएन, तरकारी पनि पाइएन भन्दै गनगन गर्दै रहेछन् अर्का छिमेकीसँग। यसो फुर्सतमा आफ्नो सानातिना ठाउँको सदुपयोग गरे यसरी घरमै फलेको अर्गानिक खान पाइन्थ्यो नि । कति घर बहालमा बस्नेले गमलामा फलाएर त मजाले खाएका छन्! घनश्यामले मनमनै भन्यो र घरभित्र पस्यो। भान्सामा गएर तरकारीको झोला राख्यो अनि बाहिर निस्केर धारामा हातखुट्टा धुन थाल्यो।

राधिकाले ढोकामा आएर हेरी। घनश्याम हातखुट्टा धुन लागेको देखेरभित्र पसी।

घनश्याम हातखुट्टा धोइवरी बाहिरै तौलियाले पुछपाछ गरी यसो आङ मर्काउन थाल्यो। उसले फेरि सफा आकाशतिर हे-यो। आहा बन्दाबन्दीले प्रदूषण भने घटाएकै हो बा! बल्ल सास फेर्नलायकको भयो काठमाडौँ। फेरि पछि उस्तै त हुने होला नि! उसले फेरि सोच्यो र हातका औँला पड्काउँदै कोठातिर लाग्यो।

छोरो उठेर खाटमै धुमधुमती बसेको रहेछ। राधिकाले चार कप चिया बनाएकी रहिछ। उसले भनी,” ती नानीहरूलाई बोलाएकी छु,” उसले भनी।

“लौ अब राधिकाले के बित्यास पार्ने भई। घरभाडा माग्न बोलाएकी होली। मसँग एक वचन सोधेको भए पनि त हुन्थ्यो। अलि दिन चुप लागौँ भन्ने थिएँ। विचरा तिनीहरूको हालत भर्खरै आफ्नै कानले सुनेको छु। मैले के भन्नु अब ? अघि झ्यालबाहिर सुनेको कुरा पनि कसरी भन्नू ?” घनश्यामलाई भित्रभित्रै उकुसमुकुस भयो, ऊ भित्रभित्रै पाक्न थाल्यो।

सानो टी टेबलमा उसले चिया राखेकी थिई थालमा। एक पुरिया बिस्कुट पनि खोलेर प्लेटमा राखेकी थिई। मीना र सावित्री आए र नमस्कार गरे। छोरो झ्याम्मिदै मीनासँग टाँस्सिन पुग्यो । “हैन दिदीलाई दुःख नदेऊ,” भन्यो घनश्यामले। मीनाको हातबाट एउटा चकलेट पाउनेबित्तिकै ऊ दगुर्दै कोठा बाहिर गयो।

राधिकाले चिया र बिस्कुट दिँदै भनी “खाऊ न नानीहरू।”

उनीहरूले चिया लिए। बिस्कुट पनि टिपे। घनश्यामले पनि लियो। ऊ त्यसै त्यसै उकुसमुकुस भइरहेको थियो। राधिकाले पनि चियाको कप समाती।

मीनाले मलिनो स्वरमा भनी, “हामीले यसपालि घर भाडा दिन ढिला गरेर यहाँहरूलाई दुःख भो हगि। तर हामीसँग नभएरै हो। बन्दाबन्दीले आपतै पा-यो नि। काम पनि बन्द भो। हामीसँग यही छ,” भनेर एउटा आधा तोला जतिको सुनको औँठी दिँदै भनी, यो राख्नुस् न है।

राधिका एक्कासि च्याँठई “लौ के भनेको ? यस्तो दुःख परेको पनि नबुझ्ने हौँ र हामी। मैले अघि तिमीहरूले कोठामा गरेको सप्पै कुरा सुनिसकेकी छु। हामी पनि मान्छे हौँ नानी। हामीभित्र पनि हरि छ । हाम्रो त रिन गरेर बनाएको भने पनि घर त छ टाउको लुकाउन। तातो पानी तताएर खान। यो बन्दाबन्दीभरिको डेरा भाडा दिन पर्दैन। पछिको चाहिँ काम सुरु भए दिँदै जानू। ल यो तरकारी, दाल चामल छ, लैजाऊ, बाँडीचुँडी खाने हो। आफ्नै घर सम्झिनू।”

राधिकाले त घनश्यामले अघि टिपेको तरकारी आधा जति, एउटा थैलोमा दाल र पाँच किलोको चामलको प्याकेट पनि तयार पारिसकेकी रहिछ। घनश्याम हुनसम्म छक्क प-यो। मीना र सावित्रीले खुसीले आँसु खसाले । राधिकाले चियाका रित्ता कपहरू भाँडा माझ्ने ठाउँमा लगेर राखी। दाल, चामल र तरकारी लिएर मीना र सावित्री आफ्नो कोठातिर लागे। राधिका पनि उनीहरूसँगै पछि लागेर गई।

लौ, मैले राधिकाको भित्री मन आजसम्म बुझ्न नसकेको रहेछु, घनश्यामले भन्यो आफैँलाई। थाहै नपाई उसका आँखा पो रसाएछन्। उसले हत्त न पत्त आँसु

पुछ्यो राधिका आइहाल्ली र देख्ली भनेर।