• १२ वैशाख २०८१, बुधबार

पाँच वर्षमा त्रिचालीस पक्की पुल

blog

फाइल तस्बिर

बुटवल समाचारदाता

बुटवल, साउन २० गते । लुम्बिनी प्रदेश सरकारले पाँच वर्षको बीचमा ४३ वटा पुल निर्माण गरेको छ। १३० वटा पुल निर्माणाधीन अवस्थामा रहेका छन् भने ८० वटा सडक पुल यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ। 

त्यसैगरी प्रदेश सरकारले पाँच वर्षको बीचमा लुम्बिनी प्रदेशमा १३ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ।  लुम्बिनी प्रदेशमा कुल एक हजार १४८ सडक छन् जसको कुल लम्बाइ ११ हजार ५६६ किलोमिटर रहेको छ। उक्त सडकमध्ये दुई हजार २९१ किलोमिटर सडक कालोपत्रे भएको छ भने तीन हजार ४६८ किलोमिटर सडक खण्डास्मिथ र पाँच हजार ८०७ किलोमिटर सडक कच्ची रहेको छ। 

लुम्बिनी प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक भीमार्जुन पाण्डेले प्रदेशकै गौरवको आयोजनाका रूपमा रहेको पाल्पाको रामपुरदेखि रोल्पाको कपुरकोटसम्मको करिब ३०० किलोमिटर लामो सडकको १८ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको बताउनुभयो। 

उहाँले बहुवर्षीय आयोजनाअन्तर्गत निर्माणाधीन सडकको विभिन्न खण्डमा निर्माण कार्य भइरहेको जानकारी दिनुभयो। प्युठानमा पाँच किलोमिटर सडक खण्डमा कालोपत्रे गर्ने गरी ठेक्का लागेको छ भने अर्घाखाँचीमा करिब १० किलोमिटर सडक ठेक्का लागेर निर्माणको काम भइरहेको छ। 

त्यसैगरी रोल्पा खण्डमा ११ किलोमिटर सडकको निर्माणको काम बहुवर्षीय योजनाअन्तर्गत अघि बढ्ने चरणमा रहेको छ। निमित्त निर्देशक पाण्डेका अनुसार हालसम्म प्रदेशबाट कुल ३३१ किलोमिटर सडकको नयाँ ट्रयाक निर्माण भएको छ भने दुई हजार ५९६ वटा कल्भर्ट कजवे निर्माण गरी ३४५ किलोमिटर पक्की नाली निर्माण भएको छ। 

प्रदेश सरकारले प्रदेश गौरवका आयोजनासहित विभिन्न सडक, पहुँच मार्ग, सीमा सडक समानीकरणतर्फका सडक निर्माण, मर्मत एवं ससर्त समानीकरण र विशेष अनुदानतर्फका ठूला–साना आयोजनाहरूको काम गरिरहेको छ। 

जसअन्तर्गत प्रदेश स्तरका २३ वटा प्रमुख राजमार्ग, ४२१ प्रदेश क्षेत्र स्तरीय सडक र २१ स्थानीय तह पहुँच मार्गको काम भइरहेको यातायात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक पाण्डेले जानकारी दिनुभयो। 

प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी जोड्ने गच्छे–भालुवाङ सडकलाई अर्को गौरवको आयोजनाका रूपमा छनोट गरेको छ। जसमा १८ किमी खण्ड स्तरोन्नति गरी ग्राभेल गर्नका लागि बहुवर्षीय ठेक्का कार्यान्वयन भइसकेको पाण्डेले बताउनुभयो। 

यस्तै बुटवल धागो कारखानादेखि चरङ्गे–झुम्सा सडक, बथेरी–गुरबनिया, तुनिहवा, मजागावा, सेमरा मर्चवार जोड्ने सडकको निर्माणको काम भइरहेको छ।