• १ चैत २०८२, आइतबार

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

blog

भक्तिविलास पोखरेल

गाईघाट, चैत १ गते । उदयपुरको बेलका नगरपालिका–२ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । खेत जोत्न जाँदै गरेको ट्याक्टर उकालो चढ्ने क्रममा अनियन्त्रित भई पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीय बानडाँडाबाट गिदेरीतर्फ खेत जोत्न जाँदै गरेको प्रदेश १–०४–००१ त १३३२ नम्बरको रोटाभेटर जडान गरिएको ट्याक्टर गिदेरी खोला नजिकको उकालोमा पल्टिएको थियो । दुर्घटनामा बेलका नगरपालिका–२ का चालक सोकिन्दर चन्द्रवंशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिनुभयो ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।