रमेश विश्वकर्मा
गुल्मी, चैत १ गते। गुल्मीको रुद्रवेणी-वामीटक्सार सडक आजदेखि एक महिनाका लागि बन्द हुने भएको छ। राष्ट्रिय राजमार्ग अन्तर्गत उक्त सडकखण्डको सत्यवती गाउँपालिकास्थित सिस्ने भिरमा सडक स्तरोन्नति गर्ने कार्य सुरु भएसँगै चैत १ देखि ३० गतेसम्म सडक पूर्णरुपमा बन्द हुने भएको हो।
सडक डिभिजन कार्यालय पाल्पाको पत्र अनुसार उक्त राजमार्गको अति संवेदनशील र साँघुरो स्थान सिस्ने भीरमा सडक कटिङ्ग गर्ने क्रममा ढुङ्गा खस्ने जोखिम बढ्न सक्ने र दुर्घटना हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सडक बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। प्रशासनले उक्त सडक स्तरोन्नतिको काम गर्दा सवारी साधनहरुलाई वैकल्पिक मार्ग प्रयोग गरी यातायात सञ्चालन र अवागमन गर्न आग्रह गरेको हो।
जिल्ला प्रशासन कार्यालयले वैकल्पिक सडकका रूपमा सोता–तल्लोरोड–रुपाकोट–दोकुवा–सालघारी–चोरकाटे तथा मजुवा–दम्का–रुपाकोट–म्यालपोखरी–चोरकाटे सडक प्रयोग गर्न अनुरोध गरेको छ। उक्त कार्यमा आवश्यक सहयोग एवम् सहजीकरणका लागि मुसिकोट नगरपालिका र चन्द्रकोट गाउँपालिकालाई समेत पत्राचार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो। प्रशासनले सार्वजनिक रुपमा सूचना जारी गरी उक्त सडक एक महिनाका लागि २४ सै घण्टा बन्द रहने जनाएको हो।
सडक डिभिजन कार्यालय पाल्पाले गत माघ २६ देखि फागुन १५ गतेसम्म २० दिन आँसिक रुपमा बन्द गरी सडक स्तरोन्नतिको काम गरेको थियो। जिल्लामा सबै भन्दा धेरै सवारी साधनहरु सञ्चालन हुने उक्त सडक गुल्मीको वामीटक्सारबाट मध्य पहाडी लोकमार्गहुँदै वाग्लुङको बुर्तिबाङ्सम्म सवारी साधनहरु ओहोरदोहोर गर्ने मुख्य सडक अन्तर्गत पर्दछ।