• ७ वैशाख २०८१, शुक्रबार

पीडितद्वारा नगद बाँड्न आग्रह

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, साउन २० गते ।  २०७१ साल साउन १७ गते जुरे पहिरोबाट जनधन गुमाएका पीडितहरूले जनस्तरबाट आफ्नो नाममा जुटेको दुई करोड २४ लाख रुपियाँ बाँड्न सरकारसँग आग्रह गरेका छन्। 

१४५ जनाको ज्यान गएको उक्त पहिरोमा दुई सयभन्दा बढी घर र हजारौँ रोपनी जग्गा पहिरोले बगाएको थियो। पीडितका नाममा जनस्तरबाट सहयोग रकम जम्मा भएको थियो। तत्कालीन जिल्ला दैवी प्रकोप उद्धार समितिले जुरे पहिरो पीडितको नाममा जुटेको नगद सहयोग एकद्वार प्रणालीमार्फत वितरण गर्ने भन्दै समितिको खातामा सहयोग रकम राखिएको थियो। तर उक्त रकम आठ वर्ष बित्दासमेत जुरे पहिरो पीडितले पाउन सकेका छैनन्। 

सरकारले उक्त रकम आठ वर्षसम्म रोक्का गरेर राखेको थियो। करिब एक साताअघि उक्त रकम पीडित परिवारलाई वितरणका लागि नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले फुकुवा गरेको थियो। अहिले सरकारले उक्त रकम नगदै वितरण गर्ने नभएर पीडितकै चाहनामा कुनै योजना बनाउनु पर्ने भन्दै पत्र आएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो। ‘सरकारबाट पीडितहरूको चाहना अनुरूप प्रोजेक्टको काम गर्न निर्देशन आएको छ’, प्रजिअ खनालले गोरखापत्रलाई भन्नुभयो। 

उक्त पहिरोमा परी परिवारका छ सदस्य र घरजग्गा गुमाएका पीडित एवं बलेफी गाउँपालिका–८ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले पहिरोपीडित सबैबाट नगदै बाँड्नुपर्ने दबाब आइरहेको बताउनुभयो। ‘पहिरोबाट अलग अलग स्थानीय तहका वडाहरूका जनता पीडित छन्, प्रोजेक्टका काम गर्दा सबै वडाका पीडितहरूलाई सहज र मान्य नहुने दबाब आइरहेको वडाध्यक्ष श्रेष्ठले थप्नुभयो। पहिरोपीडित चन्द्रमान तामाङले जुरे पहिरोबाट जनधन गुमाएका पीडितको राहतका लागि सहयोग तत्काल उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो।