• १५ वैशाख २०८१, शनिबार

अदालतबाट रोकियो ठेक्का तोड्ने निर्णय

blog

काठमाडौँ, साउन १९ गते । आठ वर्षमा पनि सडक बन्न नसकेपछि अन्ततः सडक विभागले बालाजु–त्रिशूली सडक निर्माणको ठेक्का सम्झौता तोडेको छ। उक्त ठेक्का शारदाप्रसाद अधिकारी अध्यक्ष रहेको सैलुङ निर्माण कम्पनी तथा भारतको अरावली इन्फा पावर प्रालि (जेभी)ले पाएको थियो।

सडक विभाग नयाँ ठेक्का प्रक्रियामा जान लाग्दा पाटन उच्च अदालतबाट उक्त निर्णय कार्यान्वयन नगर्नू नगराउनू भनी अन्तरिम आदेश जारी भएको छ तर सडक विभाग अन्तरिम आदेशविरुद्ध कानुनी उपचारमा जाने विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताउनुभयो। 

अहिलेको ठेक्का तोडेर नयाँ बोलपत्र आह्वान गर्ने तयारीमा सडक विभाग रहेको बेलामा आएको अदालतको अन्तरिम आदेश सो सडक निर्माणको काम झन् अलपत्र हुने देखिएको महानिर्देशक थापाले बताउनुभयो। न त अहिलेको ठेकेदारले काम गर्छ न त नयाँ निर्माण कम्पनी छनोटका लागि बोलपत्र नै आह्वान गर्न नपाउँदा सो सडक अझ केही समय थप अलपत्र पर्ने उहाँको भनाइ छ।

काठमाडौँ उपत्यकाको फोहोर ढुवानी गर्ने मुख्य मार्ग रहेको सो सडकखण्ड निर्माण हुन नसक्दा पटक पटक यहाँको फोहोर व्यवस्थापनमा समेत अवरोध हुँदै आएको छ।

कुल १७.०१ किलोमिटर लम्बाइ रहेको सडकको विस्तार तथा स्तरोन्नतिका लागि आठ वर्षमा सात पटक म्याद थपिए पनि अहिलेसम्म आधा पनि काम पूरा भएको छैन। पछिल्लो पटक चैतमा अवधि सकिएको हो। आहिलेसम्म सो सडकको भौतिक प्रगति ४० प्रतिशत मात्रै भएको छ।

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले भएको सडकलाई समेत बिगारेर वर्षामा हिलो र हिउँदमा धुलो खेप्दै आएका स्थानीयवासीको कष्ट तथा पटक पटक म्याद थप गरिए पनि निर्माण कम्पनीले काम गर्न नसकेपछि बाध्य भएर निर्माण कम्पनीसँग ठेक्का तोडिएको जानकारी दिनुभयो।

सडक विभागअन्तर्गतको सडक सुधार तथा विकास आयोजनासँग नेपालको सैलुङ निर्माण कम्पनी तथा भारतको अरावली इन्फा पावर प्रालि (जेभी)सँग २०७१ जेठ ५ गते नै ठेक्का सम्झौता भएको थियो।